देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यक्ति र पद ठूलो होइन 

देशान्तर

गैरआवासीय नेपाली संघको ११औं विश्वसम्मेलन तथा महाधिवेशन अक्टोबरमा काठमाडौंमा हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुने लागेको अधिवेशनको पूर्वसन्ध्यामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । लोकतान्त्रिक समूहबाट महेशकुमार श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिँदा उपाध्यक्षमा डा. केशव पौडेल आकांक्षी छन् । पेसाले चिकित्सक रहेका पौडेलसँग एनआरएनएको अधिवेशनका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश ।  

डाक्टरजस्तो सम्मानित पेसामा आबद्ध तपाईं, राजनीतिले फोहोरी बनाइएको एनआरएनएको राजनीतिमा किन प्रवेश गर्नुभयो ?

म २०१३–१४ मा गैरआवासीय नेपाली एनआरएनएको ‘मुभमेन्ट’मा लाग्दै गर्दा यो प्रश्न धेरैले गर्नु भएको थियो । म अमेरिकामा प्रसिद्ध हस्पिटल (अस्पताल) मै काम गर्छु । त्यहाँ म चिकित्सक र एड्मिनिस्ट्रेसनको भूमिकामा रहेर काम गर्थे । त्यो बेलामा मान्छेहरूले एनआरएनएका बारेमा धेरै किसिमका प्रश्नहरू र आंशकाहरू गर्नुहुन्थ्यो । कतिपयले मलाई एनआरएन मुभमेन्टमा लाग्न हुँदैन भनेर पनि भनेका थिए । तर, हामीले साथीहरूसँग बसेर सोँच्यौ र सोध्यो, नेपालको लगभग २० प्रतिशत मान्छेहरू विदेशमा छन् । म एनआरएनएमा आबद्ध हुँदा लगभग १५ प्रतिशत मान्छेहरू विदेशमा रहेको अवस्था थियो । अहिले यो प्रतिशत बढेर २० पुगेको हो । सन् २००३ मा एनआरएनएको स्थापना भयो ।

मैले अमेरिकामा चिकित्सकको रूपमा काम गर्दैगर्दा सोँचे ‘एक पटकमा बिरामी चेक गर्दा एक जनालाई सहयोग गर्न सक्छु ।’ दिनभरि गरे भने २० जना मानिसलाई उपचार र सेवा तथा सहयोग गर्न सक्छु । र मेडिकल डाइरेक्टरको भूमिकामा हुँदा हस्पिटल सिस्टममा मेरो अन्डरमा रहने सहकर्मीहरूले गर्ने सेवा ५० गुणा बढी हुने भयो । त्यसले पनि मलाई धेरै प्रभाव पा¥यो । हामी नेपाली हौं, नेपालमा बस्नुपर्ने दायित्व थियो । विभिन्न कारणले हामी विदेशमा गयौं । विदेशमा सहयोग गर्ने काम त सबैले गरेकै छन् । गैरआवासीय नेपाली संघ एउटा यस्तो संघ हो, जसले विदेशमा बस्ने नेपालीहरूको हकहितको लागि र विदेशमा बस्ने नेपालीहरूलाई नेपालसँग जोड्नको लागि खोलिएको थियो ।

र त्यो संस्थामा गएर काम गरे भने एकै पटक धेरै नेपालीहरूलाई मैले गर्ने सहयोगबाट प्रभाव पार्न सक्छु । चिकित्सकहरूसँग समय हुँदैन । एकदम बिजी हुन्छन् भन्ने कुरा पनि छ । हामीसँग हुने भनेको समय २४ घण्टामात्रै हो । त्यो समयमा मान्छेले आफ्नो परिवारसँग बसेर बिताउने हो । र त्यो समय व्यवस्थापन गरेर सामाजिक सेवामा लाग्ने हो । मैले पनि एकै पटक नेपाली समुदायको लागि काम गर्न सके भने त्यसबाट धेरै मान्छेहरूलाई एकै पटक प्रभाव पार्न सक्छु । एकएक जनालाई होइन कि धेरै जनालाई सहयोग गर्न चाहन्छु र त्यो सम्भावना यो संस्थामा छ भनेर नै म एनआरएनएमा आबद्ध भएको हुँ ।

एनआरएनएको अभियानमा लाग्दै गर्दा तपाईंको भूमिका गौण वा प्रभावकारी हुन्छ भन्ने के ग्यारेन्टी छ ?

