[नारायण गिरी]
युवा देशका संरचनात्मक र कार्यात्मक ढाँचा हुन । हरेक देशको सफलताको आधार युवा पुस्ता र उनीहरूका उपलब्धिहरू हुन । देशको भविष्य युवाहरूको सर्वांगीण विकासमा निहित हुन्छ । त्यसैले युवाले देश निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन । युवा शक्ति देश र समाजका आधार हुन । युवाले देश र समाजलाई नयाँ शिखरमा लैजान्छन् । युवाहरू देशका वर्तमान हुन् भने भूत र भविष्यका पुल पनि हुन् ।
युवाहरू देश र समाजको जीवनमूल्यका प्रतीक हुन् । युवाहरू गहन ऊर्जा र उच्च महत्वाकांक्षाले भरिएका हुन्छन् । उनीहरू सदैव भविष्यप्रति चिन्तित रहन्छन् । समाजलाई सबभन्दा राम्रो बनाउन र राष्ट्र निर्माणमा युवाहरूको नै सर्वाधिक योगदान रहने गर्दछ । युवाले देश र समाजलाई नयाँ उचाइमा पुर्याउँछन् । युवाहरूले राम्रो भविष्यका इमानदार र विकासवादी सोचका प्रतिनिधि छनौटमा पनि महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।
युवा समाजका भावी नेता र राष्ट्रको सुनौलो भविष्य निर्माणकर्ता एवं समाजका आधारशीला हुन् । उन्नतिशील र प्रगतिशील समाजको एउटै औजार भनेको चरित्रवान् र प्रतिभाशाली व्यक्तित्व भएका युवा हुन् । युवाले समाज र राष्ट्रप्रतिको दायित्व र कर्तव्यलाई पूर्णरूपमा बुझ्ने गर्दछ । तिनीहरूको आँखामा सपना देख्ने प्रकाश र शक्ति दुवै हुन्छ । युवाहरू देशको भविष्य हुनुका साथै हाम्रो समाजको विकासको एक महत्वपूर्ण हिस्सा पनि हुन् ।
युवाशक्तिमा विगतका उपलब्धि, मान्यता तथा आस्था र विश्वास, वर्तमानका समस्याहरूलाई सुल्झाउन तिनलाई हेर्ने दृष्टिकोण र समाजका भावना, आकांक्षालाई सपना बुन्ने क्षमता हुन्छ । जुनसुकै देशमा युवाशक्तिले समाजको जीवनमूल्य, सभ्यता र सांस्कृतिक सम्पदाको प्रचारप्रसार र सम्बद्र्धन गर्छ भने युवा शक्तिले नै सुसंस्कृत समाजको निर्माण गर्छ । त्यसकारण हरेक युवामा आदर्श व्यक्तित्व, नेतृत्वको गुण, जिम्मेवार नागरिकको कर्तव्य र स्वयंसेवी भावना, राष्ट्रप्रतिको माया, प्रेरणादायी विचारसहितको उच्च भावना, सांस्कृतिक आधार, स्वाभिमान, त्याग तथा आत्मगौरवको भावना हुनुपर्दछ । किनभने प्रगतिशील समाज निर्माणमा सबैभन्दा बढी योगदान युवाहरूको हुन्छ । युवा वर्ग समाजको भविष्य हुनुका साथै समाजको विकासका महत्वपूर्ण अंग पनि हुन्, उनीहरू प्रगतिशील समाज र उन्नत समाजका अनिवार्य पक्ष हुन् ।
कठिन परिस्थितिसँग जुध्ने क्षमता युवामा मात्रै हुन्छ, उल्टो प्रवाह र प्रतिगमनलाई उल्ट्याउन सक्ने साहस युवामा मात्रै हुनसक्छ, त्यसैले युवा शक्तिलाई सधैँ सही दिशातर्फ उत्प्रेरित गर्नुपर्छ । राष्ट्रिय स्वाभिमान जोगाउन सधैँ युवाहरूले कदम चालेका छन् । संकट सीमानाको होस् वा सामाजिक र राजनीतिक – देशका युवाहरूले त्यसको समाधानका लागि सबै त्याग गर्नमा कुनै कसर बाँकी राखेका हुँदैनन् । त्यसकारण युवाहरूलाई समाज निर्माणको चाहना जागृत गराएर छरिएका शक्तिलाई जम्मा गरी समाजका विभिन्न समस्या समाधान गर्न प्रयोग गर्नुपर्दछ । युवाशक्तिले संगठनात्मक शक्ति बनेर समाजलाई समृद्धि, उन्नति र प्रगतिको बाटोमा लैजान सक्छ ।
