देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफैंलाई सुमसुम्याउने बचत


बचत गर्नुपर्छ गृहस्थीमा
भोलिको लागिको जोहो
जे छ सबै सक्नु त भएन
अनि के सुकुलगुन्डा बन्ने ?
यस्तै बचत, मुलुकको उन्नति
नत्र –
कम बचत, कम लगानी, कम रोजगारी, कम आम्दानी
गरिबीको चक्र घुमिरहने यसरी
आजकल गरिबीको चक्रभन्दा डरलाग्दो
विदेशी सहायताको बक्र
सहायताको अपचलन लिने–दिने दुवैतिर
परिणति –
ठालुहरूको लुटपाटको रजाइँ
स्वाधीनताको खरिद–बिक्री
मुलुकको तागतको स्वाहा

सायद यस्तो लुटपाटको विषमताबाट अत्तालिएर होला
झन् बढी बचत गर्न थाले उनी
नगद नारायणको भन्दा बढी
बोली वचनको बचत हुन थाल्यो
पुसको जाडोमा घाममा पल्टिँदा
नोट सुकाएर घाम तापेको आनन्द
त्योभन्दा बढी – कति बढी, कति बढी ?
आफैंलाई सुमसुम्याउँदाको बचत

अहम्लाई सुमसुम्याउन गरिने बचत
जति बढ्दै गयो, त्यति समस्या हुने
चिलाउँदा कन्याएको आनन्दजस्तो
जति कन्याउँदै गयो, त्यति घाउ हुँदै जाने
आनन्द लिँदा रगत नै आइसक्यो
तर उनले कन्याउन छोडेनन्
आफू लहुलुहान्त भइसके
तर कन्याउँदाको आनन्दको लागि
अहम्लाई सुमसुम्याउने बचत
झन् बढाउँदै पो लगे उनले

अहम्लाई मुसदण्ड पार्ने बचत
कति गर्दै जान्छौं परसम्म ?
मिठो बोलीमा पिठो सकिँदैन
बोलीमा किन दरिद्रता ?
कति कञ्जुस बन्छौ बोलीचालीमा
यसमा कुनै खर्च लाग्दैन
नगरौं बचत यस्तो कञ्जुस्याइँ गरेर
फजुलमा आफैंलाई कष्ट दिई
मनन् गरौँ संस्कृतको यो कहावत
‘वचने किं दरिद्रता’