देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिले कांग्रेसमा जे भइरहेको छ, ठीक भइरहेको छैन : महामन्त्री कोइराला

देशान्तर

संविधान संशोधनको विषय कांग्रेसले उठायो, तर यो विषयले अझैसम्म पनि पार पाउन सकेको छैन, किन ?

नेपाली कांग्रेस संविधान संशोधन विधेयक संसद्मा अघि बढाउने पक्षमा छ । विधेयक अघि बढाउने र पारित गर्न पहल गर्ने प्रयासमा कांग्रेस लागिरहेको छ । हामीले विधेयक पास गराउने प्रयास गर्दै आएका पनि हौं । अझै पनि त्यही प्रयासमा छौं । नेपाली कांग्रेस त जनताले उठाएका मागको पक्षमा सधंै हो । तर अहिले कांग्रेससँग संविधान संशोधन गराउने बहुमत त छैन । त्यही भएर संविधान संशोधन हुन सकेको छैन । किनभने कांग्रेस संसद्मा संशोधन विधेयक निर्णयार्थ पेस गर्दा उक्त विधेयक पास होस् भन्ने पक्षमा छ । पास नहुने अवस्थामा विधेयक लाने कि नलाने भन्ने प्रश्नले गर्दा यसमा ढिलाइ भइरहेको छ । यसको मतलव राष्ट्रिय जनता पार्टी संशोधन विधेयक पास नभए दुई नम्बर प्रदेशको निर्वाचनमा जाने कि नजाने, यो महत्वपूर्ण विषय हो । राजपाका नेताहरूले विधेयक पारित नभए निर्वाचनमा भाग लिन सकिँदैन भनेका छन् । चुनावमा राजपालाई सहभागी गराउन संविधान संशोधन गर्न लागिएको हो । नेपाली कांग्रेस जनतालाई अधिकार दिनका लागि संविधान संशोधन गर्न लागेको हो । कसैलाई यसले पास हुन दिएन, उसले पास हुन दिएन भन्नका लागि संसद्मा संशोधन विधेयक लैजान लागेको हैन ।

भर्खरै कांग्रेस केन्द्रीय समितिको बैठक पनि सकियो । केन्द्रीय समितिको बैठकमा पार्टी स्थानीय तहको निर्वाचनमा दोस्रो किन भयो भन्नेमा छलफल भयो । कसरी कांग्रेस दोस्रो पार्टी भयो ?

केन्द्रीय समितिमा बोल्ने अधिकांश सबैले अन्तरघातका कारणले पार्टी पराजित भएको भनेका छन् । अर्को भनेको टिकट वितरणमा पनि केही कमजोरी भयो । त्यस्तै हामीले हाम्रा एजेन्डा जनतामा लैजान पनि सकेनांै । अहिले कांग्रेसमा जे भइरहेको छ, ठीक भइरहेको छैन । कांग्रेस अहिले जसरी चलिरहेको छ, त्यस्तो राजनीतिले पार्टीलाई मात्र हैन डेमोक्रेसीलाई नै खत्तम पार्छ । कांग्रेस कमजोर भएका बेलामा सधैं लोकतन्त्रलाई संकट परेको छ । अब पनि हामीले नचेत्ने हो भने कांग्रेसको हालत के होला भन्न सक्ने अवस्था छैन । हामीलाई अहिले पनि जनताले भोट दिएका छन् । केही हाम्रा परम्परागत मतदाता अझै हामीसँगै छ । हामी दोस्रो हुँदा अति नै थोरै भोटले साथीहरूले चुनाव हार्नु भएको छ । त्यही कारणले हामीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा र मेरो र तेरो गर्दाको परिणाम हो यो । नेपाली कांग्रेसप्रति जनताको वितृष्णा भएको भए कांग्रेस धेरै कमजोर हुन्थ्यो नि ?

भागबन्डा भयो गुटबन्दी भयो भनेर कांग्रेसले भनेको पनि एक दशकभन्दा बढी नै भयो । तर त्यो गुटबन्दी कहिले समाप्त हुने ? अहिले मन्त्री बनाउँदा पनि गुटकै प्रभाव देखियो, हैन र ?

