नेपालमा क्रान्ति भएन
निहित प्रयोजनका जनयुद्ध भए
भित्रको असन्तोष, बाहिरको आगो
नेपाली मरे,
नेपालीले नेपाली मारे
हो, म भन्छु, क्रान्ति कहिले भएन
जे भए ती गम्भीर भएनन्
त्यसैले ती क्रान्ति होइनन्
पटाका पड्काए पनि
बन्दुक पड्काए पनि
मान्छे मरे पनि, मान्छे मारे पनि
अन्तको योग र प्रयोगको खेलको परिणति
क्रान्ति भनिए पनि, मुक्ति भनिए पनि
ती क्रान्ति हुन सक्तैनन्
केवल ‘सप्रयोजन क्रान्ति’ हुन्
भयानक क्रान्तिको आवरणका डरलाग्दो भ्रान्ति हुन्
क्रान्तिमा आत्मा हुनको लागि त्यसमा गम्भीरता चाहिन्छ
गम्भीरतापूर्वक हेर्ने हो भने अहिलेको नाटक
न गम्भीर ट्राजेडी बन्न सक्यो
न गम्भीर कमेडी
यो त ठाडै हास्यास्पद नाटक भयो
एउटा लुटको नटुंगिने कथा भयो
यसको प्रमाण प्रत्यक्ष छ
जगजाहेर छ, घाम सरह छ
क्रान्तिको लुट
आवरणको वैधानिकता
अनि सत्तासीन लुटको
तीन चरणको युद्धजस्तै
यी तीन चरणको लुटबाट
आक्रान्त र शिथिल भएको मुलुक
हट्टाकट्टा भएका शासकहरू
भ्रान्तिकारी पिछलग्गु र मतियार
सम्भ्रान्त बनेका पुनहरू, अर्थात् गणतन्त्रको सास
सुन तस्करी महराहरू, अर्थात् सरकारको उच्च अधिकारी
मुलुकलाई अन्तको मन्डी बनाएर
त्यो आर्जनबाट चलेको सरकार
उपनिवेशवादको परिष्कृत स्वरूप
गैरसरकारी अर्थतन्त्रले निल्नै गएको
धर्म, अर्थ, सूचनाको लेनदेनमा आश्रित बुद्धिजीवी
तिनीहरूको अपार खेती विखण्डनकारी अभिमत तलसम्म पु¥याउने
यस्तो आर्जन आयका उपभोक्ता वर्ग
यी सबै धमिराहरूलाई फाल्न
एउटा निर्णायक क्रान्ति
अझ भनौं सिरियस क्रान्ति
आवश्यक होइन,
अपरिहार्य भएको छ ।
मुलुक यदि बाँच्ने हो भने
यो खतरनाक गमन रोक्नुपर्छ
आपराधिक चेहराको हरेक दिनको अग्रगमनको बमन
अति नै भइसक्यो
त्यसैले निर्णायक क्रान्ति चाहियो
म त्यस्तो क्रान्तिको प्रतीक्षामा छु
होइन, खोजिरहेको छौ त्यो क्रान्ति हामी
ता कि –
मुलुक बचोस्, भोलिको पुस्ता बाचोस् ।
प्रतिक्रिया