देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए एकता महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित

देशान्तर

काठमाडौं । यही वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५)मा काठमाडौंमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ ।

निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मनोनय दर्ता पहिलो दिन २० गते नै तोकिएको छ ।

१२ गते शुक्रबार मतदाता प्रथम नामावली प्रकाशन गर्ने, १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र वैशाख २० गते उम्मेदवारको मनोनयन गर्ने तय भएको निर्वाचन समितिले जनाएको छ ।

वैशाख २१ गते (४ मे २०२५) काठमाडौंमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन समितिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को २०२५–२७ कार्यकालको लागि अध्यक्ष १, उपाध्यक्ष खुल्ला ६, उपाध्यक्ष (महिला) १, महासचिव १ सहित ३६ जना पदाधिकारीहरू चयन गर्न निर्वाचन गराइने जनाएको छ ।

उच्चस्तरीय समितिद्वारा प्रमाणीकरण भएका प्रतिनिधि (डेलिगेट)ले तोकिएको मनोनयन दस्तुर बुझाएर उम्मेदवारी मनोनयन गर्नु पर्नेछ ।

निर्वाचन समितिले एकता महाधिवेशनको मर्म अनुरूप स्वतन्त्र निष्पक्ष र पारदर्शी निर्वाचन गराउन सहयोग गर्न सबै पक्षलाई आग्रह पनि गरेको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् ।