ग्यारेन्टी त केही कुराको पनि हुँदैन । आफ्नो आत्मबल र आत्मविश्वासका साथ तपाईंले काम गर्नुभयो वा लागि पर्नुभयो भने पक्कै पनि सफल भइन्छ भन्ने कुरामा म विश्वस्त छु । मैले जुन दिनदेखि एनआरएनएमा लागेर काम गर्न सुरु गरे त्यस दिनदेखि आजसम्म म त्यो कामबाट सन्तुष्ट छु । सन्तुष्ट यो मानेमा होइन कि, मैले गर्नुपर्ने काम सबै गरे भनेर होइन कि । मैले केही न केही रूपमा योगदान ‘कन्ट्रिब्युट’ गर्न सके । र मैले अझैं गर्न सक्छु भनेर सन्तुष्ट छु । आउने दिनमा ती कामहरू गर्नका लागि अझैं मलाई प्रेरणा मिलेको छ । ग्यारेन्टीभन्दा पनि हामीले गर्न खोजेका कामहरू त्यो डिरेक्सनमा गयो कि गएनन् भनेर हेर्ने हो । त्यो डिरेक्सनमा हेर्दाखेरि चाहिँ हामीले केही न केही रूपमा सुधार गर्न प्रयास गर्‍यौं र केही हदसम्म सक्यौं भन्ने कुरामा विश्वस्त छु । 

अहिले एनआरएनएको चुनाव भनिए पनि सीधा सीधा राजनीति जोडिएको छ, एनआरएनएलाई  राजनीतिले दूषित बनाएको हो त ?

यसका लागि म एउटा उदाहरण दिन चाहन्छु । नेपालमा मात्रै होइन, संसारभरि नै राजनीतिको प्रभाव छ । र राजनीतिलाई विभिन्न किसिमले आलोचना गरिएको पनि छ । २०१६ सालमा ‘जयभुँडी’ भन्ने निबन्ध भैरव अर्यालले लेख्नुभयो, त्यसमा के लेख्नुभयो भने ‘सोझा र सज्जन कबै नलिनु दलैमा, पार्टी चलाउनु सधैं छलओ बलैमा’ भनेर । त्यतिबेला भैरव अर्यालले देखेका विकृतिहरूको विषय थियो । अहिले संसारभरको राजनीति हेर्दाखेरि जतिसुकै राम्रो राजनीति भएको ठाउँमा पनि राजनीतिक दाउपेचहरू छन् र त्यसले गर्दा मान्छेहरू अलि तल्लो लेभलमा पुग्ने सम्भावना हुन्छ ।

तर, एनआरएन मुभमेन्टको कुरा गर्दै गर्दा एनआरएन मुभमेन्टमा पनि संसारभरिका नेपालीहरू हाम्रै नेपालकै स्याम्पलबाट त्यही किसिमको कल्चरबाट हामी गएका हौं । हामी पनि त्यसबाट अछुतो हुन सक्दैनौं । र आफू संस्थामा जानका लागि मान्छेले राजनीतिक दाउपेच गर्छ र आफ्नो सम्भावना बलियो बनाउनका लागि कोही मान्छेहरूको र समूहको सहयोग लिने सम्भावना स्वाभाविक कुरा हो । त्यसलाई नै यहाँ राजनीति भन्ने गरिया छ । एनआरएनमा राजनीतीकरण भयो, राजनीतिक पार्टीहरूसँग गए भनिएको छ, यस्ता कुराहरू आउँछन् र आएका पनि छन् । र केही मात्रामा राजनीतिक पार्टीका मान्छेहरू त्यहाँ प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहभागी भएको अवस्था पनि हो । तर, हामीलाई हानिएको इँटालाई जम्मा गरेर घर बनाउने भन्ने पनि त छ नि । एनआरएनएमा राजनीति जुन किसिमले हुन खोज्या छ, त्यसलाई प्रयोग गरेर हामी संसारका नेपालीहरूका लागि केही सकारात्मक कुराहरू गरौं भन्ने हाम्रो कुरा हो । नेपालको जुन किसिमको परिवेश छ र एनआरएनहरू जुन ठाउँमा जसरी बसेका छन्, त्यहाँ पनि राजनीतिको प्रभाव छ । र त्यसलाई कम गर्नका लागि हामीले के गर्नुपर्छ भन्दा नेपालका राजनीतिक पार्टी र नागरिक समाज र अगुवाहरूलाई लियर नेगेटिभ कुराहरू नलिएर संसारका नेपालीहरूलाई सहयोग हुने गरी एनआरएनहरू लाग्नुपर्छ । 

यो गर्न सकिन्छ त ?

