देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति अमेरिकामा असन्तुष्टि चुलियो

देशान्तर

काठमाडौं । अध्यक्ष आनन्द विष्ट समूहले एकलौटीरूपमा निर्णय गर्ने परिपाटी अँगालेपछि नेपाली जनसम्पर्क समिति अमेरिका यतिबेला विभाजनको संघारमा पुगेको छ । विष्ट समूहले विधान संशोधन गरी समितिलाई मातृ पार्टी नेपाली कांग्रेससँगको आबद्धता समाप्त गैरराजनैतिक सामाजिक संस्थामा रूपान्तरित गरेको समितिका पूर्वसंयोजक एवं नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु सुवेदी समूहले गम्भीर आपत्ति जनाएको छ । सुवेदीले विज्ञप्ति जारी गरी नेपाली कांग्रेसको भ्रातृ संस्थाको रूपमा रहिआएको नेपाली जनसम्पर्क समिति अमेरिकाको मातृ पार्टी नेपाली कांग्रेससँगको आबद्धता समाप्त गरी गत अक्टुबर २०, २०१६ देखि नेपाली कांग्रेसको विधान र नेपाली कांग्रेसमा आबद्ध सबैको मनोभावना विपरीत गैरराजनैतिक सामाजिक संस्थामा रूपान्तरित गरिएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

‘२००६ मा टेक्सासमा दर्ता भई निरन्तर रूपमा क्रियाशील नेपाली कांग्रेसको भ्रातृ संस्थाको रूपमा रहिआएको हाम्रो संस्थाको भ्रातृ पार्टीसँगको आबद्धता समाप्त गरी यसलाई अक्टुबर २०, २०१६ मा गैरराजनैतिक सामाजिक संस्थामा रूपान्तरित गरिएको छ जुन नेपाली कांग्रेसको विधान र नेपाली कांग्रेसमा आबद्ध सबैको मनोभावना विपरीत छ’, विज्ञप्तिमा भनिएको छ ।

सुवेदीले अगाडि भनेका छन्, ‘नेपाली जनसम्पर्क समिति अमेरिकाभित्र यसको स्थापनाकालदेखि नै देखा परेको विभाजनको रेखा मेट्न हाम्रो तर्फबाट सदैव रचनात्मक भूमिका रहँदै आएको कुरा यहाँ स्मरण गर्नु सान्दर्भिक सम्झेको छु । लामो समयसम्मको आपसी विवादले आक्रान्त हाम्रो संगठनको गत २०१४ नोभेम्बर २२ र २३ मा यहाँहरू सबैको सहयोगमा टेक्सासमा हामीले सफलतापूर्वक सम्पन्न गरेको दोस्रो अधिवेशनले संगठनमा नयाँ रक्त सञ्चार गराएको कुरा सर्वविदित नै छ । संगठनप्रतिको हाम्रो चिन्ताका कारण सुरु भएको एकताको वातावरण अनपेक्षित ढंगले बिथोलिन थालेको प्रति हामीलाई गहिरो दु:ख लागेको छ ।’

विष्ट समूहले पार्टीसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेसँगै असन्तुष्ट बनेको सुवेदी समूहले न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि भेला आयोजना गर्ने निर्णय गरेको थियो । तर कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको आग्रहमा उक्त भेला स्थगित गरिएको सुवेदीले जनाएका छन् । ‘मातृ पार्टी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको आग्रहअनुसार उक्त भेला स्थगित गरिएको जानकारी गराउँदछु ।

राष्ट्रिय प्रतिनिधि भेलामा सहभागी हुन देशविदेशबाट हवाई टिकट लिई होटेल बुक गरी सक्नुभएका साथीहरूलाई पर्न गएको आर्थिक तथा अन्य असुविधा, दु:ख एवं कष्टप्रति हृदयदेखि नै क्षमायाचना गर्न चाहन्छु । यसैगरी प्रतिनिधि भेला सम्पन्न गर्न अहोरात्र खटिने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ । सुवेदीले पार्टीका हरेक निर्देशनलाई सदैव शिरोधार्य गर्ने परम्परा रहिआएको कुरा स्मरण गराउँदै संगठनको एकताको लागि जुट्न अमेरिकामा रहेका नेपाली कांग्रेससँग सम्बद्धहरूलाई आह्वान गरेका छन् ।