देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुजुल्टिएको लट्टाइको धागो


तीन खोटो सिक्काले
लाखौँ सुनको सिक्का विस्थापन गरे
छोटो चित्त, छोटो कर्म
खोटो मनबाट
तप तप चुहिएको लोभको खोटो
जहाँ प¥यो त्यो चट
यी तीन चटकीको चटपट, चटाचटी
खटपट, पटपट, पिटपिटाइ
ब्लटिन पेपरले चुसेजस्तो
गरिबको छिटोथोपो चुसेर
आल्हादित रजगज चञ्चलाश्री
नयाँ टकमरी पनि खोटो निस्क्यो
चारको वारपार, धर्मराउँदो नाउ
इन्द्रप्रस्त र क्याथेको दाउमा
साहुले तय गरेको भाउमा

गुलियोमा माखासरह भुनभुन
पहेँलो धातुमा बगालका बगाल पुन
सलहले जस्तो टम्मै छोपिएको
क्रान्तिको भ्रान्ति, मिसन दूर परदेशको
त्यसको कान्ति छरेर अवतरित
भ्रान्तिका मरुतुल्य अन्त्यहीन पिपासा
यस्ताले पहरा दिएको जनजीविकामा
महराहरूको एकोहोरो झ्याउँकिरी गीत
सुनिरहनुपर्ने यो दुर्दान्त कालखण्डको नियति
कति पीडादायी छ ?

दुई महिनाअगाडि
अर्बौंको दारुण राष्ट्र लुटको टेरामक्स
पचाउने दुईजनाको लागि
अक्तियारलाई ब्ल्याकमेल गर्नेले
अहिले एक्काइसमा अड्दा
सुशासनको डङ्का पिटिरहेको
कैफियतमा आल्हादित भएर पौडिरहेकोले
कैफियत देख्नै नसक्ने भनेको सुन्दा
सर्वत्र डुङ्ग गन्हाएकोले
भ्रष्टाचारको गन्धै सहन नसकेको जस्तो भएको छ

अभियुक्तले युक्त बनेर
अपराधीले नै तहकिकात गरेर
गुजुल्टिएको लट्टाइको धागो
झन गाँठो पर्दै गइरहेको
गाँठो खोल्ने भनेर झन गाँठो पार्दै गइरहेका
यो गजबको चण्डाल चौकडी खेल
ग्रन्थी बनेर फैलिरहेको

बाठी भाउजूले पिठो साटिन्
बीपीको पार्टीलाई पिपीँ चुस्ने तुल्याएर
‘नुरजहाँ की सलतनत’ वालाले वाङ खाए
भाउजूको तनाव, इन्द्रप्रस्थको यात्रा
यात्रै यात्रा छ दसै दिशामा
हाँक्ने हँकाउनेहरूको
जात्रै जात्राको दशा बनेको खेल
फगत ! माछा माछा भ्यागुतो ।