देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओखलढुंगा कांग्रेस सभापतिमा संस्थापन समूहका खनाल विजयी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ मत खसेकोमा सभापतिमा विजयी खनालले ७०१ मत पाए भने सभापतिका अर्का प्रत्यासी बालकृण दाहालले ६१२ मत पाएको निर्वाचन समितिले जनाएको छ । दाहाल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।

त्यस्तै उपसभापतिमा कमल तामाङ र नवरजा केसी विजयी भएका छन् । दाहाल समूहबाट उपसभापति उम्मेदवार बनेका तामाङले ७८२ मत पाए भने खनाल समूहका केसीले ६५५ मत पाएका हुन् ।

दुई सचिव पदमा खनाल समूहकै अजय लुईटेल र राजकुमार ढुंगाना विजयी भएका छन् । लुईटेलले ७२१ मत पाएका छन् भने ढुंगानाले ६८२ मत पाएको निर्वाचन समितिले जनाएको छ । सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बुढाथोकीले ७१७ मत पाए भने श्रेष्ठले ६६५ मत पाएका छन् । सहसचिवमा निर्वाचित बुढाथोकी दाहाल समूहका हुन् ।

कांग्रेसको मंसिर २४–२६ सम्म हुने केन्द्रीय महाधिवेशनका लागि यतिबेला धमाधम जिल्ला अधिवेशन भइरहेका छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । दुई वा दुई भन्दा बढि संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशनको मिति तोकिएको छ ।