देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वामदेवका लागि बैतडी सजिलो छैन

देशान्तर

नेपाली कांग्रेस बैतडी क्षेत्र नम्बर– २ का क्षेत्रिय सभापति तेजबहादुर चन्द सिंगो पार्टीलाई नयाँ संरचना अनुसार अगाडि बढाउने जिम्मेवारी अब युवा पंक्तिमा आएको बताउँछन् ।

भारतको मुम्बइबाट उच्च शिक्षा हासिल गरेर कांग्रेस र सिंगो देशलाई योगदान पुर्याउनेअठोट बोकेर स्वदेशमा सक्रिय चन्द बैतडीका परिचित युवा नेता हुन् । कांग्रेसमा सक्रिय भए पनि चन्द स्थानीय बासिन्दाको साझा उम्मेदवार प्रतिनिधिको रूपमा स्थापित छन् । पछिल्लो समयमा बैतडीमा पार्टी संगठन विस्तारमा जुटेका चन्दसँग देशान्तरले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेस नयाँ संरचनाअनुसार विधान बनाउने कार्यमा जुटेको छ । यस सम्बन्धमा यहाँलगायत कांग्रेसका युवा नेताहरूको चासो कस्तो छ ?

पार्टीलाई चुस्त र दुरुस्त बढीभन्दा बढी लोकतान्त्रिक बनाउन सहयोगी हुने गरी विधान बन्नुपर्छ भन्ने हाम्रो मुख्य चासो हो । पार्टीका हरेक संरचनाहरूलाई बलियो बनाउँदै पार्टीलाई थप मजबुत, सबल र सक्षम बनाउनका लागि नयाँ विधान चाहिएको हो । अहिले विधानको मस्यौदा बन्ने क्रममा छ ।

विधान समय सुहाउँदो र काम गर्न सजिलो हुने गरी बन्छ भन्ने आशा छ । लोकतान्त्रिक संस्कारलाई स्थापित गर्न सहज हुने विधान बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।

विधानमा पदाधिकारी बढाउने चर्चा पनि चलिरहेको थियो, प्रतिनिधि आउने सबालमा पनि परिवर्तन गर्ने भन्ने बहस चलिरहेको छ नि ?

कमसेकम आफ्नो पृष्ठभूमि के हो, ‘ग्रास रुट लेभल’मा उसको सम्भावना के छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ । पार्टीमा कार्यकर्ताप्रतिको उसको दृष्टिकोण के छ भन्ने कुरा पनि परीक्षण हुनुपर्छ । त्यही धरातलमा थाहा हुन्छ ।

केन्द्रीय सदस्य स्वतः प्रतिनिधि आउने कुराले नेताको धरातल खत्तम पार्छ । तल्लो तहमा नेताको लोकप्रियता छ कि छैन भन्ने कुराको परीक्षण हुनैपर्छ । त्यसैले वडाबाटै चुनिएर केन्द्रमा आउने व्यवस्था हुन जरुरी छ ।

तपाईंको जिल्ला बैतडीमा उपनिर्वाचन हुने र नेकपाका नेता वामदेव गौतम उठ्ने चर्चा चलिरहेको छ । यस सन्दर्भमा त्यहाँ कांग्रेसको तयारी के छ र अवस्था कस्तो छ ?

यो जानकारी मैले मिडियामार्फत नै पाएको हो । नेकपाका नेता वामदेव गौतम बैतडीबाट लड्ने र त्यसका लागि बैतडीबाट निर्वाचित सांसदलाई राजीनामा गर्न लगाउने अनि त्यहाँबाट आफू सांसद हुने प्रयत्नमा हुनुहुन्छ भन्ने सुनेको हुँ ।

हुन त यो कुरा आधिकारिक रूपमा निर्णय भइसकेको छैन । तर पनि मैले भन्नैपर्छ, वामदेव गौतमले बैतडीबाट चुनाव जित्छु भन्ने सपना देख्नु मनको लड्डु घिउसँग खानुजस्तै हो । त्यो उहाँको लागि दिवासपना हुनेछ ।

बैतडीमा नेपाली कांग्रेस सशक्त पार्टी हो । यद्यपि, यस देशका दुईवटा ठूला पार्टी एक ठाउँमा आएर अहिले नेकपा बन्यो । वामदेवजीलाई बैतडीका जनताले पत्याउँदैनन् यो कुरा ठोकुवाका साथ भन्न सक्छु ।

दुईवटा पार्टी एक भएर अहिले बहुमतको सरकार छ, यो अवस्थामा कसरी वामदेवजीलाई जित्न सम्भव छैन भन्दै हुनुहुन्छ, तपाईं ?

