देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इटहरीमा जनप्रतिनिधिबीच विवाद, मेयर पौडेल भन्छन्- एमालेले जनतामा भ्रम फैलायो

देशान्तर

सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर भ्रम फैलाउन खोजेको बताए । ‘दलीय छलफलमा एउटा सहमति गर्ने र बाहिर आएर अर्कै कुरा गर्ने गरेर एमालेले भ्रम फैलाउन खोजिरहेको छ,’ पौडेलको भनाइ थियो ।

मेयर पौडेलले बुधबारका लागि बोलाएको १४ औँ नगरसभा अन्तिम समयमा स्थगित भएको थियो । मेयर पौडेलले एमालेको दोहोरो नीतिका कारण बैठक बस्न नसकेको बताएका छन् भने एमालेले कर राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने विषयलाई मुद्धा बनाएको छ ।

मेयर पौडेल कांग्रेसबाट निर्वाचित भएका हुन् । तर इटहरीमा नेकपा एमालेको बहुमत छ । मेयर पौडेलले एमालेले बहुमतको आडमा अनुचित दबाब सिर्जना गर्ने काम गरेको गुनासो गरे ।

बुधबारको नगरसभा बैठक अवरुद्ध गर्ने एमालेको तयारी थियो । एमालेले राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएको छ । मेयर पौडेलले भने कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

मेयर पौडेलले आफूले सबै दलहरूलाई समेटेर नागरिकको भावनाबमोजिम करका दर र नीति नियमहरू बनाउन चाहेको दाबी गरेका छन् । नगरसभाका १०४ सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित छन् । कार्यपालिकामा पनि एमालेकै बहुमत रहेको छ ।