देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘नेताहरूमा सुध्रिने छाँट देखिएन’

देशान्तर

नेपाली कांग्रेसका पाका नेता एवं कुटनीतिज्ञ दीपकुमार उपाध्यायले नेताहरूले आफूलाई सुधार गर्न इच्छुक नभएकाले अहिलेको अवस्था आएको टिप्पणी गर्छन् । राजनीतिक प्रणालीमै भ्रष्टाचार र स्वार्थ हावी भएको महसुस गरिएको छ। भारत र चीनसँग सन्तुलन कायम गर्नुपर्ने भए पनि हामी चिच्याउने तर कार्यान्वयन नगर्ने स्थितिमा छौँ। भारतसँगका सीमा विवादमा पनि सरकार मौन छ।  धर्मनिरपेक्षता लादिएको र वैदिक संस्कृतिमा ह्रास आएको महसुस गरिएको छ। असन्तुष्टि बढ्दा जनता राजावादी वा वैकल्पिक शक्तिप्रति आकृष्ट भइरहेका छन्।  नेताहरूको आत्मसमिक्षा नहुनु, गुटगत राजनीति, गठबन्धन संस्कृति र मूल्यमान्यता गुमाउनु कांग्रेस र देशकै लागि घातक भएको बताए । उनै उपाध्यायसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश
 

नयाँ वर्ष २०८२ सालको शुभकामना ।

देशान्तर परिवारमार्फत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । हामी वैदिक सनातन धर्म संस्कृतिलाई मान्ने मान्छेहरू जहिल्यै पनि सकारात्मक र उदार हुन्छौं । आफ्नो आफ्नो देश र विश्वको पनि सकारात्मक चाहन्छौं ।

२०८२ साल राजनीतिक दृष्टिकोणले कस्तो देख्दै हुनुहुन्छ ?

विश्वको अर्डर नै चेन्ज हुँदै छ । अहिले विश्व अहिले बहुध्रुवीयतर्फ भई सक्यो । समयको माग पनि होला । त्यसबाट हामी अछुतो रहन त सक्दैनौँ । हामीले हाम्रो संविधानमै विदेशनीतिको सन्दर्भमा पञ्चशीलको सिद्धान्त ‘नन एलाइनमेन्ट’ भनेर राखेका छौँ । विश्वको राजनीतिक ‘डाइमेन्सन’ परिवर्तन भइरहेको सन्दर्भमा नेपालको गति र दिशाका कार र सोच ठिक भयो भने देशले प्रगति गरेमा देशमा सन्तुष्टि हुन्छ । तर यो हामीले गर्न नसकेको अवस्थामा आउँदा दिनहरू झन् कठिनाई र चुनौतीपूर्ण हुन्छ कि जस्तो मलाई लाग्छ । 

२०८१ सालमा हामीले के पायौँ ?

२०८१ सालमा नेपालमा अनौठो प्रयोग पनि भयो । हामीले धेरै किसिमका संविधान, सरकार र व्यवस्थाहरू बदल्यौँ । जसले गर्दा अपेक्षित उपलब्धि हासिल गर्दै देश अगाडि बढ्ला भनेका थियौं त्यो हुन नसकेको यथार्थ हो । २०८१ सालमा संसदका दुई ठूला दल मिलेर सरकार पनि बन्यो । म यस्तो सरकार बनोस् र अत्यन्त आँटिला निर्णयहरू गरेर विगतका गल्तीकमजोरी सच्याएर देशलाई गति दिएर परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजान सफल होस् भन्ने मेरो इच्छा थियो । त्यसमा संविधानमा गर्नु पर्ने पुनरवलोकनदेखि राजनीतिक इमान, नैतिकता र चरित्रको खडेरीलाई पनि चिर्ने काम गरोस् भन्ने थियो । यसैगरी सरकारका विरुद्धमा सबैले ठूलाठूला कुरा गर्ने, कहिले पनि उच्चस्तरीय छानबिन आयोगहरू नबन्ने अवस्थालाई अन्त्य गर्छ कि भन्ने आशा थियो । 

२०८१ मा सरकार त बन्यो, तर अपेक्षित लक्ष्यतर्फ सरकार अगाडि बढेको देखिएन । त्यसैले ०८१ साललाई सम्झनु पर्दा नैराश्यता, कुण्ठाको बढ्दो गति थियो, खास गरेर युवाहरूलाई देशप्रति आशा जगाउन नसकिएको अवस्था, अर्थतन्त्र झन् झ्न जटिल बन्दै गएको अवस्था, आम्दानीभन्दा खर्च बढी । न आम्दानी बढ्छ न खर्च घट्छ । ऋणको भार बढ्दै छ । त्यसैको निरन्तरताको रुपमा हामीले एक वर्ष बितायौँ ।

प्रचण्ड नेतृत्वको सरकार र ओली नेतृत्वको सरकारमा तात्विक भिन्नता छैन ?

