देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन पराजुलीको माग : कोशीमा सरकार गठनबारे निर्णय लिन राप्रपाको शुक्रबार बिहान पदाधिकारी बैठक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।सभापति देउवालाई भेटेपछि पराजुलीले संसदीय दलको नेताको विकल्प खोज्नु परे दलको तर्फबाट आफूलाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।
जवाफमा देउवाले संसदीय दलको नेता नै पहिलो प्राथमिकता रहने बताएका थिए । दलका नेता उद्धव थापासँगै इतर समूहका नेता केदार कार्की मुख्यमन्त्रीको दाबेदार छन् । अमृत अर्याल, भीम पराजुली, हिमाल कार्कीले चाहाना व्यक्त गरेका छन् ।
यसैबीच कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ । बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे निर्णय लिनेछ ।


कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् । कोशीमा सत्तारुढ गठबन्धनले नयाँ सरकारका लागि दावी प्रस्तुत गर्ने तयारी गरिरहँदा राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ । राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन ।

केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे निर्णय लिने अधिकार अध्यक्ष लिङदेनलाई सुम्पिएको थियो । लिङदेनले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर छलफल गरेका थिए ।