सबैभन्दा पहिला नेपाली कांग्रेसले तीनवटा कुरा लिएर अघि बढेको छ । विगतमा हामीले के गरेका थियौं, वर्तमानमा के गर्दैछौ र भविष्यमा के गर्ने भन्ने कुरा बोकेर कांग्रेस जनतामाझ गएको छ ।

दुईवटा पार्टी मिलेर देशलाई समृद्विमा लैजाने कुरा गरे पनि त्यसो गर्न सकेका छैनन् । वृद्धभत्ताको आश्वासन जनतालाई दिए तर त्यसअनुरूप उनीहरू अघि बढ्न सकेनन् ।

नेकपाका यी नाराहरू फेल भइसकेको अवस्थामा नेपाली जनताले नेकपालाई पत्याउने अवस्था नै छैन । ६÷७ महिना सरकार चलाउँदै गर्दा नेकपाले जनताको विश्वास गुमाइसक्यो । साथै बैतडी जिल्ला कांग्रेसको पकड भएको जिल्ला हो भन्ने पनि ख्याल राख्न जरुरी छ ।

६÷७ महिनाको अवधिमा यहाँले भनेअनुसार कांग्रेसले संगठन विस्तारलगायतका कुरामा छलाङ मा¥यो त उसो भए ?

आधार त कांग्रेसको पहिलेदेखि बलियो नै छ । संगठन विस्तारमा पनि कांग्रेसको ध्यान पुगेको छ । पछिल्लो समय जनताको विश्वास नेकपाको सरकार र नेकपा स्वयम्ले गुमाइसकेको छ । वामदेव गौतम बैतडीबाट लड्दै गर्दा उनी असफल हुनेमा दुई मत छैन ।

वामदेव गौतम वैतडीबाट चुनावमा उम्मेदवार बनिहाले प्रतिद्वन्द्धीको रूपमा कांग्रेसबाट तपाईको सम्भावना कत्तिको छ ?

एकदम सम्भावना छ । नेपाली कांग्रेस युवाहरूलाई प्रवद्र्वन गर्ने रणनीति लियो भने म दावाका साथ भन्छु म वामदेव गौतमलाई भारी बहुमतले जित्न सक्छु । बैतडीका युवा मेरो पक्षमा एकजुट छन् । त्यहाँका युवाले बुझेका छन्– बैतडीमा कसरी विकास गर्न सकिन्छ भन्ने कुरा ।

बैतडीका जनताको जीवनस्तर उकास्ने मसँग स्पष्ट योजना छ । आधारभूत आवश्यकता के हो भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । त्यो कुरा वामदेव गौतमले बुझेकै छैनन् । बैतडीका जनताको राजनीतिप्रतिको सचेतना उहाँले बुझ्नु भएको होला भन्ने मलाई लाग्दैन ।

उसो भए निर्वाचनका लागि तपाईं तयारी अवस्थामा हुनुहुन्छ ?

म पूरै तयारी अवस्थामा छु । शारीरिक, मानसिकलगायत सबै पक्षबाट म तयारीमै छु । हजारौं युवाहरू एक भएर चुनाव प्रचारप्रसारमा लाग्न तयारी अवस्थामा छन् ।

कांग्रेसभित्र निर्वाचनका क्रममा टिकटमा समस्या हुने गरेको पाइन्छ, यदि बैतडीमा चुनाव हुने भइहाल्यो भने तपाईं कत्तिको सहज देख्नुहुन्छ टिकट पाउने कुरामा ?