परिणाममा आउन सकेन । यो दुखदायी कुरा हो । अहिलेको सरकारले परिणाम ल्याउँछ, केही साहसिला निर्णयहरू गर्छ, भन्ने थियो, त्यो देखिएन । 

राजनीतिक स्थायित्व प्रदान गरेको कुरा गर्छन् नेताहरू, यसलाई विश्वास गरेर ढुक्कसँग बस्ने त ?

मुलभूत कुराहरूमा भएका कमजोरीलाई सुधार्न र सुध्रन आँट गर्नु पर्नेमा त्यो भएकै छैन । न्याय सेवा, शिक्षक कर्मचारी, पत्रकार जो जति छन् सबै  राजनीतिमा लागेका छन् । जसले गर्दा राजनीतिक वातावरण दुषित भइसक्यो । त्यसैले देशलाई प्रगतिपथमा लैजानका लागि ठूलो चुनौती छ ।

लोकतन्त्रमा विधिको शासन हुनुपर्ने । सबै आ–आफ्नो ठाउँमा ठिक ढंगबाट चल्नुपर्ने । संवैधानिक आयोगहरू पनि त्यसैगरी चल्नु पर्ने । तर अहिले हामीले जुन घटनाक्रमहरू देख्छौँ, त्यसमा सुधार आउनु पर्ने थियो । त्यसमा सरकारले चेत्ने छाँट नदेख्दाखेरि चिन्ता व्यक्त गरेको हुँ ।

नेपालका राजनीतिक दलहरूले परराष्ट्र नीतिका सन्दर्भमा साझा दृष्टिकोण नै बनाउन नसकेका हुन् त ?

जुनसुकै धर्म मान्नुस् त्यो तपाईंलाई छुट छ । तर, त्यो धर्मप्रति आस्थावान हुने आध्यात्मिक चेत रहनुपर्छ । त्यसो भयो भने विवेकपूर्ण समस्याको समाधान मनन चिन्तन गर्ने उत्प्रेरणा मिल्छ । हो त्यसैलाई हामी नैतिक बल भन्छौँ । अहिले त नेपालमा खडेरी छ । यहाँसम्म कि पुरानो नेपाललाई समाप्त पारेर नयाँ नेपाल बनाउने संस्कृति सभ्यता सबै मेटाउने भन्ने किसिमको लहर थियो । पशुपतिनाथको कृपाले त्यतिसम्म त भएन, तर सबै कुरामा ह्रास आयो । अहिले नेताहरूमा आध्यात्मिक चेत नै छैन । त्यो नभएपछि के ठिक के बेठिक भन्ने कुरा नै शून्य छ । तपाईं हामी के सोच्ने के बोल्ने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो । तपाईंले आफ्नो कुरा भन्न सक्नुहुन्छ, तर त्यो कुरा सुनिँदैन वा लागू हुँदैन भने एक्लो बृहस्पति हुनुहुन्छ । त्यहाँ तपाईंको आवश्यकता छैन भन्ने बुझ्नु पर्छ । त्यही बुझेर नै म अहिले पछिल्ला गतिविधिबाट टाढा राखेर आफ्नो व्यक्तिगत जीवनयापन गरिरहेको छु ।

भनेको तपाईंलाई राजनीति प्रति मोह छैन ?

