देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिआरआई परियोजना कार्यान्वयन गरिन्छः प्रधानमन्त्री

देशान्तर


काठमाडौँ,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् ।बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्ष्यमा आज नेपाल–चीनमैत्री मञ्चले यहाँ आयोजना गरेको ‘बिआरआईको एक दशक , व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा प्रधानमन्त्री दाहालले बिआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना भएको बताएका हुन् । उनले बिआरआईअन्तर्गत परियोजना छनोट र कार्यान्वयन हुनेगरी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउन चाहेको बताए । नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइप्रति आफ्नो पूर्ण सहमति रहेको भन्दै प्रधानमन्त्री दाहालले उक्त विषय आफूले पनि केही दशकदेखि दृढतापूर्वक भन्दै आएको बताए । प्रधानमन्त्री दाहालले विश्वकै लागि अनुकरणीय छिमेकी र असल मित्र राष्ट्र चीनको यो अभूतपूर्व विकास नेपालका लागि ठूलो शिक्षा र अवसर दुवै भएको बताए।

उनले नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै आवश्यकता पूरा हुनसक्ने परिस्थिति नरहेको बताए । विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो रहेकोको सन्दर्भमा बिआरआई नेपालका लागि महत्वपूर्ण स्रोत हुने उनको भनाई छ । प्रधानमन्त्री दाहालले विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सावर्जनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन नसकेको बताए । उनले अब छिटै कार्ययोजना बनाएर समयवद्ध कार्यतालिकाअनुरूप दुबैतर्फका र साझा संयन्त्रलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिको पक्षमा दृढ रहेको दोहोर्‍याउँदै नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न नदिइने स्पष्ट पारे । प्रधानमन्त्री दाहालले विगतमा आफू सरकारको नेत्तृवमा रहँदा र चिनियाँ राष्ट्रपति सी चीनफिङको सन् २०१९ मा भएको नेपाल भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धिलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री दाहालले हालै सम्पन्न आफ्नो चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ्गसँग द्विपक्षीय हित तथा चासोका सबै विषयमा वार्ता, छलफल र कुराकानी भएको बताए । उहाँले उक्त भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा लैजान मद्दत गरेको बताए ।