देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभावभित्रको लगावले शानले मान कमाएका निशान 


काठमाडौं । करिब ४ दशक अगाडि साबिकको  इशानेश्वर गा. बि स.  लमजुङ (हालको मध्ये नेपाल नगरपालिका) मा जन्मिएका निशान घिमिरेले कक्षा ९ सम्मको अध्ययन गाउँकै विद्यालयमा गरेका थिए। सशस्त्र माओवादी आन्दोलनको प्रभाव निशानको परिवारमा समेत पर्‍यो। गाउँमा बस्ने स्थिति नभएपछि निशानको परिवार चितवनको गीता नगरमा विस्थापित भयो।

चितवन गएको केही वर्षपछि दसैँको कार्यक्रममा १ जना भिडियोग्राफरले भिडियो खिचेको देखेपछि चासोपूर्वक हेरेर भिडियोग्राफीप्रति आकर्षित भएका निशानले उनको ब्याट्री चार्ज गरिदिने, पानी लगेर दिने लगायतका काममा सघाउँछन् र भिडियोग्राफी सम्बन्धी जिज्ञासा राख्छन्। त्यसपछि अब भिडियोग्राफी नै सिक्छु भन्ने अठोट लिएर नारायणगढतिर जाँदा होराइजन मिक्सिङ् सेन्टरमा पुग्छन् र भिडियोग्राफी प्रति रुचि रहेको कुरा सुनाउँछन्। त्यही मिक्सिङ सेन्टरका भिडियोग्राफर नारायण रिजालले निशानलाई  क्यामेरा चलाउन सिकाउँछन् र  विवाह, व्रतबन्ध लगायतका समारोहका  भिडियो खिच्न थाल्छन् जति बेला उनी १८ वर्षका थिए। रु २,५०० मासिक तलबमा भियियोग्राफरका रूपमा काम सुरु गरेका निशानलाई अफिसमा ईश्वरी घिमिरेले भिडियो मिक्सिङ गरेको देखेपछि क्यामेरा भन्दा पनि कम्प्युटर चलाउनमा बढी रुचि जाग्छ। तर ईश्वरीले बिग्रन्छ भनेर कम्प्युटर छुन कसैलाई पनि दिन्थेनन्। एक दिन अफिसमा राम्रो नेपाली टाइप गर्ने मान्छे पाइएमा मिक्सिङ्को काम पनि सिकाएर मासिक रु ४,००० दिन हुन्थ्यो भन्ने कुरा चल्छ। ४,००० तलबको लोभले निशानलाई कम्प्युटर चलाउने चाहना झनै बढेर जान्छ। आफू बस्ने घरको घरबेटीको छोरा कमलले  पनि कम्प्युटर सिक्दै गरेको र टाइप शालाको फोटोकपी घरमा ल्याएको कुरा निशानलाई थाहा थियो। विनम्र पूर्वक कमलसँग टाइप शाला माग्छन्। माग्दा नदिएपछि हातबाटै थुतेर लैजान्छन् र रातभरि पूरै घोकेर कण्ठस्थ पार्छन्। भोलिपल्ट अफिसमा गएर  ईश्वरी दाइलाई कम्प्युटर खोलिदिनु म टाइप गर्छु भन्छन् जति बेलासम्म उनले किबोर्ड र माउस टाढाबाट देखेका मात्र थिए। जीवनमा किबोर्ड नछोएको मान्छेले नेपाली टाइप गर्छु भन्दा ईश्वरीले उपहास गर्छन्। निशानले दृढ विश्वासका साथ खोलेर त दिनु भने पछि आफैँ खोल भनेर छोडिदिन्छन्। निशानले आउँदैन भनेपछि  कम्प्युटर खोलेर टाइप गर भन्छन्। निशानलाई केही बेर माउस समाल्न आउँदैन, ईश्वरीले माउस समाल्न सिकाइदिन्छन् र विवाहको भिडियोमा लेख्नुपर्ने नामहरू टाइप गर्न दिन्छन्। ढिलै भए पनि टाइप गरेको देखेपछि ईश्वरीलाई केटाले गर्छ कि भन्ने लाग्छ। पहिलो दिनमै १२ ओटा विवाहका नामहरू टाइप गर्छन्। त्यही दिनदेखि उनलाई भिडियोग्राफी सहित नेपाली टाइपको जिम्मा पनि दिइन्छ तलब रु २,५०० बाट रु ४,००० पुग्छ। निशानलाई जीवनमा ठुलो उपलब्धिको आभास हुन्छ। कम्प्युटर चलाउन थालेपछि उनले मिक्सिङको काम पनि सजिलै सिक्छन्। काम गरेको लगभग ६ महिना भएको थियो एक दिन बिहानको चिया गफमा अर्को टेबलमा बसेर चिया पिउँदै गरेका केटाहरूले मल्टिमिडिया सेकेन्ड मोडलको विषयमा कुरा गरेको सुन्छन्।  यो कोर्स त मलाई पो काम लाग्ने रहेछ भनेर बिहान ७ बजेदेखि ९ बजेसम्म सो कोर्स पढ्नका लागि नारायणगढकै केयू मल्टिमिडियामा भर्ना हुन्छन्। बिहानै खिच्न जानुपर्ने  दिनमा भने निशानको कक्षा छुट्थ्यो तर पनि भोलिपल्टको कक्षामा कभर गरिहाल्थे।

