देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तराज आचार्यको सम्झना -श्रद्धाञ्जलि

देशान्तर


भक्तराज आचार्यको निधनको खबरले नेपाली गायन–संगीतमा एक रिक्तता आएको अनुभव भयो । यद्यपि उनले केही समयदेखि नयाँ गाएका थिएनन्, तर ४५० गीतहरूले उनीलाई सधैं संगीतप्रेमीले सम्झिने बनाइदिएका छन् । एक टीभी कार्यक्रममा उनलाई सम्झँदा, कुराले होइन, उनले गाएका गीतका पंक्तिहरू सस्वर गएर उनीलाई स्मरण गरेका थिए । यो उनको र उनको गीतको लोप्रियताको ज्वलन्त नमुना हो । भक्तराज आचार्यको स्वर अन्यभन्दा अलग्ग थियो । हुन त हरगायकको स्वर फरक हुन्छ । तर मलाई भक्तराजको स्वर फरकमा पनि फरक लाग्छ । उनका दुई पुत्र, संगीतमा निष्णात छन् । भक्तराज मलाई चिन्दैनथिए ।

म त गीतसंगीतको प्रेमी हुनाले नचिन्ने त कुरै भएन । उनका गीतका लाइनहरू गुनगुनाउन पनि मन पराउँथे । एकताका म पनि गीतका लागि रेडियो नेपाल जान्थेँ । त्यहाँ कहिलेकाहीँ भक्तराज पनि भेटिन्थे । एकदिन म कुनै गीतको रिहर्सल गर्दा कुनै लयमा म अड्किरहेको थिएँ । बारम्बार त्यत्तिकैमा भक्तराजले सुझाव दिए, यसो ग¥यो भने ठीक होला । त्यसपछि साँच्चिकै ठीक भयो मेरो गीत । यो घटना भक्तराजले पछि सम्झेनन् होला, मलाई भने सर्दव याद रहने नै भयो । उनलाई म आधुनिक नेपाल गायन संगीतका निर्मातामध्ये एक मान्दछु । आधुनिक संगीतमा भक्तराजलाई हटाएर हेर्नै सकिन्न, त्यही हो, उनीबिनाको रिक्तता । सम्मान त उनले आफ्नो प्रतिभाका बलमा धेरै पाए । तर संगीत नाट्य एकेडेमी केही सोच्छ यस्ता महत्वपूर्ण र समाजलाई देन दिने व्यक्तित्वको सम्मानलाई सम्मान गर्न ? व्यक्तिगत रूपमा म उनलाई श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु र परिवारलाई संवेदना । एक बहुमुखी प्रतिभालाई जनताले सधैं सम्झिरहनेछ । मेरा एक मित्र सुपेन्द्रबहादुर श्रेष्ठले एकदिन फोनमा भने– ‘तुलेन्द्र अब छैनन् ।’ निकै आघात लाग्यो ।


तुलेन्द्र मेरा स्कुलका सहपाठी हुन् । पढ्नमा राम्रो थिए । नजिकका साथी थिए । पछि नोकरी खाए । उनको एउटा विशेषता अहिले सम्झन्छु । उनी सधैं साइकल चढेर हिँड्थे । अन्य साधन प्रयोग गरेको मैले देखिनँ । केही वर्षअघि वीरगन्ज गएको बेला उनकै घरमा भेट भएको थियो । रमाइलो भयो । पुराना साथी, पुराना कुरा, एउता नोस्टालिक भाव हुन्छ, जसमा भावुकता, आत्मीयता, अतीत बोध सबथोक हुन्छ ।
नजिकका साथी । तर परिस्थितिवश यता धेरै भेट हुन पाएको थिएन । त्यसदिन भेट हुँदा मनका सारा गुब्बार निक्लियो । त्यसै बखत उनले भनेका थिए– ‘यो साला वडा बेइमान छ, यत्रो लेखक छ, यति लेख्छ, तर हाम्रो बारेमा कहिल्यै लेख्दैन ।’
पछि मैले एउटा किताबमा यो घटना लेखेँ र तुलेन्द्रबारे पनि लेखेँ । उनले त्यो पुस्तक पढ्न पाए कि पाएनन् तर मैले त्यसमा उनीसँगका पुराना घटनाहरू पनि लेखेको छु ।


