देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मूल्य निर्धारण नहुँदै मिललाई उखु बुझाउन किसान बाध्य

देशान्तर

काठमाडौं– सरकारले मूल्य तोक्न नसकेपछि उखु किसानले मूल्य निर्धारण नहुँदै मिललाई उखु बुझाउन थालेका छन् ।

बिहीबारदेखि सञ्चालनमा आएका चिनी मिललाई कमजोर आर्थिक अवस्था भएका किसानहरुले उखु बुझाउन बाध्य भएको उखु उत्पादक महासंघले जनाएको छ ।

‘सरकारले मूल्य तोकेन, हामीले गरेको मूल्य प्रस्ताव उद्योगीले मानेनन्,’ उखु उत्पादक महासंघका अध्यक्ष कमिलमुनी मौनाली भने, ‘कमजोर आय भएका किसानले मिलहरुलाई उखु पुर्‍याइरहेका छन् ।’ मिललाई नदिँदा खेतमा उखु सुकेको र ऋण काडेर खेती गरेका किसान डराएको उनले बताए ।

मिलसँग उखुको मूल्य भुक्तानी लिन पनि किसानहरुले कुनै सम्झौता नगरी उखु दिन थालेको महासंघले जनाएको छ ।

धेरै किसानहरु भने मिलसँग सम्झौता गरेर मूल्य र भुक्तानीमा निश्चित हुन चाहे पनि मिलहरु नमानेको अध्यक्ष मैनालीले बताए । ‘सरकारले मूल्य नतोके पछि मिलसँग सम्झौता गरौंन त भनेर प्रस्ताव गरेका थियौं, तर उनीहरु मानेनन्’ उनले भने ।

पुस १५ गतेदेखि चलेका चिनी मिलका लागि पछि सरकारले तोके बमोजिम हुनेगरी भन्दै किसानले उखु बुझाए पनि पछि भुक्तानीका लागि उद्योगीले कुनै सिट रोल नबनाएको महासंघले जनाएको छ ।

यो वर्ष उखु क्रसिङका लागि ११ वटा मिलले तयारी थालेकोमा बिहीबारदेखि ७ वटा मिल सञ्चालनमा आएको चिनी उत्पादक महासंघले जनाएको छ । बाँकी चार वटा मिल एक दुई दिनमै सञ्चालनमा आउने महासंघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए ।

सिरहाको हिमाल चिनी मिल, महोत्तरीको एभरेष्ट चिनी मिल, सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिल, सर्लाहीकै महालक्ष्माी सुगर मिल, रौतहटको बैजनाथ चिनी मिल, बाराको रिलायन्स चिनी मिल, कैलालीको महाकाली र भागेश्वरी चिनी मिलले यो वर्ष उखु क्रसिङ गर्दैछन् ।