लगभग २ वर्ष जति काम गरेपछि प्रकाश पोख्रेल नाम गरेको साथीको सूझाव र सल्लाह अनुसार निशानलाई काठमाडौँ जाने इच्छा जाग्छ। यता रोजगारीको सिलसिलामा मुंबइ गएका बुवा सम्पर्कबिहिन हुनुहुन्थ्यो। वहाँ नेपालको एउटा राजनीतिक दलसँग पनि संगठित भएर मुंबईबाटै काम गर्दै आउनुभएको थियो। सुन्नमा आए अनुसार वहाँलाई आफ्नै साथीहरुले मरणासन्न हुने गरि कुटेर मर्यो भनेर फालिदिएका थिए रे। ती साथीहरु बुवाका राजनीतिक सहकर्मी थिए। उनी आफू आवद्ध राजनीतिक दलको सिद्धान्त र व्यवहारमा ज्यादै फरक आएको देखेर सो दलप्रति वित्रृष्णा जागेर निष्कृय भएका रहेछन्। सायद पार्टीमा निष्कृय  भएको व्यक्तिले आफ्ना कमजोरीहरु सार्वजनिक गरिदिन्छन् भनेर ती साथीहरुले  मार्ने नियतले आक्रमण गरेका रहेछन्। बुवाको कानको जाली फुटेको थियो भने हातखुट्टा भाँचिएका थिए। आमा र ३ ओटा भाइहरू निशानको कमाई मा  घरमा पालिन्थे। नारायणगढमै राम्रो जागिर गर्दै गरेको छोरा काठमाडौँ जान्छु भने पछि घरमा सन्नाटा छायो। आमाले सम्झाउनु मात्र भएन निशानलाई गाली समेत गर्नुभयो। अलि जिद्दी स्वभावका निशान छोराले आँट्यो त आँट्यो भन्ने खालका थिए। न उनलाई घरको अभावले रोक्यो न आमाको बिलौनाले । उज्ज्वल भविष्यको कल्पना सहित १ महिनाको तलब र झोला बोकेर निशान काठमाडौँ गएरै छाडे। काठमाडौँ पुगेपछि १५ दिन जति मितको कोठामा बसे। १५ दिनपछि काठमाडौँ आउन सल्लाह दिने साथी प्रकाश पोख्रेलसँग गल्कोपाखामा कोठा लिएर बस्न थाले। रु १,५०० कोठाको बैना दिँदा र कोठाको लागि चाहिने अत्यावश्यक सामान किन्दा पैसा सकियो। घरबाट चामल, मस्यौरा, भट्ट र गुन्द्रुक लगेको हुनाले लगभग २ महिना जति त जसोतसो गुजारा चलाए। सँगै बस्ने साथी पैसा भएको बेला भोलिको लागि समेत नसोच्ने स्वभावको हुँदा निशानलाई झन् कष्ट भयो। घरबेटी अलि कडै खालका रहेछन् २ महिना पुगेको केही दिनदेखि भाडाका लागि तनाव दिन थाले। ३/४ दिन त जसोतसो भोलि भोलि भन्दै कुरा मिलाए। तर ५ औं दिनमा पैसा नलिईकन घरभित्र छिर्न पाउँदैनस् भनेर चाबी नै लगाइदिए पछि बेसहारा जस्तो भए, २ जना २ तिर लागे। निशान माघ महिनाको जाडोमा साथमा भएको अलि अलि खुद्रा पैसाले ३ दिनसम्म बम पाउरोटी र पानी खाएर कपुरधाराको पार्कमा सुते। राती भुस्याहा कुकुर आएर टाँस्सिएर सुत्दा न्यानो आभास भएको कुरा सुनाउँदा निशानका आँखाभरि आँसु भरिएका थिए। छँदाखाँदाको घर पायकको राम्रो जागिर छोडेर आएकोमा पछुतो लाग्यो, घरमा फर्कौँ कि झैँ लाग्यो तर घर जानलाई भाडा भए पो।