२०७० सालको संविधानसभाको चुनावमा मैले टिकट मागेको हो । २०७४ सालको चुनावमा टिकट पाउन सकिएन । धेरै कुरा गर्नु थियो ।

राप्रपासँग सहमति भएका कारण त्यहाँ छोड्नुपर्ने अवस्था आयो । त्यही राजनीतिक सहमतिका कारण बैतडीमा कांग्रेस पछाडि हटेको थियो । आजको दिनमा जित्ने व्यक्ति कांग्रेसलाई चाहिएको हो भने म कांग्रेसको लागि योग्य छु ।

नेपाली कांग्रेसमा युवा पुस्तालाई भन्दा पनि पुरानाले हामीले अवसर चाहियो भन्ने अवस्था छ, तपाईंजस्ता ऊर्जाशील युवालाई कांग्रेसले यसपालि पत्याउँला ?

पत्याउनुपर्छ । अबका दिनमा ४५ वर्षभन्दा मुनिका ४० प्रतिशतभन्दा युवालाई प्रतिस्पर्धा गराउनुपर्छ । देशका युवाहरू राजनीतिप्रति इच्छा जाहेर गर्छन्, त्यस्ता युवालाई अगाडि बढाउनुपर्छ । त्यस्ता युवालाई कांग्रेसभित्र भित्र्याउन पनि सजिलो हुन्छ ।

युवाको आकर्षण बढ्यो भने त्यो संगठन अघि बढ्न कुनै गाह्रो हँुदैन । स्प्रिट र स्किल दुवै हुन्छ युवामा । पार्टीमा जेनेरेसन ग्याप छ । अहिले युवा नेता गगन थापाले आफ्ना बाजे उमेरकासँग प्रतिस्पर्धा गर्नुपर्छ । ४० वर्षको युवाले ८० वर्षको युवासँग प्रतिस्पर्धा गर्नु प्राकृतिक हुँदै होइन ।

युवा अघि बढे भने कांग्रेस अब हुने निर्वाचनहरूबाट पहिलो पार्टी हुन्छ । ४५ वर्षमुनिका ४० प्रतिशत युवालाई राजनीतिमा ग्यारेन्टीका साथ स्थान दिन सकियो भने कांग्रेसभित्र युवाको चार्मिङ बढ्छ । यसले कांग्रेसलाई चलायमान गराउँछ ।

तपाईं पनि क्षेत्रीय सभापति हुनुहुन्छ, आफ्नो क्षेत्रमा कस्तो अभियान चलाउनु भएको छ ?

क्षेत्रभरि एउटा बुथमा सयभन्दा बढी युवाहरू अभियानमा हिँड्नुपर्छ । त्यो अभियान क्षेत्रभरि, जिल्लाभरि चालू हुन्छ । बैतडीमा त्यो अभियान सुरु भइसकेको छ । चौतारीमा बसेर युवा, वृद्व, महिला, दलितसँग खुला बहस सुरु भइसकेको छ ।

प्रजातन्त्र सुरक्षित गर्न चौतारीदेखि अभियान चलाइसकेको छ । कांग्रेसको हरेक कुरा विश्लेषण गर्दै आगामी दिनमा सफल पार्टी बनाउन अभियान थालिसकेको छ ।

वामदेव त्यहाँबाट उठे कांग्रेसले जित्ने, त्यसमा पनि टिकट आफूले पाउने आधार प्रस्तुत गर्दै हुनुहुन्छ, अझै भन्दिनुहोस् कि मुख्य आधारहरू के के हुन्, कांग्रेसले जित्ने ?

संविधानले नेकपाको सरकारलाई असफल घोषित नगरे पनि व्यवहारतः अहिलेको सरकार असफल भइसकेको छ । ३० देखि ४० वर्षको युवासँग प्रतिस्पर्धा हँुदा युवाहरू सबै मेरो साथमा रहनेछन् ।

सत्ताको लागि मात्र सत्तामा जाने नेतासँग मेरो प्रतिस्पर्धा हुँदै छ भने मलाई त्योभन्दा सहज के होला र । त्यसमा म गर्व गर्छु कि, बैतडीको दशरथ चन्दजस्ता योद्धा भएका कारण त्यहाँका युवाहरूले एक भएर मलाई भोट हाल्नेछन् ।