हामीले भन्ने कुरा कोही सुन्दैन । कोही छलफल गर्न पनि चाहँदैन । कसैलाई फुर्सद पनि छैन । फुर्सद केमा छ भने निजात्मक स्वार्थका कुराहरूमा मात्र । आफ्ना गुटलाई बलियो बनाउने, अझैं पनि आफू कसरी सत्तामा टिकिरहने भन्ने कुरामा केन्द्रित गर्ने स्वार्थ र इच्छा भएकाहरू छन् । यसमा मेरो कुनै रुची छैन । देश बिग्रन थाल्यो देशको बारेमा चिन्ता गरौँ, समस्याको समाधान गरौँ, दिवंगत हुने नेता दिवंगत भए, तपाईं हामी बाँचेका मान्छेहरूले सोचौँ, कहाँ कहाँ गल्ती भयो, सुधार गरौँ । हाम्रो आपसी द्वन्द्वमा नै अरुले खेल्ने हुन् । अब पनि फेरि कुनै किसिमको घटना दुर्घटना भयो भने हामी झन् ठूलो भड्खालोमा पर्न सक्छौँ । त्यहाँसम्म नपु¥यऔं भन्छु, तर यो कुरा कोही पनि सुन्दैन । नसुनेपछि आफैँ पन्छिएर आफैँमा रमाउनुबाहेक के उपाय रहन्छ र !

नेपाली कांग्रेसबाट राजनीति गर्नुभयो, १४औँ महाधिवेशनका बेला राजनीतिक सन्यास लिनुभयो है ?

हो । मेरो आफ्नो स्वनिर्णय हो । तर यसमा नेताहरूले आनन्द माने । यसमा कसैले किन भनेर सोध्नेवाला पनि छैन । मेरो प्रदीप गिरीजीसँगको छलफलपछिको निर्णय थियो । नेताहरूले सुनेनन् । हामीले कांग्रेसको आन्तरिक निर्वाचनमा भाग नै नलिएपछि कसैले सोध्लान्, कारण के हो भनेपछि छलफल होला भनेका थियौं । यसबीचमा प्रदीपजीले संसार नै छोडेर जानुभयो । यस विषयमा दमननाथ ढुंगानासँग छलफल हुन्थ्यो । उहाँले पनि संसार छाडेर गइसक्नुभयो । त्यसले गर्दा पनि म विरक्त भएर राजनीतिबाट टाढा भएँ । समय आयो भने र सुधारको कार्यक्रममा हाम्रो पनि भूमिका महसुस भयो भने सोचौंला । होइन भने अहिलेको बिग्रिने र बिग्रिरहेको बेलामा सुधार गर्न नसकेको अपजस नलिने भनेर नै स्वैच्छिक बर्हिगमन गरेको हुँ ।

कांग्रेसका १५औं महाधिवेशन आउँदै गर्दा तपाईंसँग नेताहरूले केही अपेक्षा गरेको जस्तो पनि देखिन्छ ?

अहिले पनि देशभरका बहुसंख्यक साथीहरूको पार्टीप्रति असन्तुष्टि छ । जो सत्तामा र सत्ताका नजिक छन् उनीहरूको काम देखेर सबैको असन्तुष्टि छ । २५–३० का कारण अहिले पार्टीप्रति वितृष्णा बढेको छ । बीपी, गणेशमान, किशुनजीको विचारधारालाई अंगालेर मूल्यमान्यताको राजनीति गर्नुपर्छ भन्नेहरूको संख्या अत्यधिक छ । नेताहरूका कारण कांग्रेस अपांग भइसकेको छ । अरु पार्टीको वैशाखी नटेकेर उठ्न पनि नसक्ने, अड्न पनि नसक्ने अनि उभिन पनि नसक्ने बनाइसके ।

१५ औं महाधिवेशनबाट कांग्रेस सुध्रिन्छ ?

सुध्रिनलाई त्यस किसिमको एजेन्डा, निर्णय पनि चाहियो । अहिले पनि विगतमा गल्ती भयो, अब गल्ती गर्दैनौँ, एक्लै चुनावमा प्रतिस्पर्धा गर्न सक्षम छ, चुनाव अगाडि म्याच फिक्सिङ जस्तो गरेर गठबन्धन गर्दैनौँ भनेर त भने । तर अहिले हरेक क्षेत्रमा नेपाल बारको चुनाव, पत्रकार महासंघको चुनाव, स्ववियु चुनाव अर्थात कुनै चुनाव भयो भने गठबन्धनको संस्कृति सुरु भएको छ । हुँदाहुँदा अहिले गाउँघरका विद्यालय व्यवस्थापन, खानेपानी, वन व्यवस्थापनलगायतका ठाउँमा पनि कांग्रेस र एमालेको गठबन्धन देखिन थाल्यो । तर बहुमत हुँदा पनि त्यहाँ गठबन्धनको उम्मेदवार हारेका पनि छन् । यस विषयमा नेताहरूले छलफल पनि गर्न चाहँदैनन् । 

केही समयअघि प्रधानमन्त्री ओलीले २०८४ पछि पनि कांग्रेस–एमाले गठबन्धन भन्नुभएको छ । यसको अर्थ अबको चुनावमा पनि गठबन्धन गर्ने मनशाय हो भनेर अर्थ लगाउन सकिन्छ ?