बासविहीन भएको चौथो दिन स्कुलमा सँगै पढेको साथी प्रकाश सापकोटासँग भेट भयो। प्रकाशले असनमा रहेको आफ्ना दाइ दीपेन्द्रको इलेकट्रोनिक्स पसलमा लिएर जान्छन्। दाइले कोठामै लिएर जा भने पछि प्रकाशले लिएर जान्छन। ४ दिनको दिनमा घ्यूसँग भात खाएको याद निशानको मानसपटलमा अहिले पनि ताजै छ। निशान हाँस्दै भन्छन् “सायद त्यति स्वादसँग त्यति धेरै भात म‌ैले जीवनमा दोस्रो पटक खाएको छ‌ैन”। १ हप्ता जति त्यहीँ बसेर दीपेन्द्र दाइसँग  रु १,५०० सापट लिएर घरबेटीलाई दिए पछि कोठा खोलिन्छ। कोठामा  चामल, गुन्द्रुक र  मस्यौरा मात्र थियो। त्यसैले गुजारा चलाउँछन्। दीपेन्द्र दाइले आफ्नै भाइ सरह माया मान्ने हुँदा वहाँ कोमा आउन जान र सहयोग माग्न निशानलाई सङ्कोच लाग्थेन। घरबाट निकालिदिएपछि सँगै बस्ने साथी प्रकाश पोख्रेल चितवन पुगेका रहेछन्।  केही दिनमा उनले पनि ५,००० लिएर आउँछन्। त्यही ५,००० मध्येको २/२ हजार दिएर दुवै जना ६ महिनाको ग्राफिक्स कोर्स पढ्नका लागि  अरिना मल्टिमिडियामा जान थाल्छन्। पूरा कोर्सको फी भने १२,००० थियो।  त्यहाँ पढ्दै गर्दा कलर करेक्सन पनि सिक्छन्। त्यो बिचमा आवश्यक पर्दा दीपेन्द्र दाइले सहयोग गरेका हुन्छन्। दाइले काम खोजिदिने कुरा पनि गर्छन् तर निशानलाई भिडियो सम्पादन बाहेक अरू काममा मनै जान्न। निशान र प्रकाश पोख्रेलको दिनचर्या बिहान पढ्न जाने र दिनभरि विभिन्न प्रोडक्सन हाउस डुलेर काम खोज्ने हुन्थ्यो। यात्रा भने प्राय पैदल नै । १०/१२ ओटा भिडियो सम्पादन पनि गरे तर  नाम भने राख्न दिएनन्। निशानले सम्पादन गरेको पहिलो पटक नाम समेत आएको म्युजिक भिडियो  बाबु बोगटीको `जाने मायालु´ बोलको गीत हो। कोर्स सकिए पछि ३ महिना क्रिएटिभ एड्भरटाइजिङ मिडियामा काम गर्छन्। त्यसपछि प्रवीण बरालसँग भेट हुन्छ। प्रवीणले हाम्रै चितवनको भाइ रहेछौ भन्द‌ै आफूले काम गर्ने प्रोडक्सन हाउस फोटो भिजन नेपालमा लिएर जान्छन्। भिजन नेपालका नामले परिचित फोटो भिजन नेपाल त्यति बेला बिजुली बजारमा थियो। त्यहाँ पुगेपछि रवीन्द्र बराल, आयुस रिजाल र लीलू गुरुङ सँग चिनजान हुन्छ। प्रवीणको प्रस्ताव र ४ जनाकै सल्लाहमा निशानलाई सम्पादकका रूपमा त्यहीँ राखिन्छ। त्यति बेलासम्म नेपालमा प्रकाश तुलाधर लगायतका केही चर्चित सम्पादकले मात्र म्युजिक भिडियोमा कलर करेक्सन गर्थे। निशानले कलर पनि जानेको हुँदा  भिजन नेपालमा निशानको राम्रो प्रभाव पर्‍यो। ३ वर्षसम्म त्यहाँ जागिरेका रूपमा काम गरेका निशानले सोही समयमा बिहान बेलुका  निर्देशक प्रकाश भट्टको साई भिजन प्रा. लि. गौरव पोखरेलको त्रिवेणी फिल्म्स् प्रा. लि., लगायत भिडियो प्रोडक्सन हाउसहरूमा काम गरे। ३ वर्ष पछि भिजन नेपाल केही वर्षका लागि बन्द हुने भयो। त्यति बेला भिजन नेपालका  छायाँकारका रूपमा रहेका आयुस रिजाल सहित क्रिएटिभ मनकामना फिल्म्स् प्रा. लि. मा गए। लगभग ५ वर्ष जति क्रिएटिभ मनकामना लगायतका प्र‍ोडक्सन हाउसमा काम गरे पछि सन् २०१३ मा आफैँले ग्लोबल एफ. एक्स. नामको  कम्पनी खोले। सो ब्यानर मा २०१९ सम्म कम्पनी चलाउँदा निशानले नाम र दाम राम्रै कमाए। अफिसमा २/२ जना सहायक सम्पादक राखेर काम गर्न थाले। महँगा महँगा भिडियो र विज्ञापनका निर्माता निर्देशकहरू निशानलाई खोज्दै आउन थाले।

