देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुटका कारण कांग्रेस पराजित

देशान्तर


काठमाडौं । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेश सभा १(क) मा भएको दुवै उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । राजनीतिक अंकगणितका हिसाबले नेकपा एमालेले बाजी मार्दा कांग्रेसले प्रदेशसभाको सिट पनि सुरक्षित गर्न सकेन । दुवै ठाउँमा निकटतम प्रतिस्पर्धीमात्रै बन्न सक्यो । इलाम–२ को सिट एमालेबाट खोस्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको कांग्रेस विगतमा जितेको बझाङ प्रदेश सभा–१ समेत जोगाउन असफल रहनुलाई भने समीक्षा गर्न जरुरी छ ।
२०७९ को आमचुनावमा तीन दल (माओवादी, एकीकृत समाजवादी, लोसपा)को साथमा एमालेविरुद्ध उभिएको कांग्रेस उपनिर्वाचनमा भने एक्लै मैदानमा उत्रिएको थियो । नेपाली कांग्रेसको चुनाव हार्नुमा नेतृत्वको कारण पनि रहेको चर्चा चलेको छ । कांग्रेस सभापति दुवै क्षेत्रमा प्रचारका लागि पुग्दै पुगेनन् । देउवाले विज्ञप्तिमार्फत भोट भने मागेका थिए । उपसभापति धनराज गुरुङ एक पटकमात्रै इलाम पुग्दा महामन्त्री गगन थापा इलाम–२ मा दुई पटक पुगे पनि बझाङमा जान उपयुक्त नै ठानेन् ।
महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाको जोडबलले इलाममा नतिजा कांग्रेसको पक्षमा आएन । इलाम–२ का चुनावी कमान्डर शर्मा उम्मेदवारी दर्तादेखि मतगणनासम्म इलाममै थिए । बझाङ प्रदेशसभाका चुनावी कमान्डर नेता एनपी साउद भने ग्राउडमा धेरै खटेनन् । पार्टीका शीर्ष नेताले उपनिर्वाचनमा जिम्मेवारी निर्वाह नगरेको गुनासो सुनिएको छ ।
गत फागुन ७–१० को महासमिति बैठकमा हिन्दु राष्ट्रका पक्षमा भएको बहसले इलाम–२ मा धक्का लागेको कांग्रेसको बुझाइ छ । महासमिति बैठकले केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा एक हजार महासमिति सदस्यले हिन्दु राष्ट्रसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
कांग्रेसको भ्रातृसंस्था मगर संघका अध्यक्ष निदेश थापामगरले महासमितिमा जबर्जस्त उठेको हिन्दु राष्ट्रको मुद्दालाई इलाम– २ मा कांग्रेसलाई घाटा भएको बताउँछन् । यसैगरी नेपाली कांग्रेसले हार्नुमा उम्मेदवार छनोटमा भएको ढिलाइको रूपमा पनि अर्थ लगाइएको छ । उम्मेदवारी सिफारिसको समयमा निर्वाचन क्षेत्रका ४२ वडामध्ये ३७ वटा वडाका कांग्रेस सभापतिहरू भेषराज आचार्यलाई नै टिकट दिनुपर्ने पक्षमा थिए । तर, सभापति देउवाले बूढानीलकण्ठमा बसेर आफ्नै गुटका डम्बर खड्कालाई टिकट दिलाई छाडे । २०७९ कै चुनावमा विवादित बनेका खड्का जिल्लाका ठेकेदार पनि हुन् । तर उनले लिएका ठेक्का अलपत्र रहेको भन्दै मतदाताले उनलाई नरुचाएको रूपमा पनि अर्थ लगाइएको छ ।
वरिष्ठ नेता डा. शेखर कोइरालाका अनुसार टिकट दिँदा स्थानीय पार्टी पंक्तिको कुरालाई नेतृत्वले नजरअन्दाज गर्दा पार्टीले चुनाव हारेको बताए ।
इलाम–२ मा कांग्रेसले पहिचानवादी उम्मेदवार बनेका विगतमा एमालेको पृष्ठभूमि रहेकाले डकेन्द्र थेगिमले एमालेको मत बढी काट्ने अपेक्षा गरेको थियो । पहिचानवादी आन्दोलनप्रति अनुदार एमालेको विकल्पमा आदिवासी जनजाति समुदायले थेगिमलाई रोज्ने कांग्रेस विश्लेषण गरेको पनि फेल खान पुग्यो ।
चुनावी अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रामक देखिएको कांग्रेस पहिचानवादी उम्मेदवार थेगिमप्रति नरम सुनिन्थ्यो । एमालेले जित्ने परिस्थिति बन्दा पहिचानवादीले कांग्रेसलाई मत दिने पनि कांग्रेस वृत्तमा चर्चा थियो । तर, चुलाचुली, माङ्सेबुङ र फाकफोकथुममा एमालेले आफ्नो मत जोगाउँदा थेगिम नै कांग्रेसका लागि भारी भइदिए ।
प्रमुख प्रतिस्पर्धी एमाले, रास्वपा, एकीकृत समाजवादी र पहिचानवादी स्वतन्त्र गरी ४ जना जनजाति समुदायका उम्मेदवारको मत बाँडिदा चुनाव जित्न सकिने कांग्रेसको रणनीति थियो ।
तर, रास्वपा र एकीकृत समाजवादी प्रतिस्पर्धामै आउन सकेनन् भने स्वतन्त्र उम्मेदवारले कांग्रेसकै मत बढी काट्दा खसआर्य रणनीति फेल खायो । महामन्त्री विश्वप्रकाश शर्माले रणनीतिक रूपमा प्रस्तुत हुँदा पनि एमाले र माओवादी एक ठाउँमा आउँदा चुनावमा कांग्रेस पराजित भएको बताए ।
उपचुनावमा सफलता हात पार्न नसके पनि कांग्रेसले २०७९ मा पाएको समानुपातिक मत भने जोगाएको छ । २०७९ मा इलाम–२ बाट कांग्रेसले २२ हजार ३ सय ३३ मत पाएको थियो । उपनिर्वाचनमा कांग्रेसले २१ हजार ९ सय ४२ मत ल्याएको छ ।