सबै विषयलाई हामीले भागबन्डा भनेर हेर्न भएन । पार्टीभित्र सहमतिकै आधारमा मन्त्री चयन गरिएको हो । मन्त्री चयन गर्दा भागबन्डा गरेको छैन । सहमतिकै आधारमा चयन गरेका हांै । हामीले उम्मेदवार तय गर्दा पनि सहमतिका आधारमा नै गरेका थियौं । तर तल्लो तहका विषयमा हामीले उम्मेदवारको धरातल बुझ्न सकेनांै । त्यही समस्या भयो । स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्दा पनि भागबन्डा गरेको होइन आपसी सहमतिको आधारमा गरेका हौं । सबै सरकारमा जानै पर्ने साथीहरू गएका छन् । सबै नयाँ साथीहरूलाई सरकारमा पठाएका छौं ।

कांग्रेस केन्द्रीय समितिको बैठक तीन दिनसम्म चल्यो तर निर्णय भने खास केही भएनन् नि ?
संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने, संविधानको कार्यान्वयन गर्दै संविधानमा उल्लेख भएको समय सीमाभित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचन गर्ने राष्ट्रिय एजेन्डा हुन् । यी  एजेन्डालाई सम्पादन गर्न २०७४ माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी  सफलताका साथ पूरा गर्न र यो अभियानको नेतृत्व लिन नेपाली कांग्रेसले दृढ संकल्प गरेको छ ।  यही संविधान संशोधन गर्दै संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको  वातावरण सहज बनाउन प्रमुख प्रतिपक्ष नेकपा (एमाले) लगायत सबै राजनीतिक दलहरूलाई आग्रह  गरेका छौं । यी महत्वपूर्ण विषय हुन् । निर्वाचनका सन्दर्भमा पार्टीबाट भएका कमी, कमजोरी सच्याउने  र निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने वा अन्तरघात गर्ने पार्टी सदस्यहरूलाई पार्टीको  विधान र नियमावली बमोजिम आवश्यक कारबाहीका लागि आन्तरिक प्रक्रिया प्रारम्भ गर्ने निर्णय गर्दछ  । त्यस्तै अर्को चरणको चुनावका लागि गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि जनाएको छ ।

गुटबन्दी पनि होइन भागबन्डा पनि होइन समस्या कहाँ हो त कांग्रेसमा ?
समस्या गुटको प्रभाव गाउँगाउँसम्म पुग्नु पनि हो । केन्द्रमा मात्र भएको गुट गाउँगाउँमा पुर्‍याइयो । यो सबैभन्दा ठूलो समस्या भयो । अनि हामीले केही आन्तरिक व्यवस्थापन पनि गर्न सकेनौं । आन्तरिक व्यवस्थापन भनेको हामीले उचित साथीहरूलाई उचित जिम्मेवारी दिन सकेनांै । त्यो पनि समस्या हो । त्यस्तै हामीले केही राष्ट्रिय मुद्दामा पनि आफ्नो अडान स्पष्ट गर्न सकेनौं । त्योभन्दा पछि केही हामीले कांग्रेसको आदर्श सिद्धान्त र चरित्र नै नमिल्ने काम गरेका छांै । हामीले स्थानीय तहको निर्वाचनमा माओवादीहरूसँग सहकार्य गर्‍र्याैं । तर फाइदा हामीलाई भएन । त्यसको फाइदा माओवादीले लियो । यो सहकार्य उत्तम होइन । स्थानीय चुनावमा पराजय हुनुको एउटा यो पनि कारण हो । कांग्रेसको इतिहास हेर्दा पनि थाहा हुन्छ । २०१५ सालमा बीपीले कम्युनिस्टहरूसँग सहकार्य गर्नु भएन । उनीहरू चार सिटमा सीमित थिए । अहिले २०१५ सालको अवस्था होइन । सहकार्य गर्दा हामीलाई घाटा र कम्युनिस्टहरूलाई जहिले पनि फाइदा हुने गरेको छ । स्थानीय तहको निर्वाचनमा माओवादीसँग सहकार्य गरेर कांग्रेसले ठूलो गल्ती गरेको हो । यसको असर सहकार्य नभएका ठाउँमा परेको छ । केन्द्रीय समितिको बैठकमा पनि यो विषयले प्रवेश पायो । सरकार बनाउन सहकार्य हुने विषय एउटा कुरा होला तर आम जनताले मतदान गर्ने ठाउँमा हामी गठबन्धन गरेर आएका छौं भन्नु कसरी उपयुक्त हुन्छ ।