आफ्नो मूर्खता, जडता, संकीर्ण स्वार्थ र अहंकार त्यागेर समाज निर्माणको अभूतपूर्व सांस्कृतिक दिग्विजय अभियानमा सहभागी भई आफ्नो उज्ज्वल भविष्य साकार पार्ने प्रयासमा योगदान पुर्याउने युवा हृदयबाट धेरै कुरा अपेक्षा गर्न सकिन्छ । समाज र राष्ट्र निर्माणमा युवाको योगदान सबैभन्दा बढी हुन्छ । समाजलाई विकासको बाटोमा लैजान र चुनौतीसँग लड्न युवाहरूको महत्वपूर्ण योगदान छ, त्यसैले युवाहरूले नराम्रो काम, कुकर्म, नराम्रो बानीमा आफ्नो समय र जीवन बर्बाद नगरी समाजप्रतिको आफ्नो कर्तव्य बुझेर पूरा गर्नुपर्छ ।
युवाशक्तिको सक्रियतालाई समाजको विकासमा प्रयोग गर्ने हो भने यो शक्तिले अद्भूत काम गर्न सक्छ । आजसम्म युवाहरू चुनौतीको सामना गर्नबाट कहिल्यै पछि हटेका छैनन । तर समाज परिवर्तनका लागि युवाहरूको उचित मार्गदर्शन हुनु जरुरी छ । समाजसेवाको काम सजिलो छैन । यो आफैँमा ठूलो काम हो । यसलाई एकैसाथ पूरा गर्न सकिँदैन । यो महान् कार्यमा युवाले आफ्नो योग्यता र क्षमताअनुसार सहभागी हुन सक्छन् । समाजमा सामाजिक, आर्थिक र नवप्रवर्तनमा युवाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
समाजमा व्याप्त कुप्रथा र अन्धविश्वासको अन्त्यका लागि उनीहरू सहयोगी साबित हुन सक्छन् । युवाहरू समाज विकासका सबैभन्दा महत्वपूर्ण शक्ति हुन् । युवाहरूले समाजमा आफ्नो सक्रिय योगदान दिनुपर्छ । समाज सुधारको काममा युवाहरूको संलग्नता अत्यन्त जरुरी छ । आजका युवाले सामाजिक परिवर्तन ल्याउन सकेनन् भने समाजले परिवर्तनको लागि अर्को पुस्तालाई पर्खिनुपर्ने हुन्छ ।
युवाहरूमाथि समाज वा देशको प्रगति निर्भर हुन्छ । युवाहरूमा काम गर्ने शक्ति भएकोले गर्दा उनीहरू जोसले भरपूर हुन्छन् । उनीहरू सफलतातिर अग्रसर हुने पूर्ण प्रयास गरिरहन्छन् । देश विकास अर्थात् देशमा सामाजिक, आर्थिक, प्राविधिक, स्वास्थ्य, शिक्षा, विज्ञान, अर्थव्यवस्था, आदि क्षेत्रमा सुचारु रूपले विकास हुनका लागि युवाहरूमा राम्रो शिक्षा तथा उचित मार्गनिर्देशन हुनुपर्दछ । त्यसपछि मात्र देश र समाजको पूर्ण विकास हुन्छ ।
