देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएमा भद्रगोल

लोकतान्त्रिकले टुंग्यायो अध्यक्ष र महासचिव

देशान्तर

काठमाडौं । एक पटकको नेपाली सधैंको नेपाली नाराका साथ २००३ मा  गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) दुई दशकपछि अहिले आएर भद्रगोल अवस्थामा पुगेको छ । अघिल्लो दसौं अधिवेशनमा तीन अध्यक्ष, आधा दर्जन उपाध्यक्ष, दुई महासचिव बनाउँदा पनि शेष घले समूह टुक्रिएपछि दुई वटा हुन पुगेको एनआरएनए अहिले एकता गर्ने भनिए पनि ‘ए कता’ को अवस्थामा पुगेको बुझिएको छ । पुरानो घले समूहले छुट्टै अर्को संस्था बनाउने चर्चा बजारमा छ, जसलाई कानुनीरूपमा सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । तर, अधिकांश सदस्य रहेको मूलधारको ११औं अधिवेशनको लागि लोकतान्त्रिक समूहबाट ३ जना (रविना थापा, महेश श्रेष्ठ र डा. केशव पौडेल) ले अध्यक्षमा दाबी गरिरहेको भए पनि अनौपचारिक रूपमा यो समूहले अध्यक्षमा जापानका महेश श्रेष्ठ र महासचिवमा अमेरिकाका निवर्तमान एनसीसी अध्यक्ष बुद्धिसागर सुवेदीलाई टुंग्याएको निर्वतमान अध्यक्ष कुल आचार्यले देशान्तरलाई बताएका छन् । 

अहिलेसम्म ७ जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि भद्रगोल बनेको एनआरएनलाई व्यवस्थित गराउनका लागि लोकतान्त्रिक समूहले वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका महेश श्रेष्ठलाई अघि बढाउने सहमति भएको आचार्यले बताए  । अर्का अध्यक्षका उम्मेदवार डा. पौडेललाई उपाध्यक्ष बनाउने सहमति भएको पनि बुझिएको छ । 

अहिले एनआरएनका नेताहरू अधिकांश लन्डनमा पुगेको र त्यहाँ छलफल गरेर लिस्ट सार्वजनिक गर्ने बताइएको छ । यस्तै, अध्यक्षमा डा. बद्री केसीले पनि तयारी गरेका छन् । तर, महेश श्रेष्ठ नै उम्मेदवार हुने भए पछि उनी अहिले दबाबमा परेको बुझिएको छ । जसका कारण बद्रीले अहिले प्रतिनिधि दर्ताको काम अघि बढी रहेकाले त्यो सकिए पछि मात्रै स्थितिको आकलन गरेर अघि बढ्ने रणनीति लिएका छन् । उनी एमाले निकट हुन् । यस्तै माओवादी निकट आरके शर्माले पनि अध्यक्षको तयारी गरेका छन् । उनी सत्तारूढ गठबन्धनभित्र रहेकाले सहमति जुटाउनका लागि पनि पहल भइरहेको बुझिएको छ । यस्तै, युवा एनआरएनए अभियन्ता विनय अधिकारीले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरे पनि उनको टिमको बारेमा केही खुलेको छैन ।

अध्यक्षपछिको शक्तिशाली पद महासचिव पदका लागि उम्मेदवारी घोषणा गर्ने दुई जना नै अमेरिकाबाट रहेका छन् । वर्तमान महासचिव गौरी जोशी र एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले घोषणा गरेका हुन् । वर्तमान महासचिव जोशी कम्युनिस्ट भए पनि अमेरिकामा रहेका कांग्रेसीहरूको साथका कारण यहाँसम्म आइपुगेको बताउने गरिन्छ । अहिले लोकतान्त्रिक समूहबाटै बुद्धिसागर सुवेदी महासचिवको आधिकारिक उम्मेदवार बनेकाले आसन्न महाधिवेशनमा अमेरिकाको मत प्रस्टरूपमा विभाजित हुनेछ । सर्वाधिक मतभार रहेको युरोप र गल्फपछि अमेरिका हो । पछिल्लो समय एनआरएनएभित्रको लफडाका कारण धेरैले सदस्यता नवीकरण गरेका छैनन्, जनजाति मूलकाहरू अर्को एनआरएनएमा जाने सम्भावना पनि बढ्दै गएको छ ।

