देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निमा एकेडेमीको पहलमा फागुन १३ गते डिजिटल शिक्षा दिवस मनाइँदै

देशान्तर

काठमाडौं । निमा एकेडेमीको पहलमा नेपालका शिक्षण संस्थाहरुमा डिजिटल प्रविधि र ज्ञानसहितको अध्ययन–अध्यापनलाई बढोतरी गर्ने उद्देश्यले यही फागुन १३ गते विविध कार्यक्रमसहित डिजिटल शिक्षा दिवस मनाउन लागिएको छ । ‘डिजिटल शिक्षाको लागि सँगै’ भन्ने मुल नाराका साथ औपचारिक कार्यक्रमको आयोजना गरी डिजिटल शिक्षा दिवस मनाउन लागिएको हो ।

सबै विद्यार्थीहरूका लागि डिजिटल शिक्षा र पहुँचको वकालत गर्ने उद्देश्यले सन् २०१२ फेब्रअरी २५ देखि डिजिटल सिकाइ दिवस विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको हो । डिजिटल प्रविधिको प्रयोग गरी कक्षाकोठामा पठनपाठन गर्ने हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिनका रुपमा फेबु्रअरी २५ लाई मनाइन्छ ।

नेपालका शिक्षण संस्थाहरुमा डिजिटल प्रविधि र ज्ञान सहितको अध्ययन–अध्यापनलाई बढोत्तरी गर्ने उद्देश्यले दुई वर्षअघिदेखि निमा एजुकेशन फाउन्डेसनको पहलमा डिजिटल सिकाइ दिवस मनाउन सुरु गरिएको हो । शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन यो दिवस महत्वपूर्ण छ ।

यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ । यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ ।

डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुने निमा एकेडेमीले जनाएको छ । ‘रिइमाजेनिङ डिजिटल एजुकेशनः पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुने एकेडेमीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निमा एकेडेमीकातर्फबाट कार्यक्रम संयोजक नेहा जोशीका अनुसार कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुने जनाइएको छ । कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरेका छौं । यसैगरी डिजिटल लर्निङ डेको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत आयोजना हुने विज्ञप्तिमा उल्लेख छ ।

‘विगत एक वर्षको अधिकांश समय कोभिड–१९ को महामारी तथा लकडाउनको कारण शैक्षिक संस्थाहरू बन्द रहे । यस महामारीले गर्दा नेपालमा डिजिटल शिक्षाको विकास अझ टड्कारो बनेको छ । परिणाम स्वरुप, अधिकांश विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन लर्निङ तथा डिजिटल शिक्षाको अभ्यास गरिरहेका छन् । सरकारले पनि वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राखेको छ । यसर्थ, यस वर्ष डिजिटल शिक्षालाई प्रवद्धन गर्ने ‘डिजिटल लर्निङ डे’को सान्दर्भिकता र महत्व अझ बढेर गएको ठानेका छौं । डिजिटल शिक्षाका लागि सँगै भन्ने अभियान सहित आयोजना गरिएको डिजिटल लर्निङ डेको यस विशेष कार्यक्रममा तपाईंहरू सबैबाट सहयोगको अपेक्षा गरेका छौं’, जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।