देशको विकासमा युवाहरूले सक्रिय योगदान दिनुपर्छ । समाज सुधार र राष्ट्र निर्माणको काममा युवालाई संलग्न गराउनु अत्यन्त जरुरी हुन्छ र यसलाई जतिसक्दो चाँडो र व्यापक मात्रामा गरिनुपर्छ । यसबाट एकातिर युवाहरू देशको सेवा गर्न सक्षम हुनेछन् भने अर्कोतिर उनीहरू स्वयंको उत्थान पनि हुनेछ । उनीहरूलाई उच्च स्तरको शिक्षा र चेतनाको विकास गराउनुपर्दछ । त्यसपछि उनीहरू विभिन्न क्षेत्रमा आफ्नो योगदान दिन सक्षम हुन्छन् । देशको प्रगति विज्ञान, प्रविधि, स्वास्थ्य, शिक्षा, कृषि, आदि अन्य क्षेत्रको विकासमा निर्भर हुन्छ । यी सबै मापदण्ड पूरा गर्नका लागि सामाजिक, शैक्षणिक र आर्थिक आधारमा युवाको सशक्तीकरण आवश्यक हुन्छ । युवाहरूलाई सकारात्मक दिशामा निर्देशित गरिनुपर्दछ । युवाहरूको विकास र प्रशिक्षणमा ध्यान दिनुपर्दछ । युवाहरू सही दिशामा समृद्ध हुनको लागि उनीहरूलाई उचित शिक्षा र कौशल विकासको आवश्यकता हुन्छ ।
यसप्रकार युवाले देशको भविष्यको आकार दिन सक्दछ । युवा देशको भाग्य विधाता हो । उसमा नैसर्गिक रूपले ती क्षमताहरू विद्यमान छन्, जुन कुनै पनि समाजको भवनरूपी जगलाई प्रबल बनाउनका लागि आवश्यक हुन्छ । युवा वर्ग बुद्धिको कौशलताको कारण प्रगतिपथमा अग्रसर भइरहन्छन् । युवाहरूमा काम गर्ने मनोवृत्ति, मनोदशा र मानसिकता तथा दृष्टि नवीन हुन्छ । नवीन दृष्टिको मुख्य लक्षण विज्ञानको अनुकरणको भाव हुन्छ । यसको लागि युवाहरूलाई पर्याप्त अवसर दिएर उनीहरूको शक्ति र क्षमताको उपयोग गरिनुपर्दछ । युवाहरूलाई ज्ञान र कौशल दुवैमा निपुण गर्ने आवश्यकता हुन्छ, जसबाट देशको सर्वांगीण विकास हुन सकोस् । युवाहरूलाई उनीहरूको कर्तव्य एवं दायित्वको महत्वलाई बुझाउनुका साथै उनीहरूको वास्तविक शक्तिको पहिचान गराउनुपर्दछ । युवालाई भोलिको स्थितिको आकारको लागि पूर्ण अवसर प्रदान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्दछ र यसलाई देश निर्माणमा प्रयोग गर्नुपर्दछ ।
युवालाई सही दिशामा प्रयोग गर्ने देशहरू बढी विकसित हुन्छन् । युवाको मनको उर्जा र चमकले राष्ट्रका लागि मशालको काम गर्छ । तर कुनै पनि देशमा युवाहरूलाई पछाडि पारियो भने ती देशहरू असफल हुन्छन् । विकसित देशहरूको पछाडि युवाहरूको तागत र लागतको महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण युवाहरूलाई देशको सम्पति ठानेर उनीहरूका आवश्यकताहरू पूरा गर्नु, शिक्षा, रोजगारी, मनोरञ्जन जस्ता गतिविधिहरू, आदि प्रदान गर्नुपर्दछ ।
यस्तो स्वस्थ र प्रतिस्पर्धात्मक वातावरणबाट मात्रै युवाले देशको समग्र विकासमा आफ्नो क्षमता लगाउन सक्छ । युवा सही दिशामा लागेनन् तथा राष्ट्रको भविष्यप्रति उदासीन भए भने राष्ट्रका लागि बोझ बन्छन् । युवाहरू जात, वर्ण, भाषा र लिंगका आधारमा हुने भेदभाव, गरिबी, बेरोजगारी, असमानता र मानिसद्वारा मानिसको शोषणमुक्त संसार चाहन्छन् । देशको विकासमा उनीहरूको ठूलो भूमिका हुन्छ, तर सरकारको लापरबाहीका कारण आजको समाजमा उनीहरू धेरै नयाँ चुनौतीको सामना गरिरहेका छन ।