सकिन्छ । हरेक कुरालाई म सकारात्मक तरिकाले लिन्छु । नेपालका राजनीतिक दलहरू र गैरआवासीय नेपालीहरू मिलेर काम गर्ने हो भने सम्भव छ । गैरआवासीय नेपालीहरूले कमाएको सम्पत्ति देशको समृद्धिका लागि खर्चनु पर्छ । उदाहरणका लागि सामाजिक सुरक्षा कोषमा विदेशमा काम गर्ने नेपालीहरूको पैसा आउने गरेको छ । यो विषय एनआरएनएले धेरै पहिलादेखि नै  उठाएको कुरा हो । त्यो पैसालाई नेपालको समृद्धिमा खर्च गर्ने र प्रोजेक्ट निर्माणमा लगाउने हो भने सफल भइन्छ । त्यसका लागि नेपालका राजनीतिक दलहरूसँग सहकार्य गर्नुपर्छ । राजनीतिक दलहरूको नेगेटिभ कुराहरूलाई छोडेर सकारात्मक कुराहरूमा प्रयोग गर्दै लैजाने हो । मान्छे पदमा पुग्नका लागि राजनीति गर्ने कुरा स्वाभाविक हो । तर काम गर्ने बेलामा राजनीति गर्नु हुँदैन । संस्थालाई राम्रो गर्नका लागि र नेपालीलाई राम्रो गर्नका लागि प्रयोग गर्न सकियो भने राजनीति पनि राम्रै हुन सक्छ भन्ने मलाई लाग्छ ।

तपाईंहरूले विदेशमा आर्जन गरेको सीप र पुँजीलाई नेपालमा प्रयोग गर्न केले रोकेको छ ?

धेरै कुराहरू छन् । सन् २००३ सालमा एनआरएनए स्थापना भयो । त्योबेलामा नेपालमा लगानीसम्बन्धी कानुनहरू लगानी गरिसकेपछि मान्छेले लगानी फिर्ता पाउने कुराहरूमा झन्झट थियो । पहिला नेपालमा लगानी गर्नका लागि ५–१० करोड पैसा नभइकन लगानी गर्न पाइँदैन भन्ने थियो । अहिले आएर एनआरएनएहरूले लगानी गर्ने रकम पनि घटाइएको छ । यहाँ लगानी ग¥यो, मान्छे विदेशमा बसेको छ, विदेशमा पैसा लानका लागि अझैं झन्झट छ । डलर खाता खोल्न प¥यो भने विदेशको नागरिकता लिएको तर नेपाली नागरिक छ भने नपाउने अवस्था थियो । ती कुराहरू विस्तारै नेपाल सरकारले खुल्ला गर्दै गएको छ । अहिले त अब गैरआवासीय नेपाली नागरिकता पनि दिने ऐन र नियमावली पनि जारी भइसकेको छ । 

नागरिकता प्राप्तिको कुराले अब सहज बनायो कि केही बाँकी छ ?

गैरआवासीय नेपाली नागरिकताको नियमावली पनि बनिसकेको छ । यो नागरिकताले नेपालमा लगानीको सुरक्षा गर्छ । विदेशमा बस्ने हामी नेपालीहरूले हाम्रो सम्पत्ति नेपालमै राख्दाखेरि प्रयोग गर्न पनि पाउँछौं र परेको बेलामा बेचबिखन पनि गर्न पाउँछौं भन्ने एउटा आत्मविश्वास बढेको छ ।

गैरआवासीयको बाटो खुलेको छ, वंशज नागरिकताको निरन्तरताका लागि लाग्छौं : महासचिव पौडेल

तर, एनआरएनएले मागेको नेपाली नागरिकता र नेपाली नागरिकताको निरन्तरता नै हो । आज जुन गैर आवासीय नेपाली नागरिकता, जसमा आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको व्यवस्था गरिएको छ । यो नागरिकताले राजनीतिक अधिकार र प्रशासनिक काम गर्न नपाउने कुराहरू राखेर गरिएको छ, त्यसलाई पनि हामीहरूले अहिले जुन प्राप्त भएको छ त्यसलाई अत्यन्त सकारात्मक तरिकाले लिँदै त्यसलाई प्रयोग गर्दै भविष्यमा नेपालका दाजुभाइ, दिदीबहिनीहरू, नागरिक समाज र कानुन निर्माताहरूलाई कन्भिन्स गरेर विदेशमा बस्ने नेपाली भावनाको देशमा बसेका र भूगोलको देशमा बसेका नेपाली सबै बराबर हुन् र तिनीहरूको उद्देश्य भनेको नेपालको समृद्धिमा सहयोग गर्ने नै हो, त्यो भएको हुनाले नागरिकता बराबर गरौं भन्ने कुरामा हाम्रो लबिङ रहन्छ ।

एनआरएनएले नेपालीहरूलाई कसरी विदेशमा सहयोग गरेको छ ?

