देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अछाममा भीषण आगलागी : २७ घर जलेर नष्ट, सात करोडको क्षति

देशान्तर

अछाम । बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो ।

बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मंगलसैनबाट सेनानी अमृत खड्काको कमाण्डमा–२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा–९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा–११ जनाको टोली खटिएको जनाइएको छ । साथै मंगलसेन नगरपालिकाको दमकल पनि खटाइएको छ । आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र संकलन गरिने बताए ।