देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तत्काल विद्यालय बन्द गरी बैकल्पिक माध्यमबाट पठनपाठन गराउन संसदीय समितिको निर्देशन

देशान्तर

काठमाण्डौ – संसदीय समितिले बालबालिकाहरू कोभिड-१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुरु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रवार बसेको बैठकले विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरूले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा सङ्क्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो ।

समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरूको सुझावलाई ध्यानमा राखेर अत्यधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाको जीवनरक्षाका लागि तत्काल भौतिक उपस्थितिमा हुने सिकाइ बन्द गरी अनलाईन वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति, विज्ञहरूको सुझाव तथा आजको छलफलअनुसार हाम्रा बालबालिकाहरू अत्यन्तै जोखिममा देखिएका छन् र विद्यालयमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसक्दा पनि चरम लापर्बाही गर्ने विद्यालयहरूलाई अनुगमन गरी कडा कारबाही गर्न र विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा हुने सिकाइ तत्काल बन्द गरी वैकल्पिक विधिबाट (भर्चुअल) वर्तमान अवस्थाअनुसार पठनपाठन कडाइका साथ गराउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ । यसमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीले पालना गर्नु जरुरी भएकाले यसमा कडाइ गर्न जरुरी छ ।’