हामीले सधैं नेपाल र नेपालीका लागि काम गरेका छौं । २०७२ सालको संविधान जारी गर्दा नेपालमा नाकाबन्दी हुँदा संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनलाई ज्ञापनपत्र बुझाएका थियौं । त्यतिबेला उनीहरूले हामीलाई रेसपोन्स गरेका थिए । भूकम्प जाँदा संसारभरका मान्छेहरू आएर सहयोग गरे । एनआरएन जुनजुन देशमा बसेका छन्, त्यहाँको वेलफेयरका लागि काम गरिरहेका छन् । नेपालमा समस्या पर्दा पनि एनआरएनहरूले काम गर्छन् । नेपालमा बस्ने नेपालीमात्र होइन, विदेशमा बस्ने नेपाली पनि नेपालका लागि उत्तिकै जिम्मेवार भएर काम गर्ने हो । त्यो काम एनआरएनको माध्यमबाट गर्न सकिन्छ भन्ने कुरामा लागेका छौं ।

चुनावी प्रसंग

पहिला अध्यक्षको उम्मेदवार बन्छु भन्नुहुन्थ्यो, अहिले किन उपाध्यक्षमा उम्मेदवारी दिन्छु भन्दै हुनुहुन्छ ?

यो प्रश्न धेरैले उठाउनु भएको छ । म पदभन्दा पनि गर्ने कामकारबाहीका कुराले तपाईंको पदको गरिमा बढ्छ भन्ने कुरामा विश्वास गर्ने व्यक्ति हुँ । म महासचिव बन्दै गर्दा यो संस्थालाई संस्थागत बनाउनुपर्छ भनेको थियो । जुन किसिमले संस्थामा माइक्रोम्यानेजमेन्ट थियो, अनि व्यक्तिगत रूपमा संस्थालाई क्याप्चर गर्ने र संस्थागत कुराहरूलाई छोड्ने प्रवृत्ति थियो त्यसलाई सुधार गर्नुपर्छ भन्ने उद्देश्यका साथ म आएको हुँ । केही हदसम्म हामी काम गर्न सफल पनि भयौं । अझै यो संस्थामा काम गर्न बाँकी छ । दसौं महाधिवेशनबाट तीन जना अध्यक्ष, महासचिव पनि दुई जना र एउटै पदमा बहुव्यक्तिहरूलाई राखेर एडजस्ट गरेका थियौं । त्यसबाट देखिएका विकृतिहरूलाई कम गर्न प¥यो भनेर हामीले कोसिस गर्‍यौं । र, अब आउने दिनमा सहमति र सहकार्यको माध्यमबाट नेतृत्व स्थापना गरौं भनेर लागेको थिएँ र म आफैंलाई त्यो ठाउँमा राखेर हेर्दैगर्दा मलाई लागेको थियो, मैले त्यो काम गर्न सक्छु । तर अरू साथीहरूले पनि त्यो कोसिस गर्नुभएको थियो । मैले के सोचे भने म एक स्टेप पछाडि हट्दै गर्दा अझैं पनि सहमति, सहकार्य र एकताको भावनामा वृद्धि हुन्छ र एनआरएनएको साख बढाउने सकिन्छ भने म व्यक्ति गौण हो त्यो संस्थालाई सर्वोपरि राखेर म आफैं एक स्टेप ब्याक भएर उपाध्यक्ष पदमा उम्मेदवारी दिने र हामीसँगै सहकार्य गरेका साथी अहिलेका उपाध्यक्ष हुनुहुन्छ उहाँलाई अध्यक्ष पदमा सहयोग गर्‍यौं भने सर्वसम्मत हुने सम्भावना पनि छ । एक जना साथीले समर्थन गरेर सुुरुआत गरिसकेपछि अरू साथीहरूले पनि त्यसका सिको गर्नुहोला भनेर नै मैले उहाँको नेतृत्वको उपाध्यक्ष पदमा बस्न लागेको हुँ ।   

तपाईंले जित्छु भन्ने आधार के हो र तपाईंलाई किन एनआरएनएका डेलिगेट्सले मत दिने त ?