त्यस बखतका कति साथी सहपाठीहरूलाई आज सम्झिइरहेको छु, किन हो ? कति छन्, कति छैनन् । तुलेन्द्रसँगका साथी पनि कति थिए, तिनकाबारे त झन् केही पनि थाहा छैन, किनभने न भेटघाट छ न केही खबर पाइन्छ ।
तुलेन्द्रजस्तै एक अत्यन्त नजिकका साथी थिए, परशुराम सरावत्री । उनसँग भेटुँला भन्दाभन्दै, उनी बितेको खबर आयो । जसरी तुलेन्द्रसँग अन्तिम भेट वीरगन्जमै भएको थियो । त्यसैगरी परशुरामसँग अन्तिम भेट वीरगन्जमै भएको थियो । उनी यति मिलनसार थिए कि मैले कमै साथी त्यति मिलसार भेटेको छु । वीरगन्जमा भेट्दा उनका छोरा नातिहरू काम गर्ने भइसकेका थिए । आफ्ना गाडीमा उनले कुमालटोलसम्म पु¥याइदिएका थिए ।


उनको संवेदनामा मैले एउटा सिंगो लेख लेखेको थिएँ । त्यसै बखत परशुरामका नातिले पोहोर वीरगन्ज उद्योग वाणिज्य संघले गरेको सम्मान समारोहमा जाँदा परशुका नातिले भेटेर एउटा स्मृति ग्रन्थ परशुको श्रद्धाञ्जलिस्वरूप निकाल्ने कुरो गरेका थिए । मैले भनेँ बाबु मैले भर्खरै देशान्तर साप्ताहिकमा लेखेको छु, त्यही त्यसमा समावेश गर न ।’
त्यसपछि परशुराम सरावत्रीको नाउँको त्यो ग्रन्थ निक्लेको पनि थाहा भएन । निक्ल्यो होला । त्यसमा मेरो लेख समेट्न भ्याए भ्याएनन् । साथीहरूसँग भेट नहुने स्थिति धेरै छ, त्यसैले तीनबारे केही लेख्न पनि कठिन छ ।


तिनताका कैयौं घनिष्ट साथी अब के छन्, कहाँ छन् वा छैनन्, केही पनि थाहा छैन । कति साथी त देख्दादेख्दै गए । जस्तो विनोद दीक्षित । उनी मेरा सहपाठीभन्दा बाल–सखा बढी हुन् वीरगन्ज, काठमाडौं सबठाउँमा उनी साथमा रहे । कतिपय कुरामा सहयोगी पनि रह्यौं । समीक्षा चलाउँदा मैले निकै लेख लेखेँ, निकै अन्तर्वार्ता लिएँ । मेलै पत्रिकाको लेखनको थालनी समीक्षाबाट गरेको हुँ । विनोदमा लेखकीय गुण पर्याप्त मात्रामा थियो । विभिन्न व्यस्तताले होला, उनले सोचे जति लेखेनन् भन्ने लाग्छ ।
‘रूपरेखा’मा २०२० वैशाख १ गते विनोद दीक्षितको म पापी कोपिला रहेछु, र मेरो तटस्थता असफलता एकै दिन छापिएको थियो । त्यो दिन विनोद र म बिहान प्रसन्न मुद्रामा सँगै न्युरोड घुमेका थियौं । विनोदको एक कथा क्युको भ्रमण म अझ सम्झिन्छु । उनको चीलगाडी सम्भवतः अन्तिम कृति हो ।


पोहोर साल अस्पतालको बेडमा हामीले हात मिलाएका थियौं । विनोदको यो वाक्य म अझै सम्झिन्छु, अहिले धेरै गर्नु छ । त्यसै भनेर हात मिलाएका थियौं । के थाहा, त्यो हात मिलाई अन्तिम हुनेछ र विनोद हात छुटाएर जान्छन् । मेरो उनीसित अन्तिम भेट त्यही थियो । विनोदलाई एक अनन्य बाल सखालाई स्मृतिको अञ्जली । त्यसैगरी तुलेन्द्रमान सिंह र परशुराम सवावगीलाई पनि श्रद्धाञ्जली । आजको लेखन मित्रहरूलाई सम्झनाका रूपमा लेखियो, जो अब यस संसारमा छैनन् ।