देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिनदहाडै घुस लेनदेन हुन्छ : प्रमुख आयुक्त राई

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताएका छन् । तर, त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुने उनको भनाइ छ ।
आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित प्रमुख आयुक्त राईले त्यो घुस नै हो भनेर प्रमाणित गर्न कठिन भएकोले समस्या परेको बताएका छन् ।
सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै घुस लेनदेन हुँदा पनि आफूहरुले केही गर्न नसकेको उनको भनाइ थियो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको बताए । बैठकमा लामिछानेले अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी ठहर हुने प्रतिशत निकै कम रहेको तथ्यांक प्रस्तुत गरे । उनले ठुला माछा खोई भनेर प्रश्न गरे ।
आयोगका प्रमुख राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको पनि बताए । ठुला कारोबार सिंगापुर, हङकङ र युएईमा डिलिङ हुने गरेको उल्लेख गर्दै राईले कानुनमा संशोधन गर्न आवश्यक रहेको बताए ।

यसैबीच प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु सम्परीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ ।

बैठकले कानुनको पालना नहुँदा बेरुजु बढेको निष्कर्ष निकालेको छ । बैठकले बेरुजु नियन्त्रण गर्ने कार्यलाई प्राथमिकताका साथ सम्पादन गर्नुपर्ने भएकोले सरकार एवं लेखा उत्तरदायी अधिकृतहरुलाई विभिन्न निर्देशन पनि दिएको छ ।
समितिको अर्को बैठक असोज २५ गते बिहानको १० बजे बस्ने भएको छ ।