देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख बन्न लिगलिगे दौड

देशान्तर

काठमाडौं । सभामुख कृष्णवहादुर महरा यौनकाण्डमा मुछिएपछि रिक्त भएको उक्त पद हत्याउन नेकपाभित्र लिगलिग दौड सुरु भएको छ । नेकपाभित्र यतिबेला उक्त पद हत्याउन पूर्व एमाले र पूर्वमाओवादीबीच घमासान प्रतिस्पर्धा चलिरहेको छ । वर्तमान संविधानअनुसार सभामुख र उपसभामुखमा फरकफरक दल लिंगका व्यक्ति हुनुपर्नेछ । पार्टी एकीकरण अघि पूर्वमाओवादी र पूर्वएमालेले सभामुख र उपसभामुख पद वाँडफाँड गरी हत्याए पनि अब भने एउटा मात्रै रोज्न पाउनेछ । त्यसैले नेकपा यतिबेला सभामुख आफू राखेर उपसभामुख अर्को दललाई दिने सहमतिको खोजीमा रहेको बुझिन्छ । यसका लागि नेकपाले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब दिइरहेको छ । तुम्बाहाम्फे भने सकेसम्म आफ्नो पद जोगाउने कसरतमा लागेकी छिन् । उपसभामुख तुम्बाहाम्फे पदमा बहाल रहेकै अवस्थामा नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पाउने छैन ।

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएको अवस्थामा प्रतिनिधिसभा एकैसाथ सभामुख र उपसभामुखविहीन हुनेछ । यस्तो अवस्थामा संसद्को अध्यक्षता जेष्ठ सदस्य अर्थात् राजपा नेता महन्थ ठाकुरले गर्नेछन् । त्यसैले नेकपाभित्र उपसभामुख राजपालाई दिएर सभामुख सुनिश्चित गर्ने होमवर्क समेत चलिरहेको स्रोत बताउँछ ।
यता सभामुख बन्न भने नेकपाभित्र पूर्वमाओवादी र पूर्वएमालेबाट करिब एक दर्जन नेताहरूले इच्छा व्यक्त गरेका छन् । निवर्तमान सभामुख महरा पूर्वमाओवादीबाट भएकाले उनको राजीनामा पछि उक्त पद पूर्वमाओवादीले नै पाउनुपर्ने अडान नेकपाभित्र पूर्वमाओवादीहरूको छ । तर पार्टी एक भइसकेको अवस्थामा उक्त पदको निम्ति खुला छलफल हुनुपर्ने पूर्वएमाले नेताहरूको तर्क छ ।

स्रोतका अनुसार नेकपाभित्र पूर्वमाओवादी खेमाका नेताहरूबीचमै सभामुखका लागि कडा प्रतिष्पर्धा चलिरहेको छ । पूर्वमाओवादीबाट नेता देव गुरुङ, अग्नि सापकोटा, लेखराज भट्ट, जनार्दन शर्मालगायतका नेताहरूले सभामुख पदमा दाबी गरेको बुझिएको छ । हुन त यो रेसमा पूर्वसभामुख ओनसरी घर्तीको नाम पनि चर्चामा थियो । तर घर्तीले केही दिन अघि मात्रै आफू सभामुख बन्न इच्छुक नरहेको सार्वजनिक रूपमा बताएपछि उनी रेसबाट बाहिरिएकी छिन् । तर उपसभामुखमा कोही पुरुषको नाममा सहमति जुटेमा सभामुख महिला नै हुनुपर्ने अवस्थामा उनलाई यो पद चिठ्ठा पर्ने देखिन्छ ।

उता पूर्वएमालेबाट सुवास नेम्बाङको नाम चर्चामा रहेको छ । सर्वसम्मतिले पार्टीभित्र आग्रह भएमा उनी यो पदमा आसीन हुन इच्छुक रहेको नेम्बाङले नेताहरूलाई सन्देश दिइरहेका छन् । तीन पटक सभामुख बनिसकेका नेम्बाङलाई यो अवसर दिन नहुने पूर्वएमालेभित्रैका एकथरीको धारणा रहेको छ ।

पूर्वमाओवादीभित्र भने देव गुरुङ सभामुखका लागि योग्य मानिए पनि वर्तमान सरकारप्रति उनको दृष्टिकोण सकारात्मक नरहेकाले प्रधानमन्त्री केपी ओली उनलाई बनाउन इच्छुक नरहेको बताइन्छ । उग्र वामपन्थी पृष्ठभूमिका गुरुङलाई सभामुख बनाउँदा सरकारलाई अप्ठेरो पर्न सक्नेतर्फ उनी सचेत रहेको बताइन्छ । यस्तो अवस्थामा अग्नि सापकोटा वा जनार्दन शर्माको नाममा सहमति जुट्न सक्ने नेकपा स्रोत बताउँछ । जनार्दन शर्मा पार्टी एकीकरणका बेला ओलीसँग निकट हुन पुगेकाले ओली उनको पक्षमा सहमत हुन सक्ने बताइन्छ । तर यस्तो अवस्थामा प्रचण्डले भने आफ्ना अत्यन्तै निकट अग्नि सापकोटालाई रोज्न सक्नेछन् । सापकोटामाथि द्वन्द्वकालको मुद्दा भएकाले ओलीले यसलाइै नै इस्यु बनाएर जनार्दन शर्मा वा सुवास नेम्बाङलाई अघि सार्न सक्ने सम्भावना पनि प्रवल रहेको बताइन्छ ।

उता अखण्ड सुदूरपश्चिमको नारा बोकेर हिँडेका लेखराज भट्टलाई मन्त्री नबनाएर उक्त भेगबाट आफ्नी बुहारी बिना मगरलाई खानेपानी तथा सरसफाइ मन्त्री बनाएका प्रचण्डले यही अवसर भट्टलाई व्यवस्थापन गर्न सभामुख पद सुम्पन्न सक्ने पनि बताइन्छ । तर यस्तो सम्भावना भने झिनो रहेको नेकपाका नेता बताउँछन् ।

यसैबीच, सभामुख निर्वाचनका लागि संसद्को विशेष अधिवेशन आह्वान गर्ने कि नियमित अधिवेशनबाट सभामुख निर्वाचन गर्ने भन्ने विषयमा समेत राजनीतिक सहमति खोज्न आवश्यक भएको छ । यसका लागि राजनीतिक सहमति गरेर संसद्को अधिवेशन आह्वान गर्नुपर्ने कांग्रेस नेताहरूको भनाइ छ । स्रोतका अनुसार छठ पछि संसद् बैठक डाक्नेबारे सहमति खोजिनेछ ।