सन् २०२० देखि  RAD STUDIO दर्ता गरेर सोही ब्यानर मा काम गर्दै आएका निशानले भने अनुसार अहिलेसम्म ६००० भन्दा बढी म्युजिक भिडियो सम्पादन गरेका छन्। तिम्रै झल्को आउँछ निरमाया, नविर्षेँ तिमीलाई (मेल भर्सन), तिमी कसको हुने होला म नि कसको हुने होला, पिउँदिन भन्दा भन्दै पिलायो साथीले, चल बतास चल लगायत निशानले सम्पादन गरेका चर्चित म्युजिक भिडियोका उदाहरणहरू हुन्।

यसरी नै ओ ढलेँ म ढलेँ, तिमी फुल्यौ कतै, आँधीसरि तिम्रो माया , बल गरेर, खोलूँ आँखा , छटपटी, डन्ट किल मि, हुन्छ हुन्छ भन्दा भन्दै, सिप सिकौँ, दोहोरीको राजा , राजनीति चल्दैन लगायत लगभग ३०० जति गीतमा निर्देशन सहित सम्पादन गरेका निशानले  गुरु दक्षिणा, सिग्नेचर, मेरो कथा, अदृश्य लगायत लगभग १ दर्जन चलचित्रको सम्पादन, कलर करेक्सन र ग्राफिक्स गरेका छन्। १०० भन्दा बढी टिभिसी सम्पादन गरेका उनले  क्वीज मिनिया, स्पेल बि, बिबिसी साझा सवाल, समायोजन, सङ्गीत तरङ्ग,  त्रिवेणी जस्ता टेलिभिजन शोहरुको सम्पादन गरेका छन्।

निशानले हालसम्म विन्ध्यवासिनी म्युजिक अवार्ड २०१० र २०१८ म्युजिक खबर अवार्ड २०१६, रापती म्युजिक अवार्ड २०१६, इमेज अवार्ड २०१८, हिमालय इन्टरनेशनल अवार्ड २०२२ सहित दर्जन भन्दा बढी पुरस्कार पाएका छन् भने दोस्रो क्वालिटी म्युजिक अवार्ड २०२२ बाट राष्ट्रिय दृश्य सम्पादकका रूपमा सम्मानित भएका छन्।

म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष समेत रहेका निशानले सन् २०१८ मा वातावरण सम्बन्धी निर्माण गरिएको `मिलान कोली´ गीति वृत्तचित्रका लागि सम्पादकका रूपमा राष्ट्रपतिको हातबाट ताम्र पत्र सहित सम्मान पाएका थिए।

काम गर्ने सिलसिलामै राजधानीको जमलमा रहेको माया एकेडेमीमा ३ वर्ष ग्राफिक्स/ एनिमेसन पढेका निशानले विभिन्न टेलिभिजन, टेलिभिजन कार्यक्रम, कर्पोरेट हाउस, प्रोडक्सन हाउस, लगायत सय भन्दा बढी सङ्घसंस्थाहरूका कर्पोरेट लोगो एनिमेसन पनि गरेका छन्। आफ्नो काममा अति दत्तचित्त निशानमा पेसागत इमानदारिता छ। उनले हालसम्म स्व. आलोक नेम्वाङ, भूषण दाहाल, विशाल भण्डारी, निकेश खड्का, लगायतका म्युजिक भिडियो निर्देशक र सुरेश पौडेल, रमेश केसी, प्रेम वानिया, सुनिल कोइराला लोकराज अधिकारी लगायत सर्जक सञ्चार कर्मीहरू सँग सहकार्य गरेका छन्।