देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति अस्ट्रेलियाका प्रतिनिधि र कांग्रेस नेताबीच अन्तर्किया

देशान्तर

सिड्नी । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका प्रतिनिधिहरूले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वरिष्ठ नेता अर्जुननरसिंह केसी एवं केन्द्रीय सदस्य शंकर भण्डारीसँग कोभिड– १९ र अन्य समसामयिक राजनीतिक विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका छन् ।

भिडियो प्रविधि जुममार्फत गरिएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा अस्ट्रेलियाका आठवटै राज्य समितिका संयोजकसहितका प्रभावशाली व्यक्तित्वहरूले नेताहरूसँग कोभिड– १९ को प्रभाव र नेपालको राजनीतिक विषय तथा जनसम्पर्क समितिको प्रभावकारिताका बारेमा छलफल गरेका थिए । नेता केसीले कारोनाको संक्रमणबाट बच्नु र बचाउनु ठूलो चुनौती भएको बताउँदै सबैलाई सर्तक र संयमित हुन आग्रहसमेत गरे ।

नेता केसीले नेपालमा ओली सरकारले कोभिड– १९ बाट नेपाली जनतालाई सुरक्षित राख्न लकडाउनबाहेक अन्य कुनै काम गर्न नसकेको बताए । केसीको भनाइ थियो– “कोभिड– १९ को विषयमा सरकारले बहस नै गरेको छैन । सरकार आफ्नै पार्टीको जोड घटाउमा व्यस्त छ ।” सरकार भ्रष्टाचारमा लिप्त भएको कारण समयमा कोरोना टेस्टिङ किटहरू आउन नसकेको उनको आरोप थियो । नेपाली नागरिकलाई नेपाल आउन रोक्नु गैरसंवैधानिक भएको उनले बताए ।

यसैगरी केसीले कार्यकर्ता स्तरबाट नै पार्टी नेतृत्वको विकास हुनुपर्ने औल्याउँदै नेपाली काग्रेसको वर्तमान नेतृत्वप्रति पनि असन्तुष्टि व्यक्त गरे । पार्टीभित्र सभापति निकट व्यक्तिहरूले मनपरी गरिरहेको उल्लेख गर्दै लोकतन्त्रको लागि लडेको पार्टीभित्र लोकतान्त्रिक पद्धति विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे । विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई प्रभावकारी बनाउन पार्टीले सर्वप्रिय व्यक्तित्वहरूलाई नै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा लैजानु पर्ने धारणा राखे ।

अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले सरकार भ्रष्ट र गतिहीन रहेको आरोप लगाउँदै कम्युनिस्टहरूले सामाजिक विसंगति र द्वन्द्वको स्थिति सिर्जना गरेको बताए । केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेसले निष्पक्ष ढंगले पार्टी संगठनलाई अगाडि बढाउनुपर्ने र यसका लागि केन्द्रीय समितिमा बहस गर्न र आफ्नो अडान कायम राख्न सदैव लागि पर्ने प्रतिबद्धता जनाए ।

अन्तक्र्रिया कार्यक्रममा एनआरएनए अध्यक्ष केशव कँडेलले कोभिड– १९ को प्रभाव र एनआरएनका कामकारबाही र सक्रियताबारे विस्तृत रूपमा जानकारी गराएका थिए । अध्यक्ष कँडेलले विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्कन सक्ने वातावरण तयार गर्न नेपाल सरकारसँग पहल गर्न नेताहरूलाई आग्रह गरेका थिए । यसैगरी एनआरएनए महासचिव ज्ञानेन्द्र रेग्मीले एनआरएनको सक्रियता र जनसम्पर्क समितिको विवादका विषयमा आफ्नो धारणा राखे ।