अब दुई नम्बर प्रदेशको चुनावको तयारीमा कांग्रेस कसरी जुटेको छ ?
दुई नम्बर प्रदेशको चुनावका लागि कांग्रेसले तयारी थालेको छ । मैले सभापतिजीसँग पनि र वरिष्ठ नेतासँग पनि भनेको छु । सबैभन्दा पहिला हामीले उम्मेदवार टुंगो लगाउनुपर्छ । उम्मेदवार टुंगो लगाएर जनताको घरघरमा पठाउनुपर्छ । अर्को भनेको हामीले काठमाडौंमा दुई नम्बर प्रदेशमा जिल्ला सभापति, सभापतिमा प्रतिस्पर्धी, ती जिल्लाका सांसद, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको भेला गराएका छांै । त्यो भेलामा धेरै सुझावहरू आएका छन् । ती सुझावका आधारमा पार्टीले निर्णय लिन सक्नुपर्छ । त्यस्तै प्रदेश नम्बर २ को निर्वाचनमा कम्युनिस्टबाहेक अन्य शक्तिसँग चुनावी तालमेलका बारेमा पनि छलफल गर्नुपर्छ । प्रचारप्रसारलाई तीव्र बनाउनका लागि जनकपुरमा पार्टीको कार्यक्रम छ । अर्को भनेको सुजाता दिदी, शेखर दा र मैले केही दिन अगाडि खाना खाने बेलामा भएको छलफलमा दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनमा तीनैजना खटेर कांग्रेसलाई पहिलो पार्टी बनाउने छलफल भएको थियो । मैले अब महामन्त्रीका नाताले तराईका सबै जिल्लामा पुग्नेछु । तराई–मधेसमा बलियो प्रभाव बोकेको पर्सा जिल्लामा शेखर खट्ने भन्ने कुरा भएको छ । सुजाता दिदीको स्वास्थ्यमा अलि समस्या भएका कारण उहाँ जान सक्नुभएन ।

कोइराला परिवारबाट अहिले राजनीतिमा रहेका तीनजना नेताहरूका बीचमा भएको एउटा बैठकले चर्चा पायो । खासमा त्यो बैठक के पारिवारिकमात्र हो कि अरू केही ?
हाम्रो त्यो पारिवारिक जमघट नै हो । अब यसलाई पारिवारिकमात्र भन्न किन पनि मिल्दैन भने हामी एउटा पार्टीमा सक्रिय भइरहेका परिवारमा सदस्यमात्रै त्यो भेटमा भएकाले पनि त्यो पारिवारिकमात्र भनेर नपत्याइएका हुन् । त्यही कारणले समसामयिक राजनीतिमा छलफल गर्न हामी धेरै दिनपछि जुटेका हौं । अब हाम्रो (कोइराला परिवारको) भूमिका के भनेर हामीले आपसमा छलफल गरेका हांै । अर्को विषय भनेको कांग्रेस यो बेला संकटमा छ । यो बेलामा कोइराला परिवारका सबै सदस्य एकै ठाउँमा हुनुपर्ने हो । हामीले हामीमाथि आम नेपालीले गरेको भरोसाका बारेमा पनि सोच्नुपर्छ भन्ने लागेर लामो समयपछिको भेटमा चर्चा भएको हो । आफूहरू एकजुट हुन नसकेकाले पनि कांग्रेसलाई विवादबाट जोगाउन सकिँदैन भन्ने पनि सबैको निष्कर्ष थियो ।  

यसको मतलव कांग्रेस कोइराला परिवारको विरासतबाट बाहिर पुग्यो अब विरासत कसरी हात पार्ने भन्ने छलफल भएको हो ?

