काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र क्याम्पसमा ११ वर्षपछि नेपाल विद्यार्थी संघको इकाइ गठन भएको छ । बाजुराका अमृत शाही सर्वसम्मत रूपमा नेपाल विद्यार्थी संघ त्रिचन्द्रको इकाइ अध्यक्ष भएका छन् ।
२०७० सालमा विष्णु पौडेल ‘दारी’ त्रिचन्द्रको नेविसंघ इकाइ अध्यक्ष भएका थिए । त्यसयता त्रिचन्द्रमा नेविसंघको सांगठनिक गतिविधि ठप्पप्रायः थियो ।
यस वर्ष त्रिचन्द्रमा नेविसंघले आफ्नै वागी उमेदवार र अन्य सात विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै स्ववियु निर्वाचनमा प्यानलै जित्यो ।
स्ववियु सभापतिमा कांग्रेस महामन्त्री गगन थापानिकट गोविन्द कोइराला निर्वाचित भएका छन् । नवनियुक्त इकाइ अध्यक्ष शाही भने संस्थापननिकट मानिन्छन् ।
नेविसंघ केन्द्रले शाहीलाई तीन महिनाभित्र इकाइ अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित इकाइ अध्यक्ष पदको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया