देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफू राजाजस्तो बन्ने पक्षमा छैन् : राष्ट्रपति पौडेल

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजाजस्तो बन्ने पक्षमा नरहेको बताएका छन् । पौडेलले जनताका पिर मर्काका बारेमा आफू सचेत रहेको र आफू राजाजस्तो बन्ने पक्षमा नरहेको प्रष्ट पारेका हुन् । शीतल निवासमा सिमित सम्पादकसँग पौडेलले जनतालाई राष्ट्रपतिको पदको सीमाबारे बुझाउन आवश्यक रहेको बताए । उनले राजा मान्ने बानी परेका जनतालाई राष्ट्रपतिको सीमा बुझाउनका नसकिएको बताए । संविधान विपरीतका काम कारबाहीलाई जायज मान्न नसकिने प्रस्ट पारे ।

योगराज ढकाल रिगलको कैद कट्टा प्रकरणमा आफू र राष्ट्रपति संस्थामाथि नै भएको आलोचनाबारे जानकार रहेको राष्ट्रपति पौडेलले बताए । उनले रिगल प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समेत आफूसँग कुराकानी गरेको भन्दै जनतालाई धेरै कुरा थाहा नहुने र बाहिर आएका कुराहरुमा विस्वास गर्नुपर्ने अवस्था रहेको बताए । राष्ट्रपति पौडेलले सरकार र गठबन्धनलाई संविधानविपरितका काम नलगाउन आग्रह गरेको पनि सुनाए ।

अर्थतन्त्रका बारेमा विज्ञहरुसँग आफूले छलफल गरेर सरकारलाई स्वेतपत्र जारी गर्न सुझाव दिएको राष्ट्रपतिको भनाइ छ ।