देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति हारे तर राजनीति जितेको छु :पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति गुमाए पनि राजनीति जितेको बताएका छन् । सभापतिमा पराजित भएपछि मंगलबार साँझ ठमेलमा रहेको होटल वैशालीमा निकट नेतासँग भेटमा पौडेलले प्राविधिक रुपमा नेतृत्व गुमे पनि आफ्नो निष्ठाको राजनीतिले जितेको दाबी गरेका हुन्। पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह, नवनिर्वाचित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, रामशरण महतसहित ४१ जिल्ला सभापति उपस्थित उक्त बैठकमा पौडेलले लोकतान्त्रिक आन्दोलनमा खरो रुपमा उत्रन निकट नेतालाई आग्रह गरे ।

संविधान कार्यान्वयन गरेर लोकतन्त्रलाई साकार बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको जनाउँदै पौडेलले नवनिर्वाचित सभापति देउवाले गुटबाट माथि उठेर पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरे ।‘उहाँ अब गुटबाट पार्टीको नेता बन्नुभएको छ,’ पौडेललाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘कामको मूल्यांकन गरेर उहाँ ९देउवा० ले सबैलाई जिम्मेवारी दिए विवाद गर्नुपर्ने आवश्यकता छैन ।’ साँझको खानासहित भएको भेटमा जिल्ला सभापतिहरुले पौडेललाई नेता मानेर आगामी दिनमा अघि बढ्न तयार रहेको बताएका थिए ।

यसैबीच, पौडेलले पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट विचलित नभई पार्टी, देश र जनताको पक्षमा काम गर्न नवनिर्वाचित सभापति देउवालाई आग्रह गरेका छन् । ‘निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबै साथीमा आह्वान गर्छु, म सदैव तपाईंहरूको साथमा रहनेछु,’ सभापति देउवालाई मंगलबार शुभकामना दिँदै उनले भने । पौडेल सोमबार राजधानीमा सम्पन्न निर्वाचनमा देउवासँग सभापति पदमा पराजित भएका हुन् ।

पार्टीको १३ औं महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै पौडेलले भने,  ‘लोकतान्त्रिक पद्धतिद्वारा नेतृत्व चयनसहित महाधिवेशन भव्य, सभ्य र निर्विघ्नतापूर्वक सम्पन्न भई निर्वाचन परिणाम सार्वजनिक हुँदैछन् । यो महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा महत्वपुर्ण आयाम थपेको छ ।’

]]>