देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मर्मस्पर्शी जीवनको कलात्मक प्रस्तुति कुमारी

देशान्तर

उपन्यासकार डिल्लीजङ गुरुङद्वारा २०१७ सालमा रचिएको कुमारी गद्यपद्य मिश्रित नारी समस्या प्रधान अध्यात्मकेन्द्री उपन्यास हो । यसभित्र बालविधवा युवती र आमाबुबाकी एकमात्र सन्तान १८ वर्षमै एम.ए. गरेकी युवती चम्पाका कथाव्यथाहरू समेटिएका छन् । उनीहरूको आत्मकथालाई लेखकले प्रथम पुरुष शैलीका कथन ढाँचाबाट प्रस्तुत गरेका छन् ।

बेलायतमा बसेर त्यहाँको रहनसहनमा हुर्केकी र नेपाललाई बेलायतजस्तै बनाउने चाहना भएकी यस उपन्यासकी नायिका चम्पा हो । रजस्वला नहुँदै विहे गर्नुपर्ने अन्यथा ऊ अपवित्र हुने तत्कालीन नेपाली समाजमा विद्यमान नारीहरूको बाध्यता र विवशता यस उपन्यासकी नायिका चम्पाले भोगेकी छ । त्यसैले त्यस्तो समाज परिवर्तनको चाहना गर्दै नारी किनबेच प्रथा, बालविवाह र अनमेल विवाहप्रति विद्रोहको स्वर यहाँ पाइन्छ । पढेलेखेकी भए पनि आफ्ना आमाबुबाको मृत्युपछि शोकविहृवल बनेकी चम्पाको जीवनकथा अत्यन्त कारुणिक देखिन्छ । यसले करुण रसको प्रवाह गराएको छ ।

उपन्यासमा मर्मस्पर्शी जीवनको कलात्मक प्रस्तुति रहेको छ । यहाँ नियति निर्दिष्ट मान्छेको अवस्थालाई निकै रोचक पारामा प्रस्तुत गरिएको छ । आमाबुबा गुमाएर संसारमा एक्लो भएकी टुहुरी चम्पामा अध्यात्मचिन्तनले प्राप्त भएको आत्मिक शान्तिलाई हेर्दा अध्यात्मज्ञान नै मनुष्य जीवनको सर्वोच्च प्राप्ति भएको ठहर गर्न सकिन्छ । पूर्वीय दर्शनको अनुसन्धानका दृष्टिले उपन्यास अध्ययनीय छ ।

काठमाडौंका विभिन्न स्थानहरूको रोचक एवं मार्मिक चित्र यहाँ खिचिएको छ । यस कृतिमा लेखक भगवतगीताको स्थितप्रज्ञ (दुःखसुखमा सम भाव) र जीवनको अध्यात्मवादी चेतनाबाट निकै प्रभावित भएको पाइन्छ । यहाँ प्रकृतिप्रेमका साथै प्रकृतिको मानवीकरण गरिएको छ । प्रकृतिका विविध वस्तुहरू एक्ली चम्पाका कुराकानी गर्ने साथी बनेका छन् ।

भौतिक सुखमा नपाइने अमूल्य वस्तुहरू अध्यात्मचिन्तनबाट पाइने लेखकको दृष्टिकोण रहेको छ । “छोटे कमारीलाई न उठी सुख न बसी सुख” जस्तो उखान प्रयोगले भाषिक सुललितता पैदा भएको छ । “परमात्मा जो करेगा भला हि करेगा” जस्तो उखान प्रयोगले हिन्दी भाषाको प्रभाव र पात्रअनुकुल संवाद रहेको तथ्य फेला पर्छ । कविताखण्डमा यस उपन्यासकी नायिका आफैले तयार पारेको कविता अर्की बालविधवा युवतीलाई आत्मकथनात्मक शैलीमा प्रस्तुत गरिएको छ । आलङ्कारिक छटा तत्सम शब्दको बाहुल्य तर सरल शैली यसका उपलब्धी हुन् ।

सहरी सभ्यतामा हुर्केका तर सम्पूर्ण कुरा नबुझेका युवतीहरूलाई पनि यसले असल नारी बन्ने प्रेरणा प्रदान गर्छ वा मार्गदर्शन गर्न सक्छ । यौवनलाई खेर नफाली नारी पुरुष मिलेर सभ्य समाजको निर्माण गरी अध्यात्म चिन्तनमा लाग्नुपर्ने सन्देश यसले दिएको छ । कुनै कुरा पूर्ण हुन जोडीको अति आवश्यकता हुन्छ भन्ने कुरामा जोड दिँदै यसो भनिएको छ :

“युगल तत्वले बन्छ मानव युगलमै छ यो विश्व वास्तव”
(श्लोक १८)

उपन्यासको सम्पादन गर्दा सकेसम्म लेखकको मौलिकता मासिएको छैन । उपन्यासले २०१७ सालमै समाजमा हलचल ल्याउनुपथ्र्यो तर छापिएन । अन्त्यमा आफ्ना पितापुर्खाको योगदानलाई समाजसामु ल्याउने सत्कार्य गर्नुहुने आदरणीय मेजर गोपाल गुरुङप्रति हार्दिक बधाई !