देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा साप्ताहिक सम्पादकहरूको सम्मेलन, प्रधानसम्पादक राणाद्वारा सम्बोधन

देशान्तर

पोर्टल्यान्ड (अमेरिका) । साप्ताहिक पत्रिकाका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज (आईएसडब्लूएनई)द्वारा अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्यान्डमा अयोजित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनमा विश्वभरीका साप्ताहिक पत्रिकाहरूको सम्पादकीय स्वतन्त्रता, साप्ताहिक पत्रिकाहरूको भविष्यलगायतका विषयमा छलफल भएको छ ।

नेपालबाट सम्मेलनमा आईएसडब्लूएनई नेपाल च्याप्टरका अध्यक्ष एवं देशान्तर साप्ताहिकका प्रधानसम्पादक कविर राणा र उपाध्यक्ष प्रदीप काफ्लेले सहभागिता जनाए । राणाले नेपाली साप्ताहिक पत्रिकाहरूको सम्पादकीय स्वतन्त्रता र चुनौतीका बारेमा मन्तव्य दिए । सम्मेलनमा सहभागीहरूले नेपाली साप्ताहिक पत्रिकाहरूले लोकतन्त्र बहालीका लागि पुर्याएको योगदानको उच्च प्रशंसा गरेको राणाले जानकारी दिए । राणा र काफ्लेले सम्पादकीय स्वतन्त्रता विषयक समूह छलफलमा भाग लिएका थिए ।

पोर्टल्यान्डमा आयोजित ६ दिने कार्यक्रममा विश्वभरिका साप्ताहिक पत्रिकाहरूले जुँधिरहेको चुनौतीको बारेमा विह्गम छलफल भएको थियो । कार्यक्रममा अमेरिकी साप्ताहिक पत्रिकाहरूले पनि भोगिरहेको चुनौती नेपाली पत्रिकाहरूसँग मिल्दोजुल्दो रहेकोले आपसी सहयोग र सहकार्यबाट ती चुनौतीहरुको सामना गर्ने समझदारी भएको अध्यक्ष राणाले बताए । सम्मेलनको अन्तिम दिन अध्यक्ष राणाले मन्तव्य दिँदै समाजको अर्को सम्मेलन नेपालमा आयोजना गर्ने प्रस्ताव राखेका थिए । राणाको उक्त प्रस्तावको सम्मान गर्दै समाजका कार्यकारी निर्देशक चाड स्टेबिनले जतिसक्दो चाँडो नेपालमा सम्मेलनमा आयोजना गर्न आफूहरू उत्साही भएको जवाफ दिए ।

जुलाई ९ देखि १५ सम्म चलेको उक्त सम्मेलनमा नेपालबाट चार जनाले भाग लिने तय भए पनि विशेष परिस्थितिका कारण राणा र काफ्ले मात्र सहभागी भए । बाँकी दुई जनाको अनुपस्थितिबारे सम्मेलनमा सहभागीहरूले चासो व्यक्त गरेको काफ्लेले जानकारी दिए ।