देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘हिराे र जिराेकाे दाेसाँधमा महामात्य ओली’

देशान्तर

आज मलाई प्रधानमन्त्रीकै वरिपरि परिक्रमा गर्न मन लागेकाे छ । परिक्रमाकाे अर्थ स्वस्ति वा सभक्ति पाउमा लम्पसार पर्ने अभिप्राय नबुझ्न पहिल्यै अवगत गराउँछु । प्रधानमन्त्री केपी वली पाेहाेर-परारसम्म मेरा नजरमा हिराे नै थिए । उनकाे तिखाे-चट्किलाे बाेली , निर्भीक र गतिशील चरित्र अनि नाकाबन्दीमा भारतविरुद्ध उभिएकाे उनकाे हिमालयझैँ छविले मजस्तै धेरै नेपालीलाई बिना सदस्यताका भक्त बनाएकाे थियाे ।

सायद त्यसकै लगानीमा उनले गत संसदीय निर्वाचनमा अत्यधिक बहुमतकाे टीकाे लाएर सिँहासनमा राज गर्ने औसर पाएका थिए । हाे, याे अपूर्व जनमत बटुर्नमा अन्य निमित्त कारणहरू पनि छन् । विपक्षी काङ्ग्रेसकाे अल्छीलाग्दाे र सुस्त शासनलाई जनताले लामाे समयसम्म भाेगिसकेका थिए । त्यसकाे वैकल्पिक लाभ पनि उनलाई प्राप्त भएकाे हाे र माओवादी नामक अर्काे जीवातसितकाे भुँडी जाेडाइले पनि यसमा थप प्रसाद मिलेकाे थियाे । दुवै पार्टीका आराध्यदेवता उनै लेलिन-स्टालिन-माओत्से तुङ र तिनले वरण गरेका मार्क्सिय सिद्धान्तकाे अनुकूलतामा त्याे अङ्कमाल त्यत्ति अस्वाभाविक पनि थिएन । दुवैकाे परम लक्ष्य वर्गीय समाजमा वर्गविहीनताकाे रामराज्य स्थापना गर्नु नै थियाे ।

केपी महाेदयकाे भव्य विजय र उनकाे प्रधानमन्त्रित्वलाई जनताबाट सुनाैलाे किरणकाे उदय हुन थालेकाे महसुस गरिएकाे थियाे । यसाे भनूँ -जनताले मुख मिठ्याउन थालेका थिए । सारा विश्वबाट तिथिबाह्य (Out dated) हुन थालेकाे शास्त्रीय पाराकाे सर्वसत्तावादी शासनप्रणालीकाे (भलै अन्तर्यमा पुँजीवादकाे तीव्र अभिलाषा किन नहुर्किएकाे हाेस् ) याे पुनरुत्थानले पुँजीवादी राष्ट्रकाे छातीमा पुनःएकपटक भूकम्पकाे धक्का महसुस गराएकाे थियाे -याे अर्काे रमाइलाे किम्बदन्ती थियाे ।

ओली महाेदय सिंहासनमा आरूढ भए । सुरुमै उनले लङ्का-पलङ्काका कुरा गरे । त्यसमा मान्छेहरूले जाेक्कर्‍याइँ देखे । मैले पनि विपक्षीकाे कुण्ठाले वमन गरेकाे “हाेला त नि” भनेर महाेदयमाथिकाे आफ्नाे आस्था बचाइराखेँ । उनले एकपछि अर्काे आकाश-पातालका कुरा गरिराखे । मैले फेरि पनि “हाेला त नि ” भनेर धिपधिपे बत्तीमा तेल खन्याइराखेँ । निर्मला पन्तदेखि पछिल्लाे काेराेना निराेधक सामग्री खरिदसम्मका घटनामा पनि ” उनी त चाेखै हाेलान् त नि ” भनेर चित्त बुझाएकै थिएँ तर एक मुठी गासकाे जाेहाे गर्न नसकेर आफ्नै भूमिमा शरणार्थी भएका ती दुखी आत्माहरूले पैताला फुटुन्जेल हिँडेकाे पनि चाल नपाउने र तिनका लागि यथाेचित व्यवस्थापन गर्न छाडी प्रतिक्रियावादीश क्ति, साम्राज्यवादी शक्ति, उग्र दक्षिणपन्थी, विपक्षीकाे मिथ्या अाराेप,कमलपित्ते पत्रकारिता जस्ता शब्दावलीले आफ्नाे कमजाेरी छाेप्न खाेजेकाे मेरै अाँखाले देखेपछि यिनी पनि गिरिजा-देउपा ब्रान्डकै मान्छे रहेछन् भन्ने त्यति नै स्पष्ट भएकाे छ जत्ति- पूर्णिमाका चन्द्रमा देखिन्छन् ।

