देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद्को विशेष बैठक आह्वान : सर्वदलीय बैठक पनि बस्ने

देशान्तर


काठमाडौँ । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् ।
अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा सर्वदलीय बैठक पनि बोलाएका छन् । बैठकमा सोही विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री दाहालले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका छन् ।
इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे यकीन गर्न र उनीहरूको उद्धार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्री दाहालले बालुवाटारमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री, उपप्रधानमन्त्री एवम् गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र मनत्रालयका सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए ।
सो बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सम्मिलत एक ¥यापिड एक्सन टीम गठन गरेको थियो । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत सङ्कलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ ।
इजरायबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ ।
यता राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनभएको प्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले शोक विज्ञप्ति जारी गर्दै विद्यार्थीको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले फर्कन चाहने अन्यलाई तत्काल उद्धार गर्न सरकारसँग विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् । मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेतव्यक्त गरेका छन् ।