मैले चुनाव जित्छु भन्ने आधार त धेरै नै छन् । मैले महासचिव हुँदा संस्थागत विकासका लागि काम गरे । दसौं अधिवेशनपछिको जुन अवस्था थियो त्यतिबेला हामीले एकताबद्ध भएर काम गर्नुपर्ने थियो । जुन हामीले गर्न सफल पनि भयौं । तीन जना अध्यक्ष, दुई जना महासचिव भएर काम गर्दा पनि कहिल्यै असजिलो महसुस गर्न दिएनौं र गरेनौं । संस्थालाई संस्थागत रूपमा अघि बढाउने र सहमतिको रूपमा चलाउने कुरामा सफल भयौं । र अब आउने दिनमा पनि जुन किसिमले मुद्दाहरू उठाएका छौं ती मुद्दाहरूले गर्दा पनि चुनाव जित्न सक्छु भन्ने लाग्छ ।

तपाईंले उठाएको मुख्यमुख्य मुद्दाहरू के हुन् त ?

नागरिकताको निरन्तरताको कुरा महत्वपूर्ण मुद्दा हो । अहिले अब गैरआवासीय नेपाली नागरिकता जारी हुने अवस्थामा पुगेको छ । अब हामीले नेपाली नागरिकता निरन्तरताको पहल गर्छौं । अहिले पाइएको राजनीतिक अधिकारबाहेकको नागरिकतालाई उपयोग गर्दै भविष्यमा नेपाली नागरिकता र गैरआवासीय नेपाली नागरिकताको समान अधिकार हुनुपर्छ भन्ने कुरालाई हामी अगाडि बढाउँछौं ।

सामाजिक सुरक्षा कोषको स्थापना भएको छ, त्यसलाई अझ एक्सपान्ड गरेर सम्पूर्ण विदेशमा काम गर्ने नेपालीहरूको सामाजिक सुरक्षाको कोष नेपालमा ल्याएर नेपालको विकासमा सहयोग गर्न सकियोस् भन्ने दोस्रो कुरा छ । विदेशमा बस्ने नेपालीहरूको मतदानको कुरा छ, यो अधिकारको बहस एकदमै भइरहेको छ । २०८४ सालको चुनावमा समानुपातिकतर्फ मतदान गर्न सक्ने वातावरण मिलाउनका लागि मैले महत्वपूर्ण भूमिका खेल्न सक्छु भन्ने लाग्या छ । यो विषयमा नेपाल सरकार र निर्वाचन आयोगसँग सहकार्य गर्र्र्दै यो काम गर्न सक्छौं । र चौथो कुरा विदेशमा बस्ने नेपालीहरूको संख्या ठूलो भइसक्यो, समस्याहरू धेरै छन् ती समस्याहरूलाई सम्बोधन गर्नका लागि गैरआवासीय नेपालीहरूका लागि छुट्टै मन्त्रालय (एनआरएनए मन्त्रालय) गरिनुपर्छ भन्ने कुरामा मेरो पहल हुन्छ । यसैगरी दोहोरो करका कुरा, नेपालको समृद्धिका लागि लगानी गर्ने कुराहरू धेरै नै छन् । ती कुराहरू गर्नका लागि म उपाध्यक्षको भूमिकामा खरो रूपमा उत्रिन सक्छु भन्ने विश्वास छ । 

तर, अहिलेको अवस्थामा एनआरएनए पनि त दुई वटा छ, यस्तो अवस्थामा कसरी काम गर्न सकिएला र ?

हो । दसौं अधिवेशनका बेला हामीले संस्थालाई एकताबद्ध बनाएर लैजान सकेनौं । अर्को पक्षसँग यसपटक सहमतिको वातावरण बनिसकेको थियो । एक, दुई वटा कुराले गर्दा त्यो कार्यान्वयनमा आउन सकेन । हामीले संस्थालाई एक बनाउनका लागि ११औं अधिवेशनसम्म पनि कोसिस गर्नेछौं । यदि ११औं अधिवेशनमा भएन भने पनि त्यसपछाडि पनि हामीले प्रयास जारी राख्ने छौं । हाम्रो कोसिस भनेको एनआरएनए मुभमेन्टअन्तर्गत संसारभरि एउटै संस्थाभित्र राख्ने प्रयास हुनेछ ।