तिनीहरू पहिचान संकट, आत्मविश्वासको कमी, कम आत्म–सम्मान, निराशा, नैतिक मुद्दाहरू र भविष्यको बारेमा अस्पष्टताको भावनाले ग्रस्त छन् । यी युवाहरूलाई आफ्नो प्रतिभा प्रयोग गर्ने अवसर नदिने हो भने यो मानव संसाधनको ठूलो बर्बादी हुनेछ । यसरी राष्ट्रको विकासमा युवाको ठूलो हिस्साले महत्वपूर्ण भूमिका खेल्छ । तर युवाको राय र विचारको स्वतन्त्रताको प्रयोग गर्नु जरुरी छ । उनीहरूले आफ्ना विचारहरू साझा गर्न र आफ्नो प्रतिभा प्रदर्शन गर्न सही प्लेटफर्म पनि पाउनुपर्छ ।
देशको उन्नतिका लागि शिक्षा, रोजगारी र सशक्तीकरण आवश्यक हुन्छ । देशका युवाहरू शिक्षित हुँदा र उनीहरूको शिक्षाको सदुपयोग भएमा देश तीव्र गतिमा विकासित हुन्छ । युवाहरूलाई उचित शिक्षा प्रदान गर्न देशको सरकारले विशेष पहल गर्नुपर्छ । देशका बेरोजगार युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्नु पनि अति जरुरी हुन्छ । रोजगारीको अवसर नहुँदा सामाजिक अशान्ति निम्तिने सम्भावना प्रबल हुन्छ । युवाहरूलाई आफ्नो जीवनको जिम्मा लिन सशक्त बनाउनु महत्वपूर्ण हुन्छ । युवालाई जीवनमा गलत बाटोमा नलागोस् भनेर क्षमताअनुसार रोजगारीको अवसर उपलब्ध गराउनु आवश्यक हुन्छ ।
सस्तो र गुणस्तरीय शिक्षा र तालिमको पहुँच नहुँदा समाजमा बेरोजगारी र न्यून रोजगारीको समस्या व्याप्त हुन्छ । युवाहरूलाई रचनात्मक क्षेत्रमा करियर बनाउन समुदायद्वारा समर्थन र प्रेरणाको अभाव हुन्छ । दिगो विकासका लागि युवालाई समान अवसर प्रदान गर्न आवश्यक हुन्छ । यसरी देशको उन्नति र विकासमा युवाको महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ, युवा शक्तिलाई बुद्धिमानीपूर्वक र सम्भव भएसम्म सदुपयोग गर्न सकियो भने त्यसले अवश्य पनि देश र समाजको विकास गर्न सक्छ ।
युवाहरूले देश तथा समाज विकासमा अनुसन्धानको क्षेत्रमा काम गरेर योगदान पुर्याउन सक्छन् । उनीहरूले नवीनतम अनुसन्धानद्वारा देश विकास गर्न सक्दछन् । युवाहरूले परिपक्व ज्ञानको प्राप्ति एवं विकासोन्मुख कार्यमा त्यसको प्रयोग गरेर महत्वपूर्ण योगदान दिन सक्दछन् । युवाहरू आफैँ सचेत भएर सजगताको वातावरण उत्पन्न गरी देश तथा समाज विकासमा योगदान दिन सक्दछन् ।
नैतिकतामा आधारित गुणको विकास गरेर पनि युवाहरूले समाज विकासमा योगदन दिन सक्छन् । त्यसैगरी राष्ट्र, परिवार र समाज, आदि क्षेत्रका अनेक उत्तरदायित्व वहन गर्दै कर्तव्यको निर्वाह गरेर पनि युवाहरूले योगदान दिन सक्दछन् । अनुशासनको भावनाको पालना गरेर पनि देश र समाजमा युवाहरूले योगदान दिन सक्दछन् । युवा नै देशको अग्रगामी विकासका मूल आधार हुन् र युवाको मिहिनेतले नै देश बन्छ । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । त्यसकारण युवालाई असीम ऊर्जाको केन्द्र र देशको गौरवको आधार पनि भन्ने गरिन्छ ।