यतिखेर म वाइडबडी,बालुवाटार जग्गा, सुन काण्ड,यति ग्रुप काण्ड र गाेकुल प्रकरण उठाउन चाहन्न । ती सुकेका गुहुलाई पानी छर्केर काेट्ट्याउनु भनेकाे थप दुर्गन्ध छर्नु हाे । र हालैमा राष्ट्रपतिमार्फत् जारी गराइएकाे अध्यादेशका बारेमा पनि मलाई काेक्याउनु छैन। याे विषयमा म अज्ञानी छु । आफूले नजानेकाे विषयमा म पहिल्यै हात उठाइदिन्छु । तैपनि यस बारेमा उपसंहारमा किञ्चित् मेरा टिप्पणी आइहाल्लान् । मेराे यतिखेरकाे निष्कर्ष वाक्य के हाे भने वली महाशयले जनतालाई हदैसम्म चिढ्याइरहेका छन् । उनकाे हठले पराकाष्ठा नाघेकाे छ । उनकाे बाेलाइमा राजनेताकाे बैखरी ( स्वर ) छैन । सहनशीलता भन्ने भाव विलुप्त भइसकेकाे छ । उनी धीरप्रशान्त राष्ट्रप्रमुख हैन कि छुच्चाे प्रतिक्रियामा रमाउने प्रतिपक्षीजस्ता भएका छन् । मेरा छेउँछाउँमा कस्ता परजीवी बाँचेका छन् र तिनका बारेमा आम मानिसकाे अभिमत के छ भनेर जाँच्ने उनकाे प्रज्ञा चक्षु धमिलाे भइसकेकाे छ । लाग्छ उनी धृतराष्ट्रकाे नयाँ स्वरूपमा आफ्नाे हस्तिनापुर बचाउन मात्रै लमलेट छन् । यस्ताे हाेस्ल्याङे पाराले उनका साखहरू पुरिँदै गएका छन् र याे अवस्था मुलुकका लागि स्वास्थ्यकर एक हैन, दुई हैन, तीन हैन ।

ओली ख्वामितकाे चहक एकैपटक धमिलाे भएकाे हैन र यसमा उनकाे सिङ्गल दाेष छ भन्न म चाहन्नँ तर नेतृत्वदायी भूमिकामा बसेकाे मान्छेले आफ्ना नजिकमा आफूजस्तै विचारधाराकाे मान्छे राख्नुपर्छ , पार्श्ववर्तीहरूले हस्तिनापुरकाे राजलाई कतै चपरीमुनिकाे वासमा पुर्‍याउने त हैनन् भनेर वकाेध्यानी बन्नैपर्छ । लाै, व्यवहारमा नपरी मान्छे चिन्न सकिँदैन रे । एक दुईपटक प्रीतिका आँखाले दाेष पनि नदेख्ला रे , तर तारन्तार भूलपछि अर्काे भूल हुँदै गएपछि पनि त्यसलाई सुधार्नुकाे साटाे गहुँत छर्कने काम पाे गर्दैछन् उनी । राज्यकाे चाैथाे अङ्ग मानिने पत्रकार जगतले शङ्काकाे वक्तव्य फालेपछि उनले त्यसलाई विवेकी नजरले हेर्नुपर्ने हाे, त्यसमा उनले गम्भीर भएर “दूधकाे दूध पानीकाे पानी छुट्ट्याएर कारवाही गर्छु “भन्नुपर्ने हाे । ” तपाईँहरूलाई धन्यवाद छ, हाम्रा कमजाेरी देखाइदिनुभयाे , हामी सच्चिन्छाैँ” भन्नुपर्ने हाे । सुन्नुहाेस् उहाँकाे भाषण र हेर्नुहाेस् त उहाँकाे राैद्र मूर्ति ! उहाँ कति खराे भएकाे ! कति निम्छराे बाेलेकाे ! अपमानित गर्नमा उहाँलाई कति काउकुती लागेकाे ?

एक शासकलाई अनेक फत्तुर लाग्छन् ,कहिलेकाही नखाएकाे विष पनि लाग्न सक्छ , विपक्षी र आफ्नै गुटकाले पनि छिट्किनी हान्ने प्रयास गर्न सक्छन् । त्याे बेग्लै कुरा हाे । यहाँ सबै जनता विपक्षी त हैनन् नि ! जनताले आफ्नाे अनुभूतिमा कुनै तात्त्विक असर नभाेगेकाे त देखिएकै छ त ! केही हुनेखानेका छाेराछाेरीलाई विमानमै बाेकेर ल्याउने र भाेकप्यासले व्याकुल बिचरा सर्वहारालाई घरसम्म पुर्‍याउन नानाभाँतीका बल्छी थापेर “मरे मराेस् “मा रमाएकाे देखिएकै छ त ? त्यसैलाई पत्रिकाले लेखे भनेर अहंकारकाे फणा उठाउँदै तिनकाे हुर्मत लिन खाेज्नु झनै अत्यास लाग्दाे घटना भएकाे छ ।

