काठमाडौं – दीप सञ्चार मिडियाका प्रधान सम्पादक तथा कतारका युवा व्यवसायी दिपजंग शाह ठकुरी एनआरएनए आइसिसी सदस्यमा निर्वाचित भएका छन्।
ठकुरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३-२०२५ कार्यकालको लागि आइसिसी सदस्यमा फराकिलो मतले निर्वाचित भएका हुन्।
आइसीसीका ६ सदस्यका लागि कतारमा ९ जनाबीच चुनावी प्रतिस्पर्धा भएको थियो।
बिहीबारदेखि सुरु भएको अनलाइन निर्वाचनमार्फत एनआरएनए आइसिसीमा निर्वाचित भएका ठकुरी एनसिसी कतारको २०२१-२०२३ कार्यकालका सचिव समेत हुन ।
उनीसँगै श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दुर्गा प्याकुरेल, प्रेमबहादुर चलाउने, बिक्रम कार्की पनि आईसीसी सदस्यमा निर्वाचित भएका छन्।
आइसिसी सदस्यमा निर्वाचित भएपछि ठकुरीले सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै धन्यवाद पनि दिएका छन्।
दाङमा जन्मिएर काठमाडौं र कतारलाई कर्मथलो बनाएका ठकुरीले झन्डै दशक भन्दा लामो समयदेखि गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन्। हाल एनसीसी कतारको सचिव समेत रहेका ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई पारदर्शी, समावेशी एवं विश्वसनीय बनाउँदै राष्ट्रिय समन्वय परिषदका सम्भावित समस्या, अवसर र गतिविधिलाई अन्तर्राष्ट्रिय समन्वय परिषदसँग जोड्नुपर्नेमा पैरवी गर्दै आएका छन्।
इतिहासकै संगीन मोडमा उभिएको एनआरएनएलाई ‘सहमति, सहकार्य, एकता, आजको आवश्यकता’ भन्ने मुख्य नाराका साथ सहज अवतरण गराउनको लागि एक कर्मठ सिपाहीको रुपमा अहोरात्र खटिएर आफ्नो भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि त्यही भूमिकामा रहने वाचा पनि ठकुरीले गरेका छन्।
‘एनआरएनएको मूल मन्त्रअनुसार प्रवासमा रहनुभएका सम्पूर्ण नेपालीको सेवा गर्न र नेपालीका हितका लागि नीति निर्माण तहमै काम गर्ने उद्देश्यले म यहाँ पुगेको हुँ’ उनले भनेका छन् ‘प्रवासमा रहने हरेक नेपालीको दु:ख, सुखमा सँग रहेर उहाँहरूका लागि काम गर्दै आएको छु र आगामी दिनमा पनि अझ सहकार्य र सहमतिसँगै अघि बढ्नेछु। मलाई यहाँसम्म पुर्याउन योगदान गर्नुहुने सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु।’
डिजिटल प्रविधिबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एपबाट मतदान गराइएको थियो । दुई प्यानलका बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंहले जानकारी दिए ।
प्रतिक्रिया