देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचन: स्थानीय तहका लागि आज मनोनयनपत्र दर्ता हुँदै

देशान्तर

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि मुख्य र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा यही कात्तिक २० गते स्थापना भइसकेको छ ।

स्थानीय तहका वडाध्यक्ष पदको उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ ।

अध्यक्ष,उपाध्यक्ष, प्रमुख, उपप्रमुख पदका उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा हुनुपर्नेछ । स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखका लागि रु एक हजार पाँच सय र वडाध्यक्षका लागि रु एक हजार धरौटी तोकिएको छ ।

स्थानीय तहको पदाधिकारीको निर्वाचन प्रचारप्रसारका लागि १० दिनको समय तोकिएको छ ।

स्थानीय तहको एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।