नेपाली जनसम्पर्क समिति क्यानबेरा संयोजक अशोक सुवेदीले संयोजन गरेको छलफल कार्यक्रममा नर्दन टेरोटोरीका संयोजनक सविन बराल, क्विन्सल्यान्डका संयोजक अभिमन्यु केसी, न्यु साउथ वेल्सका संयोजक इथान शाक्य, भिक्टोरियाका संयोजक विनित शर्मा, साउथ अस्ट्रेलियाका संयोजक अर्जुन लम्साल, वेस्टर्न अस्ट्रेलियाका संयोजक दीपक पराजुली र तास्मनियाका संयोजक द्वारिका दवाडी, जनसम्पर्क समितिका संस्थापक संयोजक दिनेश जोशी, एनपिसीसीका उपाध्यक्ष मधुकर गुरुङ, एनपीसीसीका सहमाहामन्त्री सायमन मुडभरी, जनसम्पर्क समिति न्यु साउथ वेल्सका उपाध्यक्ष रामजी बस्नेत, नेपाल पत्रकार संघ अस्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, सूर्य खनाल, दिनेश बञ्जारा, कञ्चन पोखरेललगायतले छलफलमा आआफ्ना विचारहरू राखेका थिए । यसैगरी नेपलिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (NDAF)का अध्यक्ष सुरेन्द्र सापकोटा तथा पूर्वअध्यक्ष विवेक थापाले आआफ्ना विचारहरू राखेका थिए ।

अधिकांश सहभागीहरूले कोरोना संकटको समयमा विदेशमा अप्ठ्यारो परिस्थितिमा रहेका नेपालीहरू नेपाल फर्किन पाउनुपर्ने वातावरण बनाउन सरकारसँग पहल गरिदिन नेताद्वयलाई अनुरोध गरेका थिए । छलफलमा जनसम्पर्क समितिका विभिन्न राज्यका अध्यक्षहरूले जनसम्पर्क समिति अस्ट्रेलियाको जनसम्पर्क समिति अधिवेशन तयारी समितिको संयोजकमा गलत व्यक्तिलाई चयन गरेकोमा आपत्ति जनाउँदै केन्द्रले संयोजक तोकेको व्यक्तिबाट जनसम्पर्क समिति अस्ट्रेलियााको महाधिवेशन हुन नसक्ने जिकिर गरेका थिए । क्विन्सल्याण्डका संयोजक अभिमन्यु केसीले जनसम्पर्क समितिको विवाद विवादास्पद व्यक्तिलाई अध्यक्ष बनाएर झनै मिल्न नसक्ने प्रष्ट पारे । यसैगरी नर्दन टोरोटोरीका संयोजक सविन बरालले जनसम्पर्क समितिलाई सामाजिक अभियानका रूपमा अगाडि बढाउन सकियोस् भन्ने आफूहरूको प्रयास रहेको तर केन्द्रीय नेतृत्वले वास्तविकता नबुझी गलत निर्णय गरिदिँदा आफूहरू निराश बनेको अभिव्यक्ति दिएका थिए । एनपीसीसीका उपाध्यक्ष मधुकर गुरुङले संस्थाका अध्यक्ष कृष्ण गिरीलाई महाधिवेशन तयारी समितिको संयोजक तोके पनि गिरीले केन्द्रले दिएको म्यान्डेटअनुसार काम नगरी मनपरी तरिकाले काम गरेको आरोप लगाउँदै गिरीबाट महाधिवेशन हुन नसक्ने जिकिर गरेका थिए । गुरुङको भनाइ थियो– संयोजक हुँदाहुँदै गिरीलाई लोभले छोडेन । राम्रो वातावरण बनाएर जाउभन्दा उल्टो हामीलाई नै पार्टीबाट निकाल्न खोज्छ । “कसैसँग सल्लाह र जानकारी नगराइकन मनपरी ढंगले गरेर कसरी अधिवेशन हुन्छ”, गुरुङको आरोप थियो । एनपीसीसीका महामन्त्री सायमन भण्डारीले समेत अध्यक्ष कृष्ण गिरीको काम कारबाहीप्रति आपत्ति जनाउँदै केन्द्रले समयमा नेतृत्व परिवर्तन गरी अधिवेशन गराउनुपर्ने बताएका थिए ।

यसैगरी महासमिति सदस्य कञ्चन पोखरेलले परिवर्तित समय र परिस्थितिअनुसार पार्टीले आफ्नो रणनीति तयार गरी अगाडि बढ्नुपर्ने सुझाव दिए । छलफल कार्यक्रममा एनडीएफका अध्यक्ष सुरेन्द्र सापकोटाले विदेशमा अप्ठ्यारो परिस्थितिमा रहेका नेपालीहरूलाई नेपाल फर्कन नदिनु गैरसंवैधानिक कार्य भएकोले यसका निम्ति सरकारलाई दबाब दिन अनुरोध गरेका थिए । जनसम्पर्क समितिलाई उपेक्षा गर्न नहुने बताउँदै अध्यक्ष सापकोटाले केन्द्रले निष्पक्ष र प्रजातान्त्रिक प्रक्रियाबाट जनसम्पर्क समिति व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।