देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परराष्ट्र नीति चीनको मुठ्ठीमा

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सरकारको परराष्ट्र नीति कस्तो हुनेछ भनी छरछिमेकीसहित अन्तर्राष्ट्रिय क्षेत्रले उत्सुकताका साथ हेरिरहेको अवस्थामा सत्तारूढ पार्टीका नेताहरूले आफूहरू असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई निरन्तरता दिने पक्षमा नरहेको र जसले जे आरोप लगाए पनि त्यसको वास्ता नगरी चीनको पक्षमा लाग्ने स्पष्ट गरेका छन् । सरकारको यो नीतिले लामो समयदेखि अघिल्ला सरकारहरूले विभिन्न दबाब खेप्दै सुरक्षित गरेको देशको स्वाधीन अस्तित्व र स्वतन्त्र पहिचानलाई खल्बल्याउने तथा राष्ट्रको भविष्यमाथि नै संकट उत्पन्न गराउने खतरा देखा परेको छ ।

बेला न कुबेला भेनेजुएलाको पक्ष लिएर नेपालको आर्थिक विकासमा साझेदार रहँदै आएको अमेरिकालाई चिढ्याएका नेकपाका अध्यक्ष प्रचण्डले फेरि एकपटक चीनसँग अमेरिकाको विरोध गरेर नेपाललाई सामरिक भासमा धकेल्ने काम गरेका छन् । केही दिनअघि भएको चिनियाँ विदेश मन्त्री वाङ यी को नेपाल भ्रमणका क्रममा प्रचण्डले प्रदर्शन गरेको कूटनीतिक बेवकुफीले विश्वमञ्चमा नेपाललाई चीनको कठपुतलीको रूपमा प्रस्तुत गरेको छ भने विश्वशक्ति अमेरिका र नेपालको जीवनरेखा मानिने दक्षिणी छिमेकी भारत थप चिढ्याउने काम गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्नुपूर्व भारतीय विदेश विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेका थिए । बेला नेपाल–भारत द्विदेशीय संयन्त्रको बैठकमा भाग लिन नेपाल आएका जयशंकरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रै चाकडी गरे पनि अर्का अध्यक्ष प्रचण्डले भने अपमानबोध हुने व्यवहार देखाए । उनको अपमान त्यतिखेर भयो जतिखेर चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण भयो । प्रोटोकल नमिलेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले होटलमा गएर भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न अस्वीकार गरे । तर उनै प्रचण्ड चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न कमलादीस्थित होटल मेरियट पुगे । समान हैसियतका दुई छिमेकीलाई गर्ने व्यवहार नै फरक भएपछि दक्षिणी छिमेकी भारतले अपमानबोध मात्रै गरेको छैन प्रधानमन्त्री ओलीले देखावटी रूपमा जतिसुकै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी गरे पनि वर्तमान सरकारप्रति भारतको दृष्टिकोण झन् नकारात्मक बन्न पुगेको छ ।

दुई साताअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न प्रचण्ड जयशंकर बसेको होटल द्वारिकाज गएनन् । पार्टी सचिवालयको बैठकमा व्यस्त रहनु परेको कारण बताइए पनि प्रोटोकल नमिलेकाले प्रचण्ड एस जयशंकरलाई होटलमा भेट्न नगएको उनी निकटस्थहरूले नै स्पष्ट पारेका थिए । नेकपाका चौथो वरीयताका नेता माधवकुमार नेपाल पनि जयशंकरलाई भेट्न होटलमा गएका थिएनन् ।

तर, चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न भने प्रचण्ड उनी बसेको होटल मेरियट पुगे । नक्सालस्थिल होटल मेरियटमा झन्डै ४० मिनेट प्रचण्डले वाङसँग कुराकानी गरे ।

चीन र आफूलाई गर्ने व्यवहारमा भेदभाव गरेकोप्रति भारत असन्तुष्टिसँगै वाङसँगको कुराकानीले अमेरिकालाई चिढ्याउने काम गरेको छ । प्रचण्डको कारण नेपाल फेरि अमेरिकाको इन्डो प्यासिफिक रणनीति र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को चेपुवामा परेको छ । प्रचण्डले वाङसँगको भेटमा नेपाल इन्डो प्यासिफिक रणनीतिमा सामेल नहुने मात्रै होइन त्यसको विरोधसमेत गरेको चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएपछि नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकाले नेपाल सरकारसँग स्पष्टीकरण मागेको छ ।

गएको डिसेम्बर महिनामा नेपाल र अमेरिकाका विदेशमन्त्रीबीच वासिङ्टनमा दुईपक्षीय बैठक भएको थियो । १८ वर्षपछि दुई देशका विदेशमन्त्रीबीच भएको सो बैठकमा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले नेपाली समकक्षी प्रदीप ज्ञवालीलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षको नाताले नेपालको इन्डो प्यासिफिक क्षेत्रमा महत्वपूर्ण भूमिका हुने प्रस्ताव राखेपछि ज्ञवालीले त्यसमा समर्थन जनाएको अमेरिकी प्रतिवेदनमा उल्लेख छ । चीनलाई छेक्ने रणनीति अनुरूप अमेरिकाले यो प्रस्ताव अघि सारेको थियो । ज्ञवालीले यो प्रस्तावलाई कूटनीतिक रूपमै त्यतिबेलै अस्वीकार गर्न सकेनन् । तर अहिले आएर प्रचण्डले चिनियाँ विदेशमन्त्रीसँग त्यसको खुलेरै विरोध गरेपछि अमेरिका चिढिएको छ ।

कूटनीतिका जानकारहरू प्रचण्डले नेपालको अहिलेको सत्तारूढ दल पश्चिमा र भारत विरोधी हो भन्ने संकेत गर्न खोजेको बताउँछन् । भेनेजुएला प्रकरणदेखि अहिलेसम्म खेलेको भूमिकालाई हेर्दा नेकपा चीन, रूस, इरान र उत्तर कोरियाको ब्लकमा रहेको प्रस्ट सन्देश प्रचण्डले दिएको कूटनीतिक पर्यवेक्षकहरूको बुझाइ छ ।

यता प्रधानमन्त्री ओली भने भारतलाई भ्रममा पार्नको लागि मोदीको व्यक्तिगत चाकडीसमेत गरिरहेका थिए । तर सरकारको वास्तविक नीति के हो भन्ने कुरा प्रचण्डले बोलेर मात्र होइन व्यवहारबाट समेत सार्वजनिक गरिदिएका छन् । ओलीले आफूले चीनभन्दा भारतसँगको मित्रतालाई नै बढी महत्व दिने वचन भित्रभित्रै भारतलाई दिए पनि उक्त वचनमाथि शंका गर्दै सरकारको व्यवहारको प्रतीक्षा गरिरहेका भारतीयहरू आफ्नो आशंका पुष्टि भएको दाबी गर्ने मौका पाएका छन् । ओली सरकार भारतको भावनाको उपेक्षा गर्दै खुलेआम चीनको पक्षमा उभिएको छ । दुई कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न तथा वर्तमान सरकार निर्माण गर्न चीनले निर्णायक भूमिका निर्वाह गरेकोले उसप्रति कृतज्ञता स्वरूप उसको पक्षमा लाग्नु अस्वाभाविक नभएको कूटनीतिक क्षेत्रका जानकारहरूको मूल्यांकन छ ।

आजको देशान्तर साप्ताहिकबाट