देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागलुङमा होली खेल्दा झडप, दुई कांग्रेस कार्यकर्ताको भिरमा फालेर हत्या

देशान्तर

होली खेल्ने क्रममा झडप हुँदा बागलुङमा दुई कांग्रेस कार्यकर्ताको हत्या गरिएको छ । झडपका क्रममा दुवै जनालाई भिरमा फालेर हत्या गरिएको हो ।

बागलुङको निसिखोला र बडीगाड गाउँपालिकाको बीचमा पर्ने बल्देको धुरीमा आइतबार साँझ झडप भएको थियो।

झडपका क्रममा एउटा समूहले नेपाली कांग्रेसका बागलुङ जिल्ला कार्यसमिति सदस्य ३६ वर्षीय प्रकाश कुँवर र कांग्रेसका क्रियाशील सदस्य ३४ वर्षीय दीपक परियारलाई भिरबाट फालेर हत्या गरेको निसीखोला गाउँपालिका ७ अध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए। दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

निसिखोला गाउँपालिका ७ राजकुट घर भएका उनीहरुको शव भिरबाट निकाल्न सकिएको छैन । झडपपछि अझै १२ जना भन्दा बढी व्यक्ति सम्पर्कमा आएका छैनन् ।

घट्ना भएको ठाउँमा रमाइलोका लागि युवाहरु भेला भएका थिए । उनीहरुबीच साँझपख विवाद भएको वडाध्यक्ष कुँवरले बताए । झडपले रानीतिक रुप लिएपछि घट्ना घटेको जानकारी पाएको उनले बताए ।

स्थानीय धनबहादुर बुढाको नेतृत्वमा आएको समूहले कुँवर र परियारलाई भिरमा फालेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ र जिल्ला प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी खटाइएको प्रबागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) इग्वाल हवारीले जानकारी दिए । पिकनिक गएका युवाहरुबीच झडप भएको जानकारीमा आएको उनले बताए ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठानको सिमानामा लागेको होली मेलामा युवाबीच झडप भएको हवारीले बताए । घटनास्थल मानव बस्तीभन्दा टाढा रहेकाले प्रहरी त्यहाँ पुग्न समय लागेको डिएसपी हवारीले बताए ।

झडपका क्रममा निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको उनले बताए । विस्तृत विवरण सोमबार मात्रै प्राप्त गर्न सकिने हवारीले बताए ।