देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कीर्तिमानी आरोहीलाई सरकारले विशिष्ट मान पदवी दिने

देशान्तर

काठमाडौं । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुवात गरिने घोषणा गरेका छन् ।

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आरोहणकै क्षेत्रमा असाधारण योगदान गर्नेका लागि विशेष सम्मानको व्यवस्था गरिने बताए ।

‘हामी (सरकार) आरोहीका लागि विशेष सम्मानको व्यवस्था गर्छौं, यद्यपि राष्ट्रिय तहमा विभिन्न प्रकारका मानपदवी रहेको छ, तर एक्सिपिडिसनकै निम्ति अहिलेसम्म छुट्टै सम्मान छैन । अब उप्रान्त ‘एक्सिपिडिसन अवार्ड’ को व्यवस्था गर्छौं, त्यो ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुनसक्छ । कति आरोहण गरेका कस्ता व्यक्तिलाई पुरस्कार दिने भन्नेबारे मापदण्ड बनाउछौं’, उनले भने ।

प्रधानमन्त्री ओलीले कठिन परिस्थितिमा आवतजावतका लागि असहज भएको अवस्थामा पनि माउन्ट केटूको सफल अरोहण गर्नु सबैका निम्ति प्रेरणादायी भएको बताए । उनले भने, ‘आरोहणका अलावा यहाँका अरु खेल मामूली हुन्, चेसमा प्रथम हुनु र सगरमाथाको आरोहण फरक किसिमको हो । तपाईंहरुबाट सबैले प्रेरणा लिन सक्छन्, लिइरहेका पनि होलान् । हामीले देशका लागि केही गर्नुपर्छ । तपाईंहरुले देशको पहिचान र गौरवलाई माथि उठाउनु भएकामा हार्दिक बधाईका साथ आगामी दिनमा थप सफलताको कामना गर्दछौँ ।’ उनले पर्वतारोहण जोखिमपूर्ण भएकाले सावधानीका साथ साहसिक आरोहण क्षेत्रमा लाग्न पनि सुझाए ।

आठ हजार ८४८ दशमलव ८६ मिटर अग्लो विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’सहित हिमाल आरोहण गरेर अदम्य साहस प्रस्तुत गरी आरोहीले विश्व कीर्तिमान बनाएका छन् । सन् १९५३ मा नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरी विरताको गाथा प्रस्तुत गरेयता पछिल्लो पटक कामीरिता शेर्पाले अघिल्लो वसन्तकालीन याममा २४ औं पटक सगरमाथा आरोहण गरी कीतिमान कायम गरेका छन् । यसरी कसैले बिना अक्सिजन, कतिपयले कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गरेका धेरै विश्व रेकर्ड छन् । आफ्नो ज्यानको जोखिम मोलेर आरोहणमा उत्रने सबै आरोहीको सम्मानमा सरकारले विशेष मानपदवीको व्यवस्था गर्ने भएको छ ।