होइन, होइन । विरासत कसरी हात पार्ने, कस्ले लिने भन्ने हुँदै होइन । अब कांग्रेसका कोइराला परिवारको भूमिका के हुने र कांग्रेसलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा हामीले छलफल गरेका हौं । कांग्रेसको संगठन बलियो बनाउनका लागि के के गर्नुपर्छ, यो विषयमा छलफल भएको हो ।
कोइराला परिवारबाट तपार्इंहरू तीन जना हुनुहुन्छ । तपाईंहरू बीचमा कोइराला परिवारको विरासत कस्ले लिने भन्नेमा प्रतिस्पर्धा चलिरहेको बुझाइ बाहिर छ । यस्तो बुझाइ रहेको अवस्थामा तपाइंहरू बीचमा यस्तो भेट हुनुलाई धेरैले अर्थपूर्ण रूपमा हेर्ने नै भए नि हैन ?

सबैभन्दा पहिला, यो विरासत थेग्ने विषयमा हामीमा कुनै विवाद नै छैन । कोइराला परिवारको मात्र होइन कांग्रेसको विरासत नै कांग्रेसको आदर्श, सिद्धान्त, बीपीको विचार बोक्नेले सम्हाल्ने हो । कोइराला परिवारको विरासत भनेको पनि कांग्रेसको जस्तै विरासत हो । यसमा हामीमा कसरी प्रतिस्पर्धा हुन्छ ? सुजाता दिदीले स्वास्थ्यले साथ दिँदैन भन्नुभएको छ । शेखर दा एकदमै एक्टिभ हुनुहुन्छ । शेखर दामा खट्ने सक्ने क्षमता पनि छ । आउँदा दिनमा परिस्थितिले कहाँ पुर्‍याउँछ भन्ने हो । हामीले बीपीको विचारलाई लिएर राजनीति गरेका हौं । त्यसकारणले हामीमध्ये जसले बीपीको विचारलाई धान्न सक्छ, बोक्न सक्छ, विरासत पनि त्यही जान्छ । मैले पटकपटक भनेको छु, बीपीको विचार नै कांग्रेसको विरासत हो ।

यसको मतलव कोइराला परिवारका सदस्यहरूका बीचमा अब पूर्ण रूपमा मेलमिलाप भयो ?
हामीमा कुनै विवाद नै थिएन । हामी एकताबद्ध थियौं, छां र भइरहनेछांै । यसमा कुनै सन्देह नै नगरे हुन्छ ।

भनेपछि सुजाता कोइरालाले दुई दाइ भाइलाई सहयोग गर्ने कुरा भो ? अबको कांग्रेसको सभापति उम्मेदवार कोइराला परिवारबाट डा. शशांक कोइराला बन्ने पनि सहमति भएको हो ?
राजनीति गर्ने भनेको पदमा नै पुग्नका लागि हो । त्यसकारणले सम्भावना नभएको होइन, छ ।

अनि सम्भावनाको कुरा गर्नुभयो तर तपाईं महामन्त्री भइसक्नुभयो । तपाईंले डा.शेखर कोइरालालाई छोड्ने सम्भावना छ कि छैन ?
मैले भने नि आउँदा दिनमा परिस्थितिले कहाँ पुर्‍याउँछ भनेर । अनि सम्भावनाको कुरा गरेँ । त्यो भनेको सबै सम्भावना छन् । शेखर दामा मैले भने नि धेरै गुण छन् । उहाँ उठ्दा पनि हुन्छ । हामीमा कुनै विवाद नै हुन्न ।

तपाईंहरूको भेटपछि नै चर्चा सुरु भएको छ, अबको कांग्रेस महाधिवेशनमा तपाईं सभापति र डा. शेखर प्रधानमन्त्री भनेर ?
त्यो पनि सम्भावना हुन्छ । शेखर दाजस्तो क्षमता भएको मान्छेलाई पार्टीले सदुपयोग गर्न सकेको छैन । उहाँमा धेरै क्षमता छ । उहाँको क्षमताको कहीँ न कहीँ पार्टीले सदुपयोग गर्नै पर्छ ।