देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किसुनजीबाट सिकौं  

देशान्तर

नेपालको प्रजातान्त्रिक आन्दोलनको शीर्ष व्यक्तित्व सन्तनेता कृष्णप्रसाद भट्टराईको अस्ति फागुन २० गते ११ औं स्मृति दिवस हो  । ११ वर्षअगाडि २० फागुन २०६७ का दिन नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् योद्धा कृष्णप्रसाद भट्टराईले यो संसारबाट देह त्याग गर्नु भएको थियो ।

भारतको आध्यात्मिक सहर वाराणासीमा अध्ययनकै क्रममा रहेका बखत भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भएको बेला पहिलो पटक पक्राउ पर्नु भएका भट्टराई विसं. २००३ सालमा नेपाली कांग्रेसको स्थापना हुँदा संगठन महामन्त्री हुनु भएको थियो । २००७ सालको जनक्रान्तिको एक कमान्डर भट्टराई जनक्रान्तिको सफलता पछि सानो उमेरमा नै सल्लाहकार परिषद्को सभाध्यक्ष, र २०१५ सालको आमनिर्वाचनपछि केवल ३४ वर्षको उमेरमा नेपालको पहिलो जननिर्वाचित संसद्को सभामुख हुनु भएको थियो । सभामुख पदमा रहेर निष्ठापूर्वक संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न विशेष भूमिका खेल्दै गरेको बेला राजा महेन्द्रले १ पुस २०१७ मा प्रजातन्त्रको गला निमोठेर निरंकुश कदम चालेपछि त्यसै दिन पक्राउ पर्नु भई लगातार १० वर्ष कठोर कारावास पर्नु भएको थियो । योसमेत निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध भएको विद्रोह र आन्दोलनको क्रममा १४ वर्षभन्दा लामो समयसम्म जेलजीवन बिताउनु भएको थियो ।

२०४६ सालमा जनआन्दोलनको सफलता पछि प्रजातन्त्र पुनस्र्थापना भएपछि उहाँ अन्तरिम सरकारको प्रधानमन्त्री बन्नु भई एक वर्षभित्रमा संविधान निर्माण गर्ने र संसदीय निर्वाचन सम्पन्न गरी जननिर्वाचित प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरी प्रजातन्त्रलाई संस्थागत विकास गर्न उहाँले खेलेको भूमिकाको सबैले प्रशंसा गर्ने गर्दछन् । उहाँले १५ वर्ष कार्यवाहक सभापति र ५ वर्ष निर्वाचित सभापति भएर लगातार २० वर्ष देशको प्रजातान्त्रिक आन्दोलनको अग्रणी एवं ऐतिहासिक दल नेपाली कांग्रेसको सफलतापूर्वक नेतृत्व गर्नु भएको थियो । २०५६ सालको आम निर्वाचनपछि गठित नेपाली कांग्रेसको एकमना सरकारको नेतृत्व गर्नु भएका सन्तनेता कृष्णप्रसाद भट्टराईले २०२७ सालमा १० वर्षको कठोर कारावासबाट मुक्त भएपछि उहाँले निर्वासनको जीवनलाई रोज्नु भएन र देशमै बसेर प्रजातान्त्रिक आन्दोलनलाई ऊर्जा भर्ने काम गर्दै युवा विद्यार्थीलाई प्रजातान्त्रिक आन्दोलनप्रति निरन्तर अभिप्रेरित गरिहनु भयो ।

शान्ति र अहिंसावादी नेता किसुनजी एक राष्ट्रप्रेमी नेताको रूपमा समेत विशेष परिचित हुनुहुन्थ्यो । प्रधानमन्त्रीको हैसियतमा छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणका क्रममा भारतीय पत्रकारहरूका माझ उहाँले राख्नु भएको राष्ट्रवादी दृढ अडानलाई नेपाली राजनीतिक इतिहासमा विशेष घटनाको रूपमा लिने गरिन्छ । २०४७ सालमा छाता टेक्दै एउटा सुराई र ट्यांका लिएर अन्तरिम प्रधानमन्त्रीका हैसियतमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नु भएका किसुनजीले नयाँ सरकार गठनपछि प्रम निवासबाट भानिजको घरमा सर्दा छाता टेकेर त्यही एउटा सुराई र ट्याङ्का बोकेर प्रम निवास छोड्नु भएका सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा त्याग, निष्ठा, सदाचार र आदर्शको पर्याय मानिनु हुन्छ, त्यस कारण पनि नेपाली राजनीतिले उहाँलाई सन्तनेताको रूपमा सम्मानित गर्दै आएको छ ।
नेपाली राजनीतिले सन्तनेता कृष्णप्रसाद भट्टराईको सदाचार, निष्ठा र आदर्शको राजनीतिको बाटोलाई पछ्याउन सकेन । उहाँले जीवन बिताएको मुलुकको प्रजातान्त्रिक आन्दोलनको पर्याय बनेको नेपाली कांग्रेसले समेत किसुनजीको सदाचार, आदर्शको र मूल्यको राजनीतिलाई पछ्याउन सकेन । जसको कारण आज नेपाली कांग्रेसमा मात्र होइन, सिंगो नेपाली राजनीतिमा मूल्य, विचार र आदर्शको राजनीति हराउँदै गएको छ, राजनीति डनवाद र धनवादमा रूपान्तरित भइरहेको छ ।

नेपाली राजनीतिलाई राष्ट्रप्रेम, विचार र आदर्शको बाटोमा हिँडाउन सकेनौं भने राजनीतिमा व्याप्त भ्रष्टाचार, व्यभिचार र बेथितिलाई हटाउन सकिन्न, राजनीतिमा देशभक्तिको विचार र भावना मर्नेछ । सन्तनेता कृष्णप्रसाद भट्टराईलाई सम्मानपूर्वक स्मरण गर्ने भने नेपाली राजनीतिलाई राष्ट्रप्रेम, विचार र आदर्शको मार्गबाट हिँडाउन सबैले प्रण गर्न जरुरी छ । सन्तनेता किसुनजीको ११ औं वार्षिक स्मृति दिवसका अवसरमा देशान्तर साप्ताहिक किसुनजीप्रति सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछ ।