मुलुकमा कानुनको कुरा चलेको छ
संविधानमा लेखिएको पनि छ
कानुनी राज्य, समतामूलक समाज
साउने खोलामा बाढीले मुलुक जलमय भएसरह
अहिले कानुनमय भएको छ
यता फर्क्यो कानुन, उता फर्क्यो कानुन
कानुन शासकले तुना बाधेजस्तो
सजिएर बस्नको लागि
पुलिसको ब्यान्डको धुन
खुब बजिरहेको छ
कहिले लोक धुन बज्छ, कहिले शोक धुन
कहिले पुनको, कहिले सुनको
मेघ गर्जिएको पहरा, कालो निलो महरा
कोही कान फुकिरहेका छन्,
कोही कान टोकिरहेका
कान खाइसक्यो छ यो धुनले
कानुनको कानाकाना पिच्चा खेल्ने
तीन मूर्ति मध्ये
प्रत्येक मूर्तिले अर्कोलाई समात्ने सत्ताको फेरो बनेको कानुन
आँखा छोपेको इसारामा
रमिता देखाइरहेका छन्
सुसेली, साउती, ङिचिक्क हाँसो
लगन गाँठो
फेरि मारामार, अनि पानी बाराबार
त्यसपछिको हलाहल विष वमन एक अर्कोप्रति
फेरि अङ्कमाल, अनि मालामाल
शक्तिको स्रोत बनाइएको जनता
रङ्गमञ्चको यो प्रदर्शन हेर्दा
सधैँ बिलखबन्दमा, सधैँ आक्रोशित
तर सधैँ भेडाबाख्रासरह शासित
शासकले सुन खाइरहेकै छन्
कहिले एयरपोर्ट बढाबढ गरेर
कहिले आँखा चिम्लिदिएर
सुन खाने शासक, नुन खाने कानुन
अनि अझै कानुन कति कुरा गरेको?
कानुन, के कानुन?
बुद्धि विलास मात्र कति गरेको?
कानुन छ र यो मुलुकमा?
ए! छ, म जस्तो निरीहको लागि
मलाई तर्साउन, धम्क्याउन
मेरो सम्पत्ति खोस्न परेको वेला
राज्यलाई आतङ्ककारी बनाउन
शासकहरूको उपयोगको लागि
धेरै तिनीहरू नै कानुनको कुरा गरिरहेका छन्
जो दुई टुक्रा रोटीको लागि
शासकका दास बनेका छन्
ती कानुनको हिफाजादगर्ने राष्ट्रसेवकहरू
त्यहाँ फगत कुरा बाहेक कहाँ कानुन हुन्छ?
त्यो त न हिजो थियो
न आज कतै छ मुलुकभर
बाँधिएको टट्टुसरह,
हल्लनटाट बनाइएको छ।
तर म जस्तो निरीहको लागि
मान्छे खाने बाघसरह नै छ
प्रतिक्रिया