नेपाली कांग्रेस र एमालेप्रति जनतामा निराशा, कुन्ठा र आक्रोश व्याप्त छ । दुवै पार्टीका नेताहरूले नमिलेर चुनाव लड्यौँ भने हामी बढारिन्छौँ भन्ने चिन्ता छ । अब पनि उहाँहरू नसुध्रिने हो भने २०८४ सालको चुनावमा समयको माग नै हुन्छ कांग्रेस र एमाले गठबन्धन । अहिलेको गति र दिशा कायम राख्ने अनि २०८४ को चुनावमा कांग्रेस र एमाले एक्लैएक्लै प्रतिस्पर्धामा उत्रिने हो भने बढारिन्छन् । गठबन्धन नगरेर उहाँहरू अड्नै सक्नुहुन्न । अहिले वैदिक सनातनको लहर भित्रभित्रै देखिरहेको छु । विगतमा हामीले जनआन्दोलनको एजेन्डामा नभएका कुराहरूलाई कताकताबाट कसरी अन्तर्राष्ट्रिय दबाब र प्रभावमा हामीले जानेर वा नजानेर स्वीकार गरेका हौँ । संविधानमार्फत त्यसलाई लागू पनि गरेका छौँ । अब त्यसलाई सुधार्नेबारेमा नेताहरूले सोचेकै छैनन् । त्यो नै घातक छ ।

तपाईंले संकेत गरेको पछिल्लो समय राजावादीको प्रदर्शनलाई लिएर हो ?

त्यो त एउटा कारक तत्व मात्रै हो । मान्छे असन्तुष्ट भएपछि अरु को छ त भन्दा कहिले दुर्गा प्रसाईंको पछाडि दौडिन्छन्, कहिले रास्वपाको पछाडि दौडिन्छन् र कहिले राजावादीको आन्दोलनमा दौडिन्छन् । तर मूल कारण त असन्तोष हो । नेपालको वैदिक सनातन धर्म संस्कतिको पहिचानलाई धर्मनिरपेक्षताको नाउँमा लाद्यौँ । आज नेताहरू बुर्लुक्क उफ्रिन्छन् र भन्छन् गलत गरियो भनेर । दिवंगत नेताहरू त जानु भयो । बाँचेका नेताहरूले त यसमा सुधार गर्न पहल गर्नु पर्ने, त्यो पनि भएको छैन । विश्वको एकमात्र हिन्दू देश भनेर परिचय थियो । त्यो हामीले किन गुमायौँ । त्यो नगुमाएको भए विश्वभर हाम्रो अलौकिक पहिचान हुन्थ्यो । यसैगरी संघीयता ल्याएपछि खर्च जसरी बढेको छ, न आम्दानी बढाउन सक्छौँ, न खर्च घटाउन सक्छौँ, ऋणको पासोमा हामी परि सक्यौँ । यसको लागि को जवाफदेही हुने भन्ने प्रश्न यहाँ छ ।

अहिलेको निराशालाई कसरी समाधान गर्ने त ?

पहिला हामी फ्रन्टलाइन पोलटिक्समा हुँदा औपचारिक वा अनौपचारिक तहमा छलफल गरिन्थ्यो । पार्टीभित्र र बाहिरका असन्तुष्ट पक्षसँग धेरै पटक संवाद भएका उदाहरण छन् । संविधानसभाको निर्वाचन गरिसकेपछाडि पनि एकल बहुमत त आएन । तर पनि कांग्रेस र एमाले मिलेर संविधान बनाउनपर्छ भनेर सहमति भयो । तैपनि पहिलो संविधानसभामा बनाउन सकेन, दोस्रोमा बल्लतल्ल बनायो । तर अहिले सोच नै संख्याका आधारमा तह लगाउने कुराले कहाँ पुग्ने हो त्यसको लेखाजोखा नै छैन ।

कुनै एक कार्यक्रममा पूर्वराजाले सहमति उल्लंघन गरे भनेर माधव नेपालको अभिव्यक्ति आयो, के सहमति भएको थियो र ?

