देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वभर कोरोना भाइरस : ४ करोडभन्दा बढी कोरोना संक्रमित निको

देशान्तर

काठमाडौँ – विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो ।

निको हुनेको यो संख्या कुल संक्रमितका आधारमा ६९ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४६ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख ८१ हजार ८१८ पुगेको छ ।

यस्तै यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ९५१ जनाको मृत्यु भएको छ ।दैनिक लगातार ११ हजार हाराहारीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ६७३ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २१८ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ५११ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५४ हजार २८६ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ । युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४८ हजार ५६९ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा पनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख २४ हजार ६८० पुगेको छ । उपचार गराइरहेकामध्ये १ लाख २ हजार १८६ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।