समाज विकास भनेको सामाजिक, आर्थिक, राजनीतिक, भौतिक, सांस्कृतिक र वातावरीण अवस्थामा सकारात्मक रूपमा परिवर्न हुनु हो र यो निन्तरण चलिरहने प्रक्रिया पनि हो । परिवर्तनका लागि समाजका सबै समुदायको सहभागिता हुन्छ तर परिवर्तनको इच्छा राख्ने र ऊर्जाशील युवावर्गको भने यसमा महत्वपूर्ण सहभागिता रहेको पाइन्छ । विकास प्रक्रियामा युवाहरूको सहभागिता अनिवार्य हुन्छ ।
युवाहरू शारीरिक हिसाबले मात्र सबल नभएर उनीहरूमा सकारात्मक सोच, सृजनात्मक कार्यमा लाग्ने क्षमता र समाज बदल्ने आँट हुने भएकोले उनीहरूको सहभागिता अपरिहार्य हुन्छ । युवाको प्रत्यक्ष सहभागिता र नेतृत्वमा सामाजिक, राजनीतिक, आर्थिक र प्राविधिक विकास सम्भव हुन्छ । युवाहरू सामुदायिक अभियानमा संलग्न भएर समाजको विकासमा योगदान दिन सक्छन् ।
समाजमा सञ्चालन हुने सानातिना विकास–निर्माणका कामदेखि कार्यक्रम, नीतिनिमार्णका काममा सरकारलाई दबाब दिनेसम्म काम युवाहरूले गर्न सक्दछन् । युवाहरूले समाजको विकासका क्रममा त्यहाँ व्याप्त कुरीति, कुसंस्कार, भेदभाव, आदिजस्ता खराब व्यवस्थालाई हटाउन नेतृत्वदायी भूमिका खेल्न सक्छन् । देशको प्राविधिक विकासमा पनि युवाहरूको महत्वपूर्ण योगदान रहन्छ ।
युवाहरूको नेतृत्वमा आधुनिक प्रविधिलाई कृषि, यातायात, भौतिक निर्माण र उद्योग–कलकारखानाको क्षेत्रमा संलग्न गरी देशको समग्र आर्थिक विकासमा लगाउन सकिन्छ । यसरी युवाले देश र समाजको समग्र विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यसको लागि राज्यले युवाहरूलाई आवश्यक वातावरण तयार गर्नुपर्दछ । यद्यपि यस्तो महत्वपूर्ण युवाशक्ति अहिले निरन्तर विदेश पलायन भइरहेको छ । बेरोजगारको सिकार भएको छ । अन्य देशमा गएर आफ्नो ऊर्जाशील समय र शक्ति खर्चिरहेका छन् । युवाहरू विश्वबजारमा गएका छन् । यसले ठूलो समस्या निम्त्याइरहेको देखिन्छ । युवाको सक्रिय सहभागितामा राजनीतिक, आर्थिक, शैक्षिक, प्राविधिक, स्वास्थ्य, भौतिक, आदि क्षेत्रमा रूपान्तरण गर्न सकेमा समृद्ध र समतामूलक समाज अवश्य नै निर्माण हुनेछ । यस कुरामा राज्यले महत्वपूर्ण रूपमा ध्यान दिनु जरुरी छ ।
अन्तमा, युवाले अनेकौँ ऐतिहासिक परिवर्तन गरेका छन् । युवाहरू आफ्नो तन, मन र समर्पणको भावले हरेक कार्य गर्दछन् । त्यसैले युवाहरूलाई विकासको पथमा प्रयोग गर्नु अति आवश्यक हुन्छ, जसबाट देशको विकास गर्न सकिन्छ र युवाहरूको प्रतिभाको पहिचान पनि गर्न सकिन्छ । एक शिक्षित युवाले आफ्नो शिक्षाको क्रममा देशको विकासको बारेमा पनि अध्ययन गर्दछ । र, देशको विकासलाई नै आफ्नो लक्ष्य बनाउँदछ । तर शिक्षा पूरा गरेपछि देश सेवाको अवसर नहुनेबित्तिकै ऊ अन्यत्र भड्किन थाल्छ । त्यसकारण युवाहरूलाई देशविकासको वातावरण राज्यले तयार गरिदिनुपर्छ ।
उनीहरूलाई सहयोग गर्नुपर्दछ । युवाहरूलाई अवसर प्रदान गर्नुपर्दछ । उनीहरूको विकासको लागि महत्वपूर्ण कदम उठाउनुपर्दछ । उनीहरूलाई विशेष अवसर प्रदान गरी प्रतिभा तथा क्षमताको प्रयोग गरिनुपर्दछ ।
प्रतिक्रिया