काठमाडौँ । दोलखाको चरिकोटमा बुबा वीरबहादुर गुरुङ र आमा कृष्णकुमारी गुरुङको सातौँ सन्तानको रूपमा विसं २०१४ मङ्सिर ७ मा जन्मिएकी अम्बिका गुरुङ नेपाली गीति साहित्यको एक अथक यात्री हुन् । उनको विसं २०३५ सालमा चेतना’ पत्रिकामा ‘विडम्बना’ शीर्षकको रचना पहिलो पटक प्रकाशन भएको थियो । त्यस यता उनी लेखनका रोकिएकी छैनन् । उनका थुप्रै फुटकर रचना सँगै ‘भावसागर’ कविता सङ्ग्रहका विभिन्न भाग र भावसागर गीति सङ्ग्रहका विभिन्न भाग सार्वजनिक भएका छन् ।
उनले पछिल्लो समय भावसागर इन्टरटेन्मेण्ट एल.एल.सी.नामक आफ्नै कम्पनी मार्फत नेपाली गीत सङ्गीतको श्रीवृद्धिमा करोडौँ रकम खर्चिएकी छन् । नेपालका ख्यातिप्राप्त देखि नवोदित गायक गायिकाहरू ,सङ्गीतकारहरू र निर्देशकहरू सँग सहकार्य गरेकी उनी सङ्ख्याको हिसाबले पछिल्लो दशकमा सबैभन्दा धरै गीत रेकर्ड गराउने र भिडियो बनाउने गीतकार हुन् । बाल मनोबिज्ञ समेत रहेकी गुरुङले बालबालिकाहरूको लागि समेत गीतहरू कोर्दै र शैक्षिक परामर्श दिदै आएकी छिन । प्रस्तुत छ सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी अमेरिका निवासी गीतकार गुरुङ दशैको मौकामा नेपाल आएको बेला देशान्तरकर्मी लोकराज अधिकारी सँग गरिएको कुराकानी ।
कहिले देखी गीत लेख्न सुरु गर्नुभएको हो ?रेकर्डिङ भएका गीत र सार्वजनिक भएका भिडियोको सङ्ख्या कति पुग्यो ?
सन २०१५ देखी सुरु गरेको हुँ । अहिले सम्म ७ सय बढी गीत रेकर्ड भएको छ । सार्वजनिक भएको लिरिकल भिडियोको सङ्ख्या पनि त्यति नै छ । अफिसियल भिडियो चाहिँ ३ सय बढी छ ।
यो क्षेत्रमा के देखेर यतिठूलो रकम स्वलगानी गर्नुभयो ?
लगानी भन्दिन म यसलाई । मैले आफ्नो इच्छा पुरा गरेकी हुँ । यसबाट नाफा कमाउँछु भनेर लगानी गरेको हैन । कतिपय इच्छा घरायसी कारणले पुरा हुन सकेका हुँदैनन् । मैले चाहिँ आफ्नो इच्छा पुरा गर्दै छु भन्ने लाग्छ ।
यत्रो खर्च अरू क्षेत्रमा गरेको भए प्रतिफल राम्रै आउँथ्यो नेपाली गीत सङ्गीतमै खर्च किन गर्नु भयो ?
(हाँस्दै ) मलाई पनि थाहा छ यो खर्च अन्त कतै लगानी गरेको भए दोब्बर तेब्बर मुनाफा आउँथ्यो । बैङ्कमै राखेको भए पनि बसी बसी ब्याज राम्रै आउँथ्यो । तर सबै चिज पैसा नै ठुलो हैन ।सबैको लागि त्यस्तो हुदैन् । हरेक मान्छेको इच्छा फरक हुन्छ । कसैलाई सम्पत्ति मात्र जोडौँ बैक ब्यालेन्स थुपारौँ भन्ने हुन्छ । त्यो भित्र म परिन । मलाई चाहिँ नेपाली गीत र साहित्यमा केही गरौँ आफ्नो इच्छा पनि पुरा गरौँ भन्ने लाग्छ । मैले जानेको पनि यही गीत सङ्गीत र साहित्य नै थियो । मैले दुख गरेर कमाएको पैसा यसैमा खर्च गर्छु त्यसमै मज्जा लाग्छ । अहिले सम्म गरेको खर्च हिसाब किताब गर्यो भने त मान्छे आत्तिन्छ तर मेरो इच्छा पुरा हुँदै जाँदा आत्म सन्तुष्टि मिल्छ ।
जसरी बाहिरका मुलुकमा बौद्धिक सम्पत्तिका धनीहरूको कदर हुन्छ के नेपालले तपाईँको योगदानको कदर गर्न सकेको छ ?
हरेक देशले त्यो देशका अग्रज र मूर्धन्य ठुला स्रष्टा सर्जकलाई सम्मान गर्नु पर्छ । म त भरखर यो क्षेत्रमा उदाएको सानो बच्चा जस्तो लाग्छ आफूलाई उमेर पाको भए पनि भरखर आएकी छु । म यसैमा खुसी छु कि कसैले मेरो गीत सुन्दिनु हुने छ , कसैले मेरो कविता पढी दिनु हुने छ ।यसैमा म सन्तुष्ट छु । म यो मान सम्मान पाओस् भनेर दाबी पनि गर्दिन । मेरो हकमा म अझै त्यो ठाउँमा पुगी सकेको छु जस्तो लाग्दैन । म कुनै दिन हाम्रा अग्रजहरू जस्तै हुन् पाउ भनेर म त्यो बाटोमा लागिराछु ।
तपाई अमेरिका बस्नुहुन्छ प्रतिलिपि अधिकार ऐन र कानुन विदेशमा जसरी सफल कार्यान्वयन भएका छन् नेपालमा किन हुन नसकेको होला ?
हाम्रो नेपालमा हरेका कुरामा बिस्तारै प्रगति हुँदै छ । हाम्रो जमाना कस्तो थियो आज कस्तो हुँदै गएको छ तपाईँले देखिरहनु भएको छ विकासक्रम । सबै बिस्तारै बिस्तारै भएका छन् । विकसित मुलुकले बौद्धिक सम्पत्तिको महत्व अलि छिटो बुझ्न सके अनि सोही अनुसारको कानुन बनाएर कार्यान्वयन गरे त्यहाँ छिटो प्रगति भयो । त्यहाँको जिडिपी वृद्धि र स्रष्टा सर्जकको आर्थिक उन्नति पनि भयो । हाम्रो नेपालमा पनि हुन्छ बिस्तारै आशा गरौँ ।
महाकवि देवकोटाले अरू सबै कृति जलाइदिए पनि हुन्छ तर मुना मदन नजलाइदिनु भन्नु भएको थियो । गीतकार अम्बिका गुरुङले अहिले ७ सय रचना मध्यबाट गीत छान्नु परे कुन कुन छान्नु हुन्छ ?
महाकविका सबै कृति अमर छन् । मलाई सबै अब्बल लाग्छ महाकाव्य होस निबन्ध होस वा कविता मैले उहाँका धेरै कृति पढेकी छु । उहाँको नजरमा मुना मदन लाग्यो होला । हुन पनि हो मुना मदन जस्तो अर्को कथा पनि बन्दैन , गीत पनि बन्दैन । नाटक पनि बन्दैन । मेरो गीतको कुरा गर्दा सबै आफ्ना सन्तान जस्तै लाग्छ । यो राम्रो यो नराम्रो भन्ने लागेको छैन ।
प्रतिक्रिया