मम भनेर सम्झनुपर्छ भनेको कुरा त्यही हो । पूर्वराजाले संसद् पुर्नस्थापना गरे । कागजमा लेखेका भरमा सांसद बनाइदिए । त्यही संसद्ले परम्परागत राजसंस्था अन्त्य गर्दा पनि कुनै समझदारी भएको थियो होला । त्यो समझदारी नेताहरूले नसम्झिने । त्यसैले इमान्दारिता सबैमा चाहियो । विगतमा पूर्वराजाले पनि गल्ती गरे, दलहरूले पनि गल्ती गरे । कति कुरा जानेर गरे वा नजानेर गरे अब स्मरण गरौँ भन्ने हो । नेपालको निर्णय नेपालीले गर्ने हो । त्यहाँ बिग्रनुभन्दा पहिला हस्तक्षेप गर्ने विषयमा चिन्ता र चासो कसैमा देखेको छैन । हाम्रो संख्या हुँदासम्म हामी नै हो भन्ने मानसिकता हावी भएको छ । अब पनि भ्यालु पोलटिक्सको अर्थ नहुने हो भने दुर्घटनामा परिन्छ ।  

थाइल्यान्डमा ओली–मोदी भेटवार्ता सकारात्मक हो ?

भेट हुनु सकारात्मक मान्नुपर्छ । तर परिणाम निकाल्न सक्नु पर्छ । परिणाम निकाल्न सकिएन भने यस किसिमको गोप्य वार्ता घातक पनि हुन सक्छ । रअका प्रमुखसँग यहाँ घण्टौँ गोप्य भेटवार्ता भएको हो त । त्यसको एजेन्डा अहिलेसम्म बाहिर आएन । अहिले पनि नेपालसँग भारतको अपेक्षा र भारतसँग नेपालको समस्या के हो भन्ने कुरा छ । राजनीतिक इच्छाशक्ति लिएर सुल्झाउनु पर्छ । किन भने समस्या बाँकी राखेर बस्दा नेपाल र भारत दुवैको हितमा छैन । जबसम्म कुटनीतिमा गाम्भीर्यता हुँदैन आफ्ना एजेन्डाहरूको बारेमा प्राथमिकतामा राख्दैनौँ भने देशको समस्या ओझेलमा पर्छ ।

अहिले भारतले नेपालसँग चाहेको कुरा के हो ?

सुरक्षाको चासो होला, पानीको उपयोगिता, ऊर्जा व्यापारलगायतका कुराहरू होलान् । त्यसमा प्रस्ट रुपमा बुझ्न प¥यो । विगतमा सिमाको समस्या दुवैले स्वीकार गरेका थिए तर अहिले त्यो पनि गुमिसक्यो । सुस्ता र कालापानी विवादित क्षेत्र भनिएकोमा कालापानी भारतले एकलौटी गरिरहेको छ । हामी त्यसमा बोल्न सकेका छैनौँ । हामीले त यस विषयमा सरकारलाई भन्ने हो घचघच्याउने हो । सरकार जुन पार्टीको भए पनि राष्ट्रिय समस्या त अर्को हुँदैन नि ।

नेपालले भारत चीनसँग सन्तुलित कूटनीति कायम गरेर अघि बढ्न सक्ने अवस्था छ ?

अहिले त छरपस्ट छ । चिनियाँ मित्रहरूको सहयोगमा झापा जिल्लामा टेक्निकल पार्क बनाउनका लागि जुन भ्युटावर बन्यो, यसले भारतीय मित्रहरूलाई चिसो पस्यो । यसैगरी मुस्ताङ जिल्लामा भारत र अमेरिका मिलेर विश्वविद्यालय खोल्ने भनेर समाचार आएको थियो । त्यसपछि चीन पनि झस्कियो । यी निकै गम्भीर कुराहरू हुन् । यस्तो कुरा होस या नहोस् तर गम्भीर भएर ध्यान दिन जरुरी छ ।  हामीले आफ्नो स्वार्थका लागि जे पनि हुन्छ भन्ने गरेका छौँ । हामीले सबै कुरा गरे पनि भूगोल र छिमेकी बदल्न सकिन्न । यही कुरालाई मनन गरेर हामीले दुवै देशसँग मिलेर नेपालको स्वार्थका लागि काम गर्नुपर्छ ।