देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तमसुक, कसम र भसम


पैसा खाएको घनचक्करमा
कसम खाएकोले
कागत खाएकोलाई जित्यो
कसरी ?
कागत देखिने भएर
कसम सुनिने भएर
जे भएर होस् –
नोटको राज्य सञ्चालनमा
भोटको खेलोको लागि
लेबल लगाएकाहरू
लुकामारी खेलिरहेका छन्
लेबल केवल नोट खाने प्रपञ्च
सबै बोतल उस्तै, सबै पेयउस्तै
सबैको छिनाझपटी नशाको लागि
बोतलको लेबल अदलीबदली गरेर

कागज खानको लागि
कसम खानको लागि
मुलुक टोकुवाहरू –
न मान, न श्रीमान् केवल बदनाम
कागत बनाउँछन्
पान छपाएसरह कागत चपाउँछन्
कागत पचाउँछन् यी निर्लज्जहरू
खुसीयाली मनाएर
कति लिखितम् ? कति बकितम् ?
कति लिखत ? कति कसम ?

पुनःपुनःको श्राद्ध खाएर
तानतुन गरिरहेका यी
पुनहरूको सँगालो
सुन तस्करको यो हाँगाबिँगा
झ्यांगिँदै गएको
ककपिटको दुर्दान्त खेल
माउहरूको कक–फाइट
उज्यालो खानाको लागि
अँध्यारोमा चल्लाहरूको चीँ चीँ
सुन खानको लागि
कति ढाकछोप गर्छौँ
नांगै भइसक्यौ
कति जनजीविकाको कुरा गर्छौ
चरी नांगा पारिसक्यौ
कसम र लिखतको शृंखला
कति लिखत ? कति कसम ?

विश्वकर्माको भेषमा आएका दुष्कर्मा
हे दुष्कर्मी हो ! सुहागरातको आलोपालो पछि
कति दुत्कार्छौै बेड पार्टनरलाई
कति चोटि मायावी भरत–मिलन गर्छौँ
मान र बेइमानको भाखामा
तिमीहरू मालामाल बन्न
सिंगो मुलुक नै खेलबाड भयो
दाउमा प¥यो
यो भसमको बाटोमा