देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको निर्वाचन समितिले पदाधिकारीसँग छलफल गर्दै

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरूसँग छलफल गर्दैछ । रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो । महाधिवेशन कार्यतालिकाअनुसार गएको भदौ १८ गते वडा अधिवेशन थालेको कांग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भएका छन्।

तल्लो तहको अधिवेशन प्रक्रिया सुरु भएको ६४ जिल्लामध्ये अहिलेसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सकिएको छ भने १३ वटा जिल्ला अधिवेशन भएको छ । दशैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए पनि रसुवामा अधिवेशन प्रक्रिया नै सुरु भएको छैन । त्यस्तै, प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेतमा पनि अधिवेशन प्रक्रिया सुरु भएको छैन ।

रसुवा र रौतहटको क्रियाशील सदस्यता विवाद अहिलेसम्म मिलेको छैन । बाँकी ११ जिल्लामा अधिवेशन प्रक्रिया सुरु गर्नेबारे हिजो केन्द्रीय निर्वाचन समितिको बैठकले नयाँ कार्यतालिकाको खाका तयार गरेको छ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार त्यही खाकाबारे आज पदाधिकारीसँग छलफल गर्न लागिएको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार कांग्रेसको असोज १८ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने थियो भने भोलिदेखि १२ गतेसम्म प्रदेश अधिवेशन हुनु पर्ने थियो ।