देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि

देशान्तर

काठमाडौं – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् ।

जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा शाखाको टोलीसहित विद्यालयको अवस्थाबारे जानकारी लिन जाने गरेका छन् । का कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षणसमेत गर्ने गरेका छन् । विद्यालयको वास्तविकताबारे जानकारी लिने उद्देश्यले नगर भित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया गर्न थालेको उपप्रमुख सिता थापाले जानकारी दिइन्।

उपप्रमुख थापा नगरपालिका भित्रका प्रायः सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त भए पनि दरबन्दी अभाव, शैक्षिक सामग्रीको अभाव, विद्यार्थीको सङ्ख्या न्यूनलगायत समस्या देखिएको बताउँछिन्। नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काका अनुसार विद्यालयको शैक्षिक अवस्था, फर्निचर, खातापाता, पुस्तकालय, दैनिक कार्यतालिका, कार्यविभाजनदेखि विद्यार्थीको शैक्षिक उपलब्धीको मुल्याङ्कनलगायत अवस्थाबारेमा जानकारी लिने गरिएको छ ।

निरीक्षणपछि विद्यालयको अवस्था समेटेर शैक्षिक सुधार गर्न नयाँ योजना र सुझाव समेत शिक्षा शाखाले सम्बन्धीत विद्यालयलाई दिने गरेको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिन्छन्। “शैक्षिक क्रियाकलाप गुणस्तरीय र उपलब्धीमुलक बनाउन आवश्यक छ, यसमा हामी सक्दो सहयोग गछौँ”, उनले भने।