देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीमा घर र विद्यालय पहिराको जोखिममा

देशान्तर

काठमाडौं – वर्षाका कारण बैतडीमा दुई घर र विद्यालय भवन पहिराको जोखिममा परेका छन् । जिल्लाको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा पुर्चौंडी नगरपालिका ६ स्थित भटेडी भन्ने स्थानमा पहिरो खस्दा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन् ।

पहिरोले घरको आँगनमा क्षति पु¥याएको र पानी पर्ने क्रम जारी रहेकाले थप क्षति बढ्नसक्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुले सो ठाउँमा पुगेर पीडित परिवारलाई सहयोग गर्ने बचन दिएका छन् ।

अनुगमनका क्रममा जोखिममा रहेका परिवारलाई अस्थायी बसोबासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने, उक्त घरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयका तर्फबाट पर्खाल निर्माण गर्ने र क्षतिको विवरण सङ्कलन गरी आवश्यक सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

यस्तै दशरथचन्द नगरपालिका १ स्थित जगदम्बा आधारभूत विद्यालय पनिपहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण विद्यालयको आँगन जोगाउन लगाइएको पर्खाल भत्किएको छ । करिब ३० मिटर लामो पर्खाल भत्केर भीर बनेको विद्यालयका शिक्षक अम्बादत्त बडुले बताए ।आँगन जोगाउन लगाइएको पर्खाल भत्किएपछि विद्यालय भवनसमेत जोखिममा परेको छ ।

वर्षासंगैको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका २ स्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छानो उडाएको छ । हावाहुरीले उक्त विद्यालयका ४ कोठाको जस्तापाता उडाएको शिक्षक जनबिक्रम धानुकले जानकारी दिए। छाना उडाउँदा रु चार लाख ५० हजार बराबरको धनमाल क्षति भएको विद्यालयले जनाएको छ ।