जीवाको परीक्षण 

एनआरएनएका संस्थापकमध्येका एक हुन् जीवा लामिछाने । रसियामा व्यवसाय गर्ने जीवाको नेपाली कांग्रेससँगको सम्बन्ध सुमधुर रहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसद्को टिकट दुईदुई पटक दिँदा पनि नलिएको भनेर आफू निकटलाई गफ दिँदै हिँड्ने गरेको जीवाले आसन्न एनआरएनएको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भनेर दबाबमा परेका हुन् । यस पटकको चुनावमा लोकतन्त्रवादी समूहबाट जापानका महेश श्रेष्ठ अघि सर्ने सहमति भइसकेको छ भने वद्री केसीले पनि उम्मेदवारी घोषणा भने गरेका छन् । महेशले एनआरएनएमा जीवा लामिछानेलाई आफ्नो ‘गडफादर’ भन्दै आएका छन् ।

बद्री पनि जीवासँग भर परेका छन् । यता, काठमाडौंमा लोकतन्त्रवादी समूहले अध्यक्षको उम्मेदवार टुंग्याउँदा पटकपटक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जीवालाई भेट्न खोज्दा पनि उपलब्ध हुन सकेका थिएनन् । यस्तै, संस्थापक उपेन्द्र महतो भने महेशको पक्षमा देखिएका छन् ।

८६ देशमा संगठन रहेको एनआरएनएका एनसीसीहरूको अधिवेशन सम्पन्न भइसकेको छ भने केन्द्रीय अधिवेशन (आईसीसी) का लागि अहिले सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूलाई औपचारिक रूपमा निमन्त्रणा हस्तान्तरण गरिसकेको छ । एनआरएनएको निर्वाचन र विश्व सम्मेलनका लागि नेपालको परराष्ट्र मन्त्रालयले फेसिलेट गर्ने गरेको छ । अब एक, दुई दिनमा परराष्ट्रले त्यसका लागि एउटा समिति नै गठन गर्ने जनाएको छ ।

उपमहासचिवमा सिटौलाको दाबी 

एनआरएनएको उपमहासचिव पदमा प्रमोद सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । अक्टोबरमा काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि सुरुदेखि नै एनआरएनएको अभियानमा सक्रिय सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

वर्तमान कार्यसमितिमा सचिव रहेका सिटौलाले एनआरएनएको सचिवालय व्यवस्थित गर्नका लागि आफ्नो पहल हुने बताएका छन् । यसैगरी अहिले सुरु भएको स्मार्ट एनआएनएको अवधारणालाई अझ सफल बनाउनका लागि र सबैलाई साथमा लिएर साख बढाउने काम गर्ने बताएका छन् । 

एसिया आरसीमा न्यौपानेको घोषणा 

गैरआवासीय नेपाली संघ एनआरएनको आसन्न महाधिवेशनका लागि युवा व्यवसायी प्रदीप न्यौपोनले पनि उम्मेदवारी घोषणा गरेका छन् । चीनलाई कर्मथलो बनाएको न्यौपाने त्यहाँ एनआरएनएको अध्यक्ष भएर काम गरिसकेका न्यौपाने अहिले आईसीसी सदस्य तथा एसिया प्यासेफिक क्षेत्रको सचिव रहेर काम गरिरहेका छन् ।

उनै प्रदीपले अक्टोबरमा हुन लागेको ११औं विश्व सम्मेलन तथा महाधिवेशन (२०२३–२५) कार्यकालका लागि एसिया प्यासिफिक आरसी (एसिया क्षेत्रीय संयोजक) पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएन मुभमेन्टमा सक्रिय प्रदीप साउथ चाइनाका लागि चेम्बर अफ कर्मसको प्रतिनिधि पनि भएर काम गरिसकेका छन् । कोभिड—१९ का बेला चीनलगायत विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री ल्याउने काममा सक्रियतापूर्वक लाग्दै सफलता हासिल गरेका थिए । 

पछिल्लो समय एसियाली रिजनमा एनआरएनएप्रति युवाहरूको आकर्षण कम हुँदै गएको बताउँदै त्यसलाई पुरानै अवस्थामा फर्काउन र युवाहरूलाई जोड्नका लागि आफूले संयोजकमा उम्मेदवारी घोषणा गरेको प्रदीपले बताएका छन् ।