वलीजीका समकक्षी माेदी पनि सवा अरब जनताका प्रधानमन्त्री हुन् । आजभाेलि उनीसित मधुर डिजिटल वार्ता पनि चलिरहेकाे छ । माेदीजीले जनतालाई गरेकाे सम्बाेधन एकपटक सुनिदिने फुर्सद मिलाए हुन्थ्याे नि ! उता माेदी छन् -जसका वचनामृतले सिकिस्त बिरामी जुरुक्क उठ्लाझैँ हुन्छ । जनतालाई सान्त्वनाकाे मलहमले सेकेकाे सेक्यै छन् । उनी पत्रकार ,विपक्षीलाई पनि उस्तै समादरणीय पदावली प्रयाेग गरेर आफ्नाे कद बढाउँदै छन् । यता हाम्रा महामहिम कि त निम्नस्तरका “जारगन”ले हँसाउँछन् कि त चाेथाले मुखले जग हँसाउँछन् ।

ताछेर बाेल्दा एक छिन आफ्ना प्रमथगणलाई आनन्दातिरेक त हाेला तर यहाँ स्वतन्त्र जनता पनि छन् । हिजाे काङ्ग्रेसले यही मैमत्ततामा जनतालाई तिरस्कार गरेकाले उसका लागि सत्ता भन्ने चिज अन्तरिक्षमा पाकेकाे फल बन्न पुगेकाे छ । के महामहिमले त्यही हविगत व्यहाेर्न खाेजेका हुन् ? हैन भने जनताकाे याे विलाप र उनका प्रमथगणकाे स्खलित हुँदै गएकाे चरित्रलाई सुधार्न किन चाहिरहेका छैनन् ? देश गहिराे सङ्कटमा फसेकाे छ । उनका मन्त्रीहरूमा कुनै हलचल देखिन्न । गृहमन्त्रीले ठाउँठाउँमा राहत वितरणका साथै जनतालाई घरसम्म पुग्ने वातावरण बनाउनुपर्ने हाे, स्वास्थ्यमन्त्रीले निजी अस्पतालले बिरामी हेर्नै नचाहेकाे निगरानी गर्नुपर्ने हाे, आपूर्तिमन्त्रीले कालाे बजारियाहरूकाे साताे खानुपर्ने हाे, शिक्षामन्त्रीले अवरुद्ध भएकाे पठनपाठनलाई कसरी व्यवस्थित गराउने बारेमा खप्पर फाेड्नुपर्ने हाे,अहँ, यिनीहरू चूपचाप छन्, मानाैँ भावातीत ध्यानमा डुबेका छन् । अरु बेला कुखुरा पसलकाे उद्घाटन गर्न समेत नचुक्ने यिनलाई फिल्डमा लखेट्नुपर्नेहरूलाई आराम गर्न दिएर मुलुकमा देखिएका अव्यवस्थालाई सब ठिकठाक छ भन्दै स्पष्टीकरण दिँदै हिँड्नु प्रधानमन्त्रीका लागि हग्नेलाई भन्दा देख्नेलाई लाजजस्ताे भएकाे छ ।

यतिखेर राष्ट्रिय सङ्कटकाे चुलिएकाे छ । भाेलिकाे कहालीलाग्दाे आर्थिक दुरवस्थाकाे चित्र अर्थशास्त्रीहरूले खिचिसकेका छन् । याे विषम घडीमा एकलव्य दृष्टिका साथ समस्या समाधानका खातिर सबैसित हातेमालाे गर्दै अगाडि बढ्नुपर्ने हाे तर उनी आफ्नै पार्टीका गुटउपगुटका तुसलाई निस्तेज पार्न अध्यादेशकाे लफडामा फसेका छन् । यसलाई उनकै कित्ताका महामनाहरू र स्वयं विपक्षी काङ्ग्रेसले समेत बेसुरकाे आलाप भनिरहेकाे छ । यसभित्रकाे अभीष्ट भाेलिले अवश्य बताउनेछ तर महाेदयका शृङ्खलाबद्ध “फाउल” (दाेषी)कर्मले उनकै पार्टी र समग्र देशमा अनिष्टकाे तुवाँलाे मडारिन थालेकाे पूर्व सङ्केत भइरहेकाे छ । याे दुई तिहाइकाे सरकार पनि टुटफुटकाे सिकारग्रस्तले असमयमै मृत्युवरण गरेछ भने त अब जनताले कसलाई किन भाेट हाल्ने भन्ने अर्काे जाज्वल्यमान प्रश्न आउने छ । , हेर्दै जाऊँ न त- हाम्रा महामात्यले विगतकाे हिराेकाे पगडी थामिराख्ने हुन् कि जिराेमा अवतरण गर्ने हुन् , थाेरै दिनमा पर्दा उघ्रिहाल्नेछ ।