देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा , जनमत,लोसपा ,नाउपाले सरकारलाई समर्थन नदिने

देशान्तर

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन नदिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालय मध्य बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको जनमतका प्रवक्ता डा. शरद सिंहले जानकारी दिएका छन् । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा उम्मेदवार उठाउने पनि जनमतले निर्णय गरेको छ । यस्तै सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सत्ता गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । यस्तै राप्रपाले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय गर्ने समझदारी पनि गरेको छ । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । लोसपाले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गरेको छ ।
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।