देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैरआवासीयको बाटो खुलेको छ, वंशज नागरिकताको निरन्तरताका लागि लाग्छौं : महासचिव पौडेल

देशान्तर


गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले गैरआवासीय नागरिकता पाउने व्यवहारिक बाटो खुलेको भन्दै गैरआवासीय नेपालीहरुमा बधाई ज्ञापन गरेका छन् । बिहिबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्तिको नियमावली सार्वजनिक गरेको छ ।

महासचिव पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, यो उपलब्धिका लागि समस्त हामी एनआरएनहरूमा बधाई र खुशी बाँढ्न चाहन्छु ।

उनले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको यस अभियानमा लाग्ने राजनीतिकर्मी, संघका नेतृत्व तथा अभियन्ताहरुमा पनि आभार प्रकट गरेका छन् ।

अहिले प्राप्त भएको नागरिकताको माग नैं हाम्रो अन्तिम आवश्यकता को माग नभएपनि प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको अधिकारका लागि हाम्रो प्रयास भने जारी राख्नुपर्ने आवश्यकता रहेको छ, उनले भनेका छन् ।

११ औं महाधिवेशनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएका डा. पौडेल हाल विभिन्न मूलुकका गैरआवासीय नेपालीसँग अन्तरक्रियामा छन् ।

अहिले प्राप्त भएको नागरिकताको माग नैं हाम्रो अन्तिम आवश्यकताको माग नभएपनि प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको अधिकारका लागि हाम्रो प्रयास भने जारी राख्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन् ।

नियमावलीमा के के छ व्यवस्था?

नियमावली अनुसार एनआरएनहरुले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन्। विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नागरिकता लिन चाहनेहरुले आफू वा आफ्नो बाबुआमा बाजे वा बज्यैमध्ये एकजनाको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्नेछ। सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन्।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ। यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष ती गैरआवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ।

प्रमुख जिल्ला अधिकारीलाई गैरआवासीय नेपालीले पेस गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा उनले सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछन्। यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ। गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता अर्थात् शपथ गराउनुपर्नेछ। नेपाली नागरिकता लिन चाहने गैरआवासीय नेपालीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने व्यवस्था गरिएको छ।