देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यवसायीले बुझाउनुपर्ने कर विवरणको समय बढाउन महासंघको माग

देशान्तर

नेपाल उद्योग वाणिज्य महासङ्घले व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग आग्रह गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएको हो ।

अर्थमन्त्री पौडेलले महासङ्घका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरुको कार्यान्वयनमा सक्दो सहयोग गर्ने विश्वास दिलाएका छन् । गत आ.व.को अन्तिम साढे तीन महिना लकडाउन र चालू आवमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले लेखापरीक्षण समयमै गर्न नसकेकाले विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरेको हो ।

व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आफ्नो अघिल्लो आवको लेखापरीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

त्यस्तै पुस मसान्तसम्मका लागि तोकिएको ऋण तिर्ने म्यादलाई कम्तीमा तीन महिना पर सारिदिन पनि महासंघले आग्रह गरेको छ । साना तथा मझौला उद्योगले उत्पादन गर्ने सामान स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएको महासंघको भनाइ छ ।

म्याद नथपिए ५० प्रतिशतभन्दा बढी साना–मझौला उद्यम बन्द हुने अवस्थामा पुग्ने बताइएको छ । यो बाहेकपनि छुट्टै रिकभरी योजना अगाडि सारेर कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवर्द्धनलगायतको प्याकेज ल्याउन पनि महासंघले ध्यानाकर्षण गराएको छ ।