देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेशको समस्यामा एमाले रिजिट भयो : कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुकमा जारी समस्या समाधानका लागि राजनीतिक भेटघाट तीव्र बनाएका छन्। स्वास्थ्य उपचार गरी बिहीबार स्वदेश फर्केलगत्तै कोइराला सक्रिय भएका हुन्।  मधेसमा जारी आन्दोलनले देशभरिको जनजीवन कष्टकर बनेको भन्दै कोइरालाले समस्याको निकास खोज्न आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दल र सत्तारुढ दलसँग छलफल अघि बढाएका छन्।

कोइरालाले शनिबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै निवास महाराजगन्ज बोलाएर छलफल गरे। मधेस समस्या छिटो समाधान नगरे अवस्था जटिल बन्ने भन्दै कोइरालाले प्रमुख दलबीच भएको पूर्व सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेको स्रोतको दाबी छ। वार्ता र संवादबाटै समाधान खोज्नुपर्ने धारणा राख्दै कोइरालाले प्रमुख दलबीच प्रदेश सीमांकनसहित संविधान संसोधनलाई अघि बढाउने विषयमा साझा धारणा बनाउनुपर्ने बताएका थिए।

कोइरालाले एमाले संविधान संशोधनप्रति रिजिट बनेकोमा गुनासो गरेका छन्। शुक्रबार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता सर्वेन्द्रनाथ शुक्लासँग भेटेको कोइरालाले मधेस समस्या समाधानका विषयमा छलफल गरेका थिए। अन्य दलसँग अनौपचारिक छलफलपछि औपचारिक वार्ता गर्ने तयारी गरेको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए। ‘उहाँ (सभापति)ले शुक्रबारबाटै भेटघाट सुरु गर्नुभएको छ, त्यसकै निरन्तरता हो’ बडूले भने, ‘मधेस आन्दोलनसहित विषयलाई छिटो सम्बोधन गर्न एउटा वातावरण बनोस् भनेर लाग्नुभएको छ।’

वार्ता र संवादबाटै मधेस आन्दोलनसहित देशमा देखिएका समस्याको समाधान खोज्नुपर्ने पक्षमा कोइराला रहेको जानकारी दिँदै उनले भने, ‘जति ढिला भयो उति नै परिस्थिति बिग्रदै  जान्छ, परिस्थिति नियन्त्रणबाहिर जानसक्छ भन्ने उहाँको चिन्ता छ।’  नागरिकमा समाचार छ । 

]]>