देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घण्टीको जमानत जफत

देशान्तर


काठमाडौं । सिंगो पार्टी नेतृत्व नै होमिए पनि इलाम—२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरू छलफलमा जुटेका छन् । एक वर्षअघि भएको प्रतिनिधिसभा उपनिर्वाचनमा दुई सिट नै जित हासिल गरेको रास्वपा यस पटक कमजोर सावित भएको हो ।
माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले ५ हजार ५० मत मात्रै पाए । ‘जान्नेलाई छान्ने’ नारा नै बनाए पनि लहडको भरमा उम्मेदवार छनोट गरेपछि सुरुदेखि नै रास्वपालाई इलाममा अप्ठेरो भएको थियो । पार्टीको प्रतिष्ठाको विषय बनाएको रास्वपामा सभापतिदेखि पदाधिकारी र सरकारमा रहेका मन्त्रीहरूको बासै इलाम भए पनि जित हात पार्न नसकेपछि समीक्षा गर्दै अघि बढ्ने रणनीतिमा पुगेको एक नेताले देशान्तरलाई बताए ।
चितवनमा रास्वपा सभापति रवि लामिछाने र तनहुँमा रास्वपाकै स्वर्णिम वाग्ले निर्वाचित भएजस्तै सोचेका नेताहरूले इलामको परिणामबाट नयाँ तरिकाले सोचेरमात्रै अघि बढ्नुपर्ने तहमा पुगेका छन् ।
चितवन र तनहुँको जस्तै जनलहर पाउने आशासहित सिंगो शक्ति परिचालन हुँदा पनि परिणाम कमजोर आएपछि रास्वपाभित्र हलचल आएको छ । यद्यपि, इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निष्कर्ष पार्टीको छ । पुराना दल र नेताहरूलाई गाली गरे पनि सत्तामा पुग्न एमाले र माओवादीको फेरो समाउन पुगेका रविको विवादास्पद छविका कारण पनि मत गुमेको विषयमा पार्टीमा छलफल भएको एक नेताले बताए । सहकारी रकम अपचलनको आरोप लाग्दा पनि सत्तामा टाँसिरहेका कारण पनि अहिले रास्वपाको छवि घट्दो अवस्थामा पुगेको विश्लेषण गरिएको छ ।
उपनिर्वाचनको परिणामलाई लिएर शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । बैठकले २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने तयारी थालेको छ ।
उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए । उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए ।
महामन्त्री ढकालले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताए । उनले सरकारमा पार्टीले गरेका कामहरूको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताए । पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी निर्णय गर्ने पनि रास्वपाको तयारी छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ र २०८० मा रास्वपाका उम्मेदवारले सहरी क्षेत्रमा राम्रो मत ल्याएर विजयी भएका थिए । सोही परिणामबाट उत्साहित भएको पार्टीले इलाममा घण्टी बजाएर छाड्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिए पनि परिणाम खराब आएपछि गाउँमा संगठन बढाउनुपर्ने निष्कर्